Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचार/बहससम्झनामा आइरहने दासढुंगा

सम्झनामा आइरहने दासढुंगा


सामान्य एन्टेनाजडित श्यामश्वेत टिभीको झिरझिर दृश्य हेरिरहेको थिएँ । एक्कासि नेपाल टेलिभिजनले नेकपा ९एमाले०का महासचिव मदन भण्डारी र जीवराज आश्रित चढेको गाडी दासढुंगाको त्रिशूली नदीमा खसेर बेपत्ता भएको समाचार प्रसारित भयो । एक्कासि मुटुको चालमा गडबढ भएजस्तो लाग्यो । शरीर पसिनाले निथ्रुक्क भयो । बाहिर निस्किएँ, कालोपुल रुद्रमतीचोकमा शुभेच्छुक जम्मा भइसकेका थिए । न सवारीसाधन थियो न टेलिफोन नै । विभिन्न आशंकासाथ कोठामा फर्किएँ ।

रातभर निद्रा परेन । अन्ततः उदीयमान नेता जीवित नरहेको सुन्नैप(यो । भावनात्मक वेदनाले क्षतिको भरपाइ नहुने रहेछ । पार्थिव शरीर अगाडि उभिएर बिदाइ गर्नुको विकल्प रहेन । त्यो घडी बितेको पनि २६ वर्ष भएछ । पार्टीका नयाँ सदस्यलाई त्यो घटना कथाजस्तो हुने नै भयो । पार्टी दासढुंगा प्रकरणअघि भन्दा पछिका कार्यकर्ता बहुल भइसकेको छ । त्यसैले उहाँको योगदानको यथेष्ट चर्चा गरिनुपर्छ । वेलाबखत पार्टीका बैठक वा आपसी छलफलका लागि काठमाडौंको नरदेवी, जैसिदेवल, भुरुङखेलमा रहेका समर्थक युवाको डेरामा आउँदा–जाँदा देखभेट भएको थियो, मेरो मदन भण्डारीसँग ।

जब ०४६ सालको संयुक्त जनआन्दोलन टुंगियो, तब समाजलाई तरंगित पार्दै मदन भण्डारी सार्वजनिक हुनुभयो । नवीन विचार र सशक्त प्रस्तुतिले उहाँका प्रशंसक मात्र बढेनन्, महाकालीदेखि मेचीसम्म पार्टीसमेत स्थापित भयो । उहाँको जबजलाई दक्षिणपन्थी विसर्जनवाद भने पनि नेपालको वामपन्थी आन्दोलन त्यही मार्गबाट अघि बढ्नुको विकल्प रहेन ।

अर्का कुशल संगठक जीवराज आश्रितसँग मेरो पहिलो भेट ०३३ सालमा भएको हो । तत्कालीन झापा आन्दोलनबाट आएका केही विद्यार्थी काठमाडौंमा अध्ययन गरिरहेका थिए । तिनैमध्ये एक छिमेकी दाजु रागवेश ज्ञवाली पनि हुनुहुन्थ्यो । उहाँकै सूचनाका आधारमा जीवराज र सिद्धिनाथ ज्ञवालीले हामीलाई सम्पर्कका लागि सूचना पठाउनुभयो । म र मेरा मित्र तीर्थ श्रेष्ठ साँझ घर पुग्दा त्यहाँ रहेका दुवैजनाले उठेर पालैपालो हात मिलाउनुभयो । छलफलबाट उठ्दा हामी संगठित रूपमा काम गर्न सहमत भइसकेका थियौँ ।

०२९ सालमै पुष्पलालले नेतृत्व गरेको नेकपाको विद्यार्थी मोर्चामा तीर्थ र म दुवैजना सक्रिय थियौँ । ०३० सालको व्यापक दमनपश्चात् नेकपाको संगठन सञ्जाल विच्छेद भएकाले हामी सम्पर्कविहीन भएका थियौँ । त्यसले पनि हामीलाई सहमति जनाउन प्रेरित गर्‍यो । आश्रितको जीवनशैली सर्वहारावर्गीय थियो । संगठनको काम सकेर एक दिन सेल्टर पुग्दा उहाँ किसानसँगै कोदो रोपिरहनुभएको थियो । साधारण लवाइ–खवाइ मन पराउने उहाँको व्यवहार असाध्यै सरल र स्पष्ट थियो । माया ज्ञवालीसँग विवाह भएपछि परिवारलाई आफ्नै श्रममा बाँच्न प्रेरित गरिरहनुहुन्थ्यो ।

परिवारका न्यूनतम आवश्यकता पूर्तिमा उहाँको कुनै आशक्ति देखिँदैनथ्यो । आजको नेकपामा नेता कार्यकर्ताले वर्गीय दृष्टिकोणलाई उपेक्षा गरिरहँदा उहाँको जीवन पद्धति भने सर्वहारा वर्गीय थियो । कार्यकर्तालाई संगठनको काममा जिम्मेवार बनाउन आश्रित सिपालु हुनुहुन्थ्यो । जीवराजकै मार्गदर्शनमा श्रींगा, दिगाम र बम्घाका विद्यार्थीमाझ कोर्डिनेसन केन्द्र बनाउन सकियो । पाल्पाको अर्चले, भटुकामा युवराज ज्ञवालीसमेतलाई वेला–वेलामा पत्र एवं सन्देश ओहोर–दोहोर गराउन विद्यालय छोडेर हिँड्नुपर्थ्यो । हरक्षण उहाँ विचार र कामका कुरा गरिरहनुहुन्थ्यो । जसले गर्दा छोटो समयमै पूर्वी भेगमा वामपन्थी पुनर्जागरण आयो ।

क्रान्तिको विषयमा उहाँकोे चेतना उच्च स्तरको थियो । पुष्पलाल समुहमा रहेका र प्रशासनिक दमन खटेर पनि आत्मसमर्पण नगरेका केही कार्यकर्ता अलमलमा रहेको अवस्था थियो  । आश्रितले उनीहरूसँग सम्पर्क गर्न हामीलाई खटाउनुभयो । त्यसले पछि संगठन निर्माणमा ठूलो भूमिका खेल्यो । आश्रितको चरित्र विचारमा कुनै पनि सम्झौता नगर्ने खालको थियो । ०३९ सालमा पार्टीमा विवाद चर्कियो । विचारका सवालमा सबैभन्दा कडा रूपमा उहाँ नै उभिनुभयो । नेतृत्वबाट सिपीलाई हटाए पनि सुरक्षासाथ वनारस पुर्‍याउने जिम्मेवारी उहाँले मलाई दिनुभयो । उहाँलाई वनारास पठाउने वेला उच्च सतर्कता अपनाउन भन्नुभएको थियो ।

०४६ सालमा राजा संवैधानिक बन्ने र बहुदलीय संसदीय प्रजातन्त्र लागू हुने भयो । धेरै नेता क्रान्ति पूरा भएझैँ बहकिए । तर, आश्रितको दृष्टिकोण भिन्न थियो । मलाई आज पनि उहाँको त्यतिवेलाको मूल्यांकन वस्तुनिष्ठ थियो भन्ने लाग्छ । पार्टीमा देखापरेको सतही प्रवृत्तिलाई सचेत गराउँदै जनकपुरको बाह्रबिघा मैदानमा आयोजित सभामा उहाँले ‘आधारभूत रूपमा बहुदलीय प्रजातन्त्रमार्फत जनतालाई दमन र शोषणबाट मुक्त गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सकिएन भने बहुदलको सार्थकता हुँदैन’ भन्ने विचार राख्नुभयो ।

उहाँको विचारमा श्रमिकवर्गको जीवनमा सुधार ल्याउन नसक्ने प्रजातन्त्रले न्याय दिन सक्दैन । तसर्थ गाँस, बास, कपासको ग्यारेन्टी सामाजिक, आर्थिक मुक्तिसहितको प्रजातन्त्रमा हाम्रो ध्येय हुनुपर्छ भन्ने दुवै नेताको विचार थियो । यसलाई उहाँको समाजवादप्रतिको निष्ठाका रूपमा हेर्न सकिन्छ । भण्डारी र आश्रितको जीवन वर्गीय दृष्टिकोण, परिवर्तनप्रतिको निष्ठा र स्वाभिमानजस्ता गुणबाट दीक्षित र प्रभावित थियो । जसले हाम्रो जीवनमा समेत गहिरो छाप छाड्यो । कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितमा हार्दिक श्रद्धासुमन १




तपाईको प्रतिक्रिया दिनुहोस