गृहपृष्ठ ∕
समाज ∕
प्रदेश ३ सरकारद्वारा बारा, पर्सालाई एक करोड सहयोग गर्ने निर्णय, सांसदहरुले तीन दिनको तलब दिने प्रदेश ३ सरकारद्वारा बारा, पर्सालाई एक करोड सहयोग गर्ने निर्णय, सांसदहरुले तीन दिनको तलब दिने
पुलेसो २४ चैत्र, २०७७, मंगलबार १२:३९
काठमाडौँ – प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएको थियो । निरीक्षणकै क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए । टोलीले प्रभावित क्षेत्रको निरीक्षण पश्चात बाराको कलैया अस्पताल र वीरगञ्जको नेशनल मेडिकलमा गएर घाइतेहरुको अवस्थाको जानकारी पनि लिएको थियो ।
प्रारम्भिकरुपमा एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले बताए । विपदको घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाइ थियो । साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
यस्तै मंगलबार बिहान बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले सो प्रदेशका प्रदेश सांसदहरुले तीन दिन बराबरको तलब रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।