Techie IT
×
१२ मंसीर, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रमुख खबरकमरेड भीम रावल ,आगे तपाईंकै मर्जी …!

कमरेड भीम रावल ,आगे तपाईंकै मर्जी …!


काठमाडौँ – अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इञ्चार्ज भीम रावलका पछिल्ला अभिव्यक्तिहरू नेपाली मिडियाका लागि निरन्तर मसला बनिरहेका छन् ।सरकारले अख्तियार गरेका विशेषगरी राष्ट्रियता र वैदेशिक सम्बन्धका बारेमा नेता रावल बढी नै आलोचक भई प्रस्तुत हुने गरेका छन् । एकातर्फ रावलले विपक्षले भन्दा बढी केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तर आलोचना गरिरहेका छन् । अर्कोतर्फ रावलको पनि त्यही ढंगले आलोचना भइरहेको छ ।

वर्तमान सरकारमा मन्त्री बन्न नपाएर प्रधानमन्त्री ओली र उनका निकटस्थविरुद्ध रावल निरन्तर प्रहार गरिरहेका छन् भन्ने गरिन्छ ।इगो, आरोप र प्रत्यारोपका बिच मिडियामा आएका अभिव्यक्तिले रावलको राष्ट्रिय व्यक्तित्वलाई क्षयीकरण त गरिरहेको छैन भन्ने प्रश्न पनि उब्जिएको छ । अछाम जिल्लाको राजनीतिबाट उठेर सुदूरपश्चिम हुँदै निरन्तरको मिहिनेत र परिश्रमको फलस्वरूप राष्ट्रिय राजनीतिमा उदाएका रावल आफ्नै अभिव्यक्ति र जिद्दीका कारण कतै पृष्ठभूमिमा धकलिने हुन् कि भन्ने आशंका पनि बढेको छ ।

राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान तथा पार्टीको घोषणापत्र, विधि–विधान र पद्धतिका पक्षमा उभिएको दाबी गर्ने यिनका सार्वजनिक अभिव्यक्तिहरू कतै विधि–पद्धतिको सीमा नाघेर प्रकट हुन थालेका हुन् कि भन्ने सरोकार र चिन्तासमेत कार्यकर्ता तथा शुभचिन्तकको पंक्तिले जाहेर गर्न थालेका छन् । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लगायतका केही राष्ट्रिय मुद्दाहरूका सन्दर्भका अडानहरूले उनलाई सत्य–तथ्यको सार्वजनिक गर्नेभन्दा पनि विपक्ष पार्टीको शैलीमा विषयवस्तुलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्न खोजेको रूपमा बुझिन थालेको छ ।

उनी समसामयिक विषयवस्तुहरूमा पार्टी नेताको हैसियतमा रहेको हेक्का राख्नसमेत बिर्सन खोजेको हो कि भन्ने आभास हुन्छ । उनी विषयविज्ञका रूपमा उभिएझैं गर्दै विषयवस्तुको अति सैद्धान्तिकीकरण र बौद्धिकीकरण गर्न अभ्यस्त छन् । आफ्नो विज्ञता प्रदर्शन गर्ने नाममा पार्टी धरातल, आबद्धता र जिम्मेवारीको ख्याल नगर्ने नेता रावलमा जुन प्रवृत्तिको विकास हुँदै गएको छ, उनी पछाडि नै फर्किन नसक्ने खतरासमेत बढ्दो छ ।

उनको आजको राजनीतिक उचाइ र उपलब्धि पार्टी राजनीतिको परिणाम हो भन्ने विषयमा सायदै विमति नहोला । चारपटक सांसद, सभासद्, मन्त्री हुँदै गृहमन्त्री र रक्षामन्त्रीसहित उपप्रधानमन्त्रीसमेतको महत्वपूर्ण राजकीय जिम्मेवारी निर्वाह गरिसकेका नेता रावल आफूले उठाएका मुद्दाहरूलाई स्थापित गर्ने नाममा सस्तो लोकप्रियता र संवेदनहीनताको राजनीति गर्ने दिशामा अग्रसर भइरहेका छन् । यसैको उदाहरण हो, राष्ट्रका पक्षमा आफू उभिएकै कारण बालुवाटारबाट हत्याको धम्की आएको रावलको दाबी ।

तर राजकीय जिम्मेवारीको उच्च तहमा पुगेर पूर्वविशिष्ट पदाधिकारीको हैसियतले राज्यको सुरक्षा सुविधाको उपयोग गरिरहेका यिनलाई पार्टीमा उठेका बहसका सन्दर्भमा यस्तो खालको धम्की आएको भन्ने कुरा हास्यास्पद बाहेक अरु केही हुन सक्दैन । सायद प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रावलको हरेक विषयवस्तुमा मिडियामा आउने स्वभावलाई पापाराजीले जस्तै पत्रकारहरूले पछ्याउन सक्नेतर्फ संकेतसम्म गर्दै फेसबुकमा के लेखेका थिए ।

सार्वजनिक व्यक्तित्व भएका कारण बेलायती राजकुमारी डायनाको निजी जीवनलाई पापराजीहरूको पछ्याईबाट भाग्न खोज्दा फ्रान्समा आफ्ना प्रेमीसंगै कार दुर्घटनामा निधन भएको थियो । यस्तो वास्तविकतालाई नेता रावलले बङ्ग्याएर व्यक्तिहत्यासंग जोडेर मनोवैज्ञानिक संवदेनशीलताको पक्षमा आफूलाई हावी गराउन खोज्नु उनी जस्ता नेताका लागि सुहाउँदो विषय होइन ।

राज्यको सुरक्षा घेरामा रहेका नेताले आफूलाई असुरक्षा महसुस भएको बताउनु र त्यसमा पनि ज्यानको धम्की नै आएको बताउनुले यस मुलुकमा सामान्य नागरिकको सुरक्षा अवस्था के होला भन्ने गम्भीर प्रश्न उब्जाउन सक्ने स्थिति सिर्जना भएको छ । यदि यस्तो संवेदनशील विषय वास्तविक हो भने सप्रमाण कारबाहीका लागि नेता रावलले सम्बन्धित निकायलाई अनुरोध गरेको भए विश्वासयोग्य हुन सक्थ्यो कि र ?

यतातर्फ पहल गर्दा साँच्चै नेता रावलमाथि ज्यानको धम्की आएको र तत्पश्चात् राज्यका सम्बन्धित निकायबाट छानबिन गर्ने अवस्था सिर्जना हुन्थ्यो होला । तर, नेता रावलले यसो गर्नुको साटो संवेदनशील विषयलाई बहकाउका रूपमा उठाउने र सार्वजनिक, सामाजिक सञ्जालमा बहसको विषय गराउनुलाई कदापि स्वस्थ र स्वाभाविक अभ्यासका रूपमा लिन सकिंदैन भन्ने आम राय रहेको पाइन्छ ।

अर्कोतर्फ नेता रावलले केपी ओली नेतृत्वको सरकार बनेदेखि नै जुन विषयवस्तुहरू निरन्तर रूपले सार्वजनिक ढंगले उठाउँदै आएका छन्, ती विषयहरू पार्टीभित्रै उठाएको भए ती विषयको गाम्भीर्यता बढी स्थापित हुन सक्थ्यो । तर, ती विषयहरू सार्वजनिक सञ्चामाध्यममा उठाउने गर्नाले तिनको गाम्भीर्यता र वजनमा कमी आउँदै गरेको देखिन्छ । यसको प्रभावका रूपमा उनको व्यक्तित्व क्षयीकरणको दिशामा उन्मुख भइरहेको त होइन भन्ने चिन्ता उनका समर्थक र शुभचिन्तक बिच बढेको देखिन्छ ।

उनी आफूले उठाएका मुद्दाहरूलाई स्थापित गर्न सुदूरपश्चिम इञ्चार्जको हैसियतमा त्यहाँका नेता/कार्यकर्ताहरूको समेत सहयोग र समर्थनमा ती विषय लिखित रुपमा पार्टीमा दर्ज गर्न सक्थे । त्यस्तो अवस्थामा ती विषयहरू पार्टीभित्र छलफल र बहसको विषय भन्ने निश्चित हुन्थ्यो, निर्णय निर्माण र निष्कर्षतिर जान सघाउँथ्यो होला । यसो गरेको भए रावलको नेतृत्वमा पार्टी अनुशासनको पालना, मर्यादा र विधिको अनुसरणसमेत गरेको देखिन्थो ।

तर, उनी यस पक्षको पूर्ण रूपमा बेवास्ता गर्दै जानाजान विषयवस्तुलाई उछाल्दै आएको देखिन्छ र यसरी बहसमा उत्रिन खोजेबाट प्रतिपक्षीय भूमिकामा आफूलाई उभ्याउँदै आएका छन् । यसबाट उनको नेतृत्व, कार्यशैली र व्यवहारबाट पार्टी भूमिका र जिम्मेवारीलाई पूर्णतः बेवास्ता गर्दै कतै अराजकता र अनिश्चयको दिशा ग्रहण गर्ने त होइन भन्ने उनको कार्यक्षेत्रका नेता तथा कार्यकर्ताहरूले समेत प्रश्न उठाउन थालेका छ्न ।

बरु त्योभन्दा बढी आफ्नै क्षेत्रका जनताको विकास, समृद्धि र न्यायमा पहु“च स्थापित हुने गरी आफूलाई विकास र समृद्धिको वाहक नेताका रूपमा प्रमाणित गर्नतिर लगाएको भए केही सकारात्मक ऊर्जा, परिणाम आउन सक्ने अपेक्षा त्यस क्षेत्रका जनताको रहेको छ । जहाँका जनता गरिबी, अभाव, शोषण, उत्पीडन, कुरीति, कुप्रथा, कुसंस्कारबाट ग्रसित छन्, तिनको दैन्दिन जीवनमा परिवर्तन ल्याउनका लागि प्रभावकारी भूमिका खेलेको भए रावलको नियतमा आशंका गर्ने ठाउ रहँदैन थियो ।

नेता रावलले अति महत्वकांक्षी व्यक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेले कतै उनकोे आगामी राजनीतिक यात्रा पृथक् बाटोबाट अघि बढ्ने हो कि, यसबाट भविष्यमा आफ्नो राजनीतिक यात्रा खतरामा पर्ने हो कि भन्ने आशंकाले समेत उनका समर्थकहरू पछिल्लो अवधि त्रसित बन्दै गएका छन् । पार्टी र सरकारका चुनौतीहरूको सामना गर्ने र नेतृत्व गर्ने आफूबाहेक अर्को व्यक्तिलाई सक्षम र उपयुक्त नठान्नु पनि उनको कमजोरी भएको बताइन्छ ।

कतै अहिलेका विषयवस्तु उठाउने व्यक्ति आफू मात्र एकलजस्तो भएको दाबी रावलबाट आउनुले भविष्यको उनको राजनीतिक यात्रा सहज नहुने हो कि भन्ने रूपमा समेत चर्चा हुँदै जानु सुदूरपश्चिमको नेकपाको राजनीतिका लागि सकारात्मक संकेतचाहिं पक्कै पनि होइन । रावलले विगतदेखि गर्दै आएको निषेधको राजनीति त्याग्दै सहअस्तित्वको राजनीतिलाई अगाल्नु पर्छ र आलोचनाका शब्दहरु सुन्ने हिम्मत पनि गर्नुपर्छ ।किन भने सुदूरपश्चिमको भूगोलबाट राष्ट्रिय राजनीतिमा नेतृत्व जन्माउनु कति कठिन छ तर, पनि सुदूरपश्चिमबाट प्रधानमन्त्रीका रुपमा लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवाले राष्ट्रको नेतृत्व गरे ।

सुदूरपश्चिमको भूमिबाट अब राष्ट्रको नेतृत्व गर्ने संभावना बोकेको नेताका रुपमा भीम रावलको नाम चर्चामा आउन थालेका बेला रावल भने एकलकाँटे ढंगबाट आफ्नो छवि धुमिल बनाउन उद्दत देखिएका छन् ।रावल बिग्रेमा सबैभन्दा दुःखी सुदूरपश्चिममा जनता हुनेछन् । सप्रेमा धेरै खुशी पनि त्यहीका जनता हुने हुन । तसर्थ, रावलले महान अवसरका निकट पुग्न थालेका बेला धैर्य र सुझबुझका साथ विषय र व्यवहारको प्रस्तुतीकरण गर्नुपर्छ । आगे तपाईंकै मर्जी………..। (साँघु न्युजबाट साभार)




तपाईको प्रतिक्रिया दिनुहोस