नयाँ तथा सफा नोट भदौ २८ देखि
पुलेसो २२ भदौ, २०७८, मंगलबार ७:३७
बडा दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले भदौ २८ गतेदेखि बैङ्क तथा वित्तीय संस्थामार्फत नयाँ तथा सफा नोट साट्ने भएको छ ।
सर्वसाधारणले नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्कका शाखाहरूबाट पुराना नोटसँग नयाँ नोट साट्न पाउने भएका हुन् । यसअघिका वर्षमा सर्वसाधारणले थापाथलीस्थित नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागबाट नयाँ नोट साट्ने गरे पनि यसपटक भने त्यो व्यवस्था हटाइएको छ ।
राष्ट्र बैङ्कले भदौ २१ गतेदेखि ३० गतेसम्म भने विभागबाट संवैधानिक निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य सङ्घ/संस्थालगायतलाई सम्बन्धित निकायको पत्रको आधारमा नयाँ तथा सफा र सुकिला नोट सटही सुविधा दिएको छ । सोमवार सार्वजनिक गरेको सूचनामा सर्वसाधारण नागरिकले तोकिएका बैङ्कहरूबाट ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ तथा सफा र सुकिला नोट प्रतिव्यक्ति अधिकतम रू. २० हजारसम्म साट्न पाउनेछन् ।