न्याय परिषदद्वारा सर्वाेच्चमा ५ न्यायाधीश सिफारिस
पुलेसो २४ चैत्र, २०७७, मंगलबार १३:५३
काठमाडौं – प्रधानन्यायाधीश चाेलेन्द्र शम्सेर राणाकाे अध्यक्षतामा मंगलबार बसेकाे न्याय परिषद्काे बैठकले सर्वाेच्च अदालतमा ५ जना न्यायाधीश नियुक्तीकाे सिफारिस गरेकाे छ।
न्यापरिषद्ले उच्च अदालत पाटन र सुर्खेतका मुख्य न्यायाधीश प्रकाश ढुङगाना र सुष्मालता माथेमा सहित ५ जनाकाे नियुक्ती सिफारिस गरेकाे हाे। न्यायाधीश सिफारिस हुनेहरूमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधीवक्ता तथा अधिवक्ता हरिप्रसाद फुयाँल र अधिवक्ता डा. मनाेजकुमार शर्मा रहेका छन्।
फुयाँल पूर्व महान्यायाधिवक्ता हुन् । उनी केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्तामा नियुक्त भएका थिए । त्यस्तै रेग्मी वरिष्ठ अधिवक्ता हुन् । प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस भएका हुन् ।
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ५ जना मध्ये दुई जना प्रधानन्यायाधीश हुने लाइनमा हुनेछन् । कुनै अवरोध नभए फुयाँल र रेग्मी दुबै प्रधानन्यायाधीश हुनेछन् । उनीहरु सपना मल्ल प्रधानपछि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् ।