Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसुदूरपश्चिमा शुरु भयो ‘गौरा पर्व’

सुदूरपश्चिमा शुरु भयो ‘गौरा पर्व’


सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व शनिबारदेखि विधिवत् रुपमा शुरु भएको छ ।

भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।

महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ ।

सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ ।

सरकारले पनि यस वर्ष गौरा पर्वको प्रमुख दिन आगामी मंगलबार सार्वजनिक बिदासमेत दिएको छ ।

गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् । यतिबेला कञ्चनपुरको भीमदत्तनगरलगायत विभिन्न स्थानहमा हरेक दिन देउडा खेल सञ्चालन भइरहेका छन् ।

गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख–सुख बाँड्नुका साथै माया–प्रेम बाँड्ने गरिन्छ ।

यो पर्वलाई एकताका पर्वका रुपमा पनि लिइन्छ । गौरा पर्वका लागि काम विशेषले घरबाहिर गएका व्यक्तिहरु घर फर्किने गर्दछन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रशन्न हुने जनविश्वास छ ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उहाँकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ ।

पछिल्ला केही वर्षयता देशको राजधानीसम्म समेत देउडाले लोकप्रियता पाउन थालेको छ । बसाइँ–सराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने डेउडाप्रति सबैको आकर्षण बढेको छ । महाकाली साहित्य संगम कञ्चनपुरका पूर्वअध्यक्ष वीरबहादुर चन्दले गौरा पर्वलाई बढावा दिने काम भइरहेको बताउनुभयो ।

“सुदूरपश्चिमबाट रोजगारी तथा अध्ययनका लागि विदेशमा छरिएर रहेकाहरुले पनि गौरा पर्व मनाइरहेका छन्”, अध्यक्ष चन्दले भन्नुभयो, “दुई दशकयता सुदूरमा यसले निकै बढावा पाउँदैछ ।”




तपाईको प्रतिक्रिया दिनुहोस