Techie IT
×
१३ असोज, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमुख्य खबरओलीलाई “आइरन म्यान” बन्ने अवसर

ओलीलाई “आइरन म्यान” बन्ने अवसर


काठमाडौं – सन् १९४७ मा ब्रिटिस औपनिवेशबाट मुक्त भएपछि राजनीतिक अस्थिरता र अराजकताले भारतमा जरो गाड्यो। स्वतन्त्रता पछि बनेका सरकारहरुले भारतकोआन्तरिक राजनीतिका समस्याहरुलाई हल गर्न सकेनन् । सत्ताधारी पार्टी भारतीय राष्ट्रिय काङ्ग्रेस भित्रै आन्तरिक कलह चर्किदा विपक्षी पार्टीहरुले थालेको सरकार विरोधी अभियानले राजनीतिक अस्थिरतालाई मलजल गर्ने काम गर्यो ।

आन्तरिक तथा बाह्य चुनौतीका चाङ्ग बीच सन २४ जनवरी १९६६ मा इन्दिरागान्धी प्रधानमन्त्री भइन । भारतीय राजनीतिलाई जसरी पनि पटरीमा ल्याउनुपर्ने मुख्य चुनौती इन्दिरा गान्धीलाई थियो । उनले अनेकौ कोसिस गरिन तर स्थिति झन झन बिग्रिदै गयो ।भारतलाई सँधै राजनीतिक अस्थिरताको भुमरीमा फसाइराख्ने आन्तरिक र बाह्य षड्यन्त्रलाई सदाका लागि समाप्त पार्ने दृढ संकल्पका साथ इन्दिराले राजनीतिको गतिलाई अगाडि बढाउदै लगिन । विधि र प्रकृयाबाट सत्तारोहणको बाटो छाडेर सत्ताका भोकाहरु राजकीय अभीष्ट पूरा गर्न बेलायत र अमेरिकाको सहारा खोज्न थाले । इन्दिराको नेतृत्व असफल भएको कुप्रचार गर्न थाले ।

देशको समग्र राजनीतिलाई नै कमजोर बनाई स्वार्थको रोटी सेक्ने केही सदृश्य र केही अदृश्य षड्यन्त्रहरु हुन थाले पछि इन्दिराले आफ्नै क्याविनेटका मन्त्री र आफ्नै पार्टीका नेताहरुसङ्ग कुनै सर सल्लाह नगरी २५ जुन १९७५ मा मुलुकमा संकटकालको घोषणा गरेकी थिइन । त्यो बेला इन्दिराका लागि कठिन घडी थियो । विरोधी राजनीतिक शक्तिहरु त दाउ पर्खेर बसेकै थिए ।पार्टी र सरकारभित्रै बसेका आफ्ना भनिनेहरु पनि घात लगाएर बसेका थिए ।त्यो बेला कसैको पनि विश्वास गर्ने अवस्था थिएन । त्यस्तो बेला इन्दिराले मुलुकमा लगाएको उक्त संकटकाका कारण मृत्यु पर्यन्तसम्म पनि आलोचनात भइरह्यो । तर, संसारको सबैभन्दा ठूलो लोकतन्त्र भन्ने गरिएको भारतले विधिको शासन र कानूनी राज्यको अवधारणलाई संस्थागत गर्यो ।

अविचलित इच्छाशक्ति, स्पष्ट अडान र कठोर निर्णय गर्न सक्ने क्षमताको उनले सत्तासञ्चालनमा भरपुर सदुपयोग गरिन । जसले गर्दा भारतीय राजनीतिमा इन्दिरालाई ‘आइरन लेडी’को उपाधि मिल्यो ।इन्दिराको दृढ इच्छा शक्तिले निर्माण गेरको विधिको राजनीतिले अहिले आधुनिक भारतलाई प्रगति पथमा डोर्याइ रहेको छ । पछिल्लो दशकमा यसको लाभ विगतमा लामो समय प्रतिपक्षमा रहेको भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत प्राप्त भएको छ । समय र परिस्थितिले राजनीतिको मूल नेतृत्वमा विभिन्न नेताहरु उदाउने रअस्ताउने गर्दछ्न् । तर, सबै नेताहरुको नेतृत्व क्षमता इतिहासमा लेखिदैन ।हाम्रो देशको राजनीतिक नेतृत्वमा सन्दर्भमा पनि यो लागू हुन्छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अडानहरु सही थिए भन्ने कुरा ६ सदस्यीय कार्यदलको गठन र   ६ भदौ २०७७ मा दुई अध्यक्षलाई बुझाएको १८ पृष्ठको प्रतिवेदनले प्रमाणित गर्छ । उक्त प्रतिवेदनलेप्रधानमन्त्रीका पूर्ववत अडानलाई सदर गरिदिएको छ । प्रधानमन्त्री र अध्यक्ष समेतबाट राजीनामा माग्दै नेपाली राजनीतिमा फेरिभयंकर अस्थिरता ल्याउन खोज्ने चेतको इतिहासमै पहिलो पल्ट पराजय भएको छ ।कोरोनाको कहरका बीच प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्ने झन्डै तीन महिना लामो षडयन्त्रको जालो हाललाई भताभुङ्ग भएको छ ।

यस्तो निकृष्ट षड्यन्त्रलाई रोकेर मुलुकलाई अस्थिरताको राजनीतिबाट जोगाएकोमा देशव्यापी रुपमा प्रधानमन्त्री ओलीको प्रशंसा भएको छ । ओलीलाई नेकपाको अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले झण्डै तीन महिनासम्म गरेको कसरतले दुश्मन खोज्न बाहिर जानु पर्दैन , घरमै खोजे हुन्छू भन्ने प्रचलित नेपाली उखानलाई जनमानसमा प्रमाणित गरिदिएको छ ।

सारा विश्व कोरोना महामारी र यसले निम्त्याएका संकटहरुसंग लडिरहेका बेला यता आफ्नै पार्टीको करिब दुई तिहाईको सरकार ढाल्ने षडयन्त्र नाकाम बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका त उल्लेखनीय रह्यो नै राजनीतिक स्थिरता चाहेका नेपाली जनताका आवाजहरु पनि षयन्त्रहरुका विरुद्द गुञ्जिए । निश्चित अवधिका लागि व्यवस्था गरिएको प्रधानमन्त्री र पार्टीअध्यक्षको कुर्सी जोगाउन भन्दा पनि विधि र प्रक्रियाको रक्षा गर्न देशव्यापी रुपमा जनताले नारा जुलुस र प्रदर्शन गर्नु पर्यो ।

एकजना प्रधानमन्त्रीले पूरा कार्यकाल सरकारको नेतृत्व गर्न पाउनु पर्छ भनेर जनता सडकमा ओर्लिन थालेपछि चर्को रुपमा प्रधानमन्त्रीको राजीनामा माग्ने कमरेड झलनाथ खनालको स्वर मसिनो हुन गयो । अध्यक्षको पद छाड्ने वा नछाड्ने भन्ने विषयको टुङ्गो एकताको महाधिवेशनबाट लगाउनु पर्छ भन्ने टुंगोमा पनि पार्टी पुग्यो । यो नै विधिसम्मत हो भनेर नेकपाका समर्थक शुभचिन्तकहरु पनि सडकमा प्रदर्शन गर्न थालेपछि प्रचण्ड- माधव समूहको ओली हटाउ अभियान फ्लप भएको हो ।

ओलीका पक्षमा देशका विभिन्न स्थानहरुमा निस्केका स्वतस्फूर्तप्रदर्शनलाई प्रधानमन्त्री ओलीको प्रायोजन भनि झुठो आरोप लगाएर जनतामा भ्रमसिर्जना गर्न सकिन्छ कि भनेर बुनेको योजना एकदिन पनि टिक्न सकेन । प्रचण्ड – माधव समूह यहीनेर चुकेको देखिन्छ ।भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्दा भारतसंगको कूटनीतिक सम्बन्धमा समस्या आएका बेला यता आफ्नै पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग्नु संयोग मात्र थियो वा भारतीय षडयन्त्र थियो ? नेपाली जनतामा कयौ आशंकाहरु उब्जिएका थिए ।

प्रधानमन्त्रीको राजीनामा मागेर नेकपाभित्र विवाद गरिरहेका नेताहरुलाईभारतीय दलाल भन्दै जनताले सडकमा नारा लगाए । राजीनामाको माग “बेमौसमको बाजा “जस्तै बन्यो । प्रधानमन्त्रीका पक्षमा जनता स्वतस्फूर्त रुपमा सडकमा आउलान भनेर सोचिएको थिएन ।

प्रधानमन्त्री ओलीको बढ्दो लोकप्रियताको आंकलन गर्न नसक्नु प्रचण्ड-माधव समूहको ठूलो भूल भयो भनेर विश्लेषण गर्न सकिन्छ । वि.सं २०४६ यता आफ्नै सहकर्मी ढालेर सत्तामा जाने जुन फोहरी राजनीतिक खेलहरु हुँदै आएका थिए ती खेलको पुनरावृत्ति नेकपा भित्रबाट गर्न खोज्ने षडयन्त्रलाई प्रधानमन्त्री ओलीले जनताको भावना र चाहना अनुसार नै नाकाम बनाइदिएका छन् । र, ६ सदस्यीय कार्यदलको प्रतिवेदनले विरोधी समूहलाई “फेस सेभिङ” सुविधा पनि प्राप्त भएको छ । एउटा राजनेताले विरोधीहरुलाई पनि सम्मानको नजरले हेर्नु राजनीतिमा राम्रो सुसंस्कार मानिन्छ ।पार्टी भित्रैबाट राजीनामाको मुद्दा उठ्नु ओली नेतृत्वको लागि कठिन परीक्षाको घडी थियो । यो परीक्षा ओलीले कुशलतापूर्वक पार गरेर फेरि एक पटक घरेलु राजनीतिमा कौशल नेतृत्व देखाएका छन् ।

कालापानी, लिम्पुयाधुरा, लिपुलेकसहितको नयाँ नेपाली नक्सा जारी गरेर शानदार तरिकाले छिमेकी भारतलाईजवाफ फर्काउन सक्नु प्रधानमन्त्री ओलीको अन्तराष्ट्रिय राजनीतिक सफलता हो ।विशाल भारतको विशाल सञ्चार जगतमा इतिहासमै पहिलो पल्ट लगातार समाचारका मुख्य हेडलाइन बन्ने अवसर पनि ओलीलाई मात्र प्राप्त भएको छ ।

राष्ट्रिय स्वाधीनताका मामिलामा प्रधानमन्त्री ओलीले उठाएको कदम विश्वजगतले थाहा पाएको छ । भारतका मात्र नभई संसारभरका सञ्चार माध्यमहरुमा नयाँ नक्सा बारे समाचारहरु कभरेज भएका छन । यस अघिको नेतृत्वले छिमेकीहरुसंग जोडिएका मुद्दाहरु मन भित्रै गुम्साएर राखेका हुन्थे । तर प्रधानमन्त्री ओलीले विश्वले थाहा पाउने गरी मुलुकको हितसंग सम्बन्धित मुद्दामा स्पष्ट प्रतिक्रिया दिएका छन । प्रधानमन्त्रीको यस्तो हिम्मतलाईनेपाली जनताले सलाम गरेका छन । एउटा राजनेताले आन्तरिक तथा बाह्य समस्यालाई कसरी सम्बोधन गर्नु पर्छभन्ने उदाहरण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेका छन ।

पछिल्ला ६ महिनामा प्रधानमन्त्री ओलीले देश, जनता र पार्टीका सन्दर्भमा लिएका अडान र गरेका कामले घर मिलाउन नसक्नेले बाहिर पनि मिलाउन सक्दैन भन्ने नेपाली उखानको सान्दर्भिकतालाई उल्टाइ दिएको छ । दोश्रो पटकको मृगौला प्रत्यारोपण पछि नै प्रधानमन्त्री ओलीलाई माथि उल्लेखित चमत्कारिक कार्य गरेका हुन । सरकारको नेतृत्व सम्हालेको साँढेदुई बर्ष पूरा भएको छ । महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदश्यीय कार्यदलले बुझाएको प्रतिवेदन पछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद मत्थर भएको छ । प्रतिवेदनको कार्यान्वयन क्रमश: हुने भएको छ ।

पछिल्ला घटनाक्रमले नेकपा भित्र अनावश्यक विरोध, अवरोध, आरोप र प्रत्यारोपमा फजुल समय खर्च गरिराख्ने संस्कार बसेको थियो । यो संस्कारले आगामी दिनहरुमा फेरि नयाँ विवादहरु सिर्जना गर्दा नोक्सानीको भारी बोक्नु पर्छ भन्ने सन्देश पनि दिएको छ । किनभने, पार्टी एकताका कामहरु अझै बाँकी छन । नेकपाको राजनीतिक कार्यदिशा कस्तो हुने हो, पार्टी भित्रका स्वार्थ समूहहरु कसरी प्रस्तुत हुने हुन भन्ने कुरा चाहिं भविष्यको गर्भमै छन् ।यी कुराहरुको जिज्ञासा मेट्न हामीले एकताको महाधिवेशन पर्खिनु पर्ने हुन्छ ।त्यस बेलासम्म प्रधानमन्त्री ओलीले सुझबुझका साथ सरकार र पार्टीको नेतृत्व गर्नु पर्नेछ ।

झिना मसिना स्वार्थ पूरा गर्ने निहुँमा विगतमा पार्टी नेतृत्वबाटै निरन्तर खेप्नु परेको असहयोगको घेराबन्दीलाई तोड्दै पार्टी र सरकार जोगाएर प्रधानमन्त्री ओलीको एक कुशल र अब्बल राजनेताको परिचय दिएका छन ।प्रधानमन्त्री र पार्टी अध्यक्षबाट आज हटाउँछन कि भोलि हटाउँछन भन्दै चिन्तामा डुवेका जनता कार्यकर्ता शुभचिन्तक र समर्थकहरुमा “समृद्ध नेपाल सुखी नेपाली” प्रति आशा र विश्वास जागृत गराएको छ ।पछिल्लो राजनीतिक यात्रामा ओली आइडियाले गरेको नेपाली राजनीतिको संकटमोचन सबै राजनीतिकर्मीका लागि सिकाईको गतिलो पाठ हुनसक्छ ।

ज-जसले ओलीलाई सत्ता र पार्टीको नेतृत्वबाट हटाउन खोजेका थिए उनीहरुलाई पनि ओलीसूत्र भविष्यमा सञ्जीवनी बुटी हुनेछ । रत्तिभर विचलित नभई पार्टी र सरकारको नेतृत्व कुशलतापूर्वक गरेर झनै शक्तिशाली बनेर देखा परेका प्रधानमन्त्री ओलीका सामुन्ने अब मुख्य तीन महत्वपूर्ण कार्यभार छन । ती हुन :  एकताको महाधिवेशन गरेर नयाँ नेतृत्वलाई नेकपा हस्तान्तरण गर्नु, २०७९ मा तीनै तहको निर्वाचन गर्नु र जनादेशको भावना र मर्म अनुसार कुशलतापूर्वक सरकारको पाँच बर्षे कार्यकाल पूरा गर्नु । यिनै कार्यभारको पूर्णताले ओलीलाई नेपाली राजनीतिमा “आइरन म्यान”बन्ने अवसर प्राप्त हुनेछ ।




तपाईको प्रतिक्रिया दिनुहोस