Techie IT
×
१३ असोज, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचार/बहसभाइरल भीम रावल, भ्रम र वास्तविकता (फ्याक्ट चेक – १)

भाइरल भीम रावल, भ्रम र वास्तविकता (फ्याक्ट चेक – १)


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीका इञ्चार्ज भीम रावल नेपाली राजनीतिमा आजभाेलि ‘भाइरल’ नेताका रुपमा चर्चा बटुलिरहेका छन् ।

प्रशंसाभन्दा विरोध र आलोचनामा आधारित अभिव्यक्तिहरुमा बढी आकर्षित हुने नेपाली समाजको चरित्र छ । यसैको भरपूर लाभ नेकपा नेता भीम रावललाई पनि प्राप्त हुँदै आएको छ । नेपाली राजनीतिमा रावलले हालसम्म प्राप्त गरेको पद र प्रतिष्ठाले गर्दा उनका अभिव्यक्तिहरु सत्यतथ्यमा आधारित छन वा वकवास हुन् छुट्याउन मुश्किल भइरहेको छ ।

सञ्चार माध्यमहरुमा आइरहने रावलका अभिव्यक्तिले मानिसहरुलाई भ्रमित बनाइरहेको छ । उनका पछिल्ला अभिव्यक्तिहरु झनै पदीय मर्यादा र जिम्मेवारीलाई बिर्सेर प्रस्तुत भएको पाइएको छ । रावलका अभिव्यक्तिले विगतका कतिपय प्रसंगहरूमा आफ्ना सहकर्मीहरूले पार्टी निर्माणमा खेलेको भूमिका र योगदानलाई नजरअन्दाज मात्र गरेका छैनन्, सुदूरपश्चिम प्रदेशको कम्युनिस्ट पार्टीको विगतको इतिहास, संगठन निर्माण, कार्यकर्ता परिचालन र राजकीय जिम्मेवारी प्रदान गर्ने सिलसिलामा सम्पूर्ण रूपमा आफ्नो एकल योगदान र भूमिका रहेको भन्दै झुटा तथ्यलाई अघि सार्ने प्रयास गरिएको देखिन्छ ।

सुदूरपश्चिम प्रदेशका पुराना कम्युनिस्ट नेताहरू, जो लामो समय संगठन निर्माणमा खटिए, तिनीहरू उनका अभिव्यक्तिबाट आश्चर्यचकित मात्र भएका छैनन्, यस खालको दुष्प्रचारको खेतीले पार्टीको समग्र हित नगर्ने बताउँछन् ।

जिम्मेवार तहमा बसेर ऐतिहासिक घटनाक्रमलाई तोडमरोड तथा अपव्याख्या गर्नु र आफू अनुकूल मात्र सम्प्रेषित गर्नुले व्यक्तिगत स्वार्थ त पूरा हुन सक्ला तर समग्र आन्दोलनको हित हुन नसक्ने यसमा आबद्ध कतिपय जानकारहरूको अभिमत रहेको छ ।

केपी शर्मा ओलीको नेतृत्वमा ३ फाल्गुन २०७४ मा दुई तिहाइको सरकार गठन भएयता तत्कालीन नेकपा माले हुँदै एमालेकालीन अवस्थामा सुदूरपश्चिममा भीम रावलको भूमिका, योगदान र सक्रियताको केही फ्याक्ट चेक यस आलेखमा प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

तत्कालीन नेकपा माले हुँदै एमालेमा सक्रिय भई सुदूरपश्चिमको भूगोलमा पार्टीको मूल नेतृत्वमा रही संगठन निर्माण गरेका नेताहरुको गुरु भएको रावलले दाबी गर्दै आएका छन् । विभिन्न सञ्चार माध्यमहरुमा उनी सुदूरपश्चिमका नेताहरुको नामै किटेर उनीहरुलाई राजनीतिक अवसर प्रदान गरेको बताउछन । तर, खासमा इतिहासका तथ्य र प्रमाणले रावलका सबै दावीहरुलाई गलत सावित गर्दै आएका छन् ।

रावलले आफ्नो एक अन्तर्वार्तामा ‘भीमबहादुर कडायतलाई जनमत संग्रहपछि मैले पार्टीमा ल्याएको हुँ । शिक्षक संगठनको अध्यक्ष बनाउन पनि मेरै पहल थियो । मैले नेताहरूसँग ‘सुदूरपश्चिममा मान्छेहरूको कमी छ, उहाँलाई ल्याउनुपर्छ’ भनेर जोड गरें । त्यसपछि उहाँ वैकल्पिक केन्द्रीय सदस्य हुनुभयो ।’ भन्दै बेला बेलामा दलील पेश गर्दै आएका छन् । रावलको गृह जिल्ला अछामका नेता – कार्यकर्ताहरु रावलको यस्तो दलीललाई झुठो बताउँदै आएका छन् । स्वयं पुराना कम्युनिष्ट नेता भीमबहादुर कडायतले पनि यस पंत्तिकारसंग रावलको दावी झुठो भएको बताए ।

राजनीतिक रुपमा कडायत र रावलको पहिलो भेट २०३६ सालमा अछामको सदरमुकाम मंलगसेनमा भएको हो । कडायत शोडषा मावि मंगलसेनमा हेडमास्टर थिए । बहुदलको पक्षमा शिक्षक संघर्ष समितिको १२ दिने नेतृत्व गर्दै उनी एकाएक चर्चामा आएका थिए ।

भीम रावलले अर्को एउटा प्रसंगमा ‘२०३६ सालमा भीमबहादुर कडायतलाई मैले नै पार्टीमा ल्याएको हुँ’ भन्ने प्रसंग पनि ऐतिहासिक तथ्यसंग मेल खाँदैन । यस प्रसंगमा यस पंत्तिकारको सम्पर्कमा आएका एक पुराना नेताको भनाइमा, विद्यालयको प्रधानाध्यापक भएका बखत कडायत २०३२/०३३ सालतिरबाट काठमाडौंमा एकवर्षे बीएड अध्ययनकै दौरानमा विद्यार्थी आन्दोलनलाई समर्थन गरी प्रगतिशील राजनीतितर्फ आकर्षित भएका हुन् । त्यसपछि उनले जिल्लास्थित शिक्षकहरूको आन्दोलनलाई नेतृत्व प्रदान गरे । २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बने ।

२०३८ साल वैशाख १८ गते तत्कालीन भूमिगत नेकपा मालेको केन्द्रीय सदस्य तथा सेती अञ्चल इन्चार्ज रहेका गोविन्द कोइरालाको पहलकदमीमा अछाममा नेकपा माले डिस्ट्रिक पार्टी एक्टिभ ग्रुप (DPAG) निर्माण भयो । उक्त ग्रुपमा अधिकांश शिक्षक थिए । गोकुल खनालको संयोजकत्वमा बनेको ग्रुपमा भीमबहादुर कडायत, भवानीप्रसाद उपाध्याय, नन्दराज खनाल, कपुरसिंह कडायत र नरराज खनाल सदस्य थिए । यो ग्रुप सेती महाकालीका नाै जिल्लामा नेकपा मालेको पहिलो कमिटी थियो ।

यसपछि भूमिगत रूपमा संगठन गर्दै अछाममा पार्टी संगठन निर्माणको काम अघि बढेको जानकारी यस सम्बद्ध कार्यकर्ताहरू बताउने गर्छन् । त्यसो त यस दौरानमा युवराज ज्ञवाली, र सुरेश कार्की जस्ता तत्कालीन मालेका नेताहरूको समेत राजनीतिक परिचालन र संगठन निर्माणमा महत्वपूर्ण भूमिका रहेको सम्बद्ध जानकार स्रोतको भनाइ छ ।

शिक्षक आन्दोलनका क्रममा कडायतसहित सहित १४ जना शिक्षकहरूले राज्यको प्रतिशोधका बढेपछि शिक्षण पेसा छाडनु परेको थियो । २०४२ सालमा कडायत कम्युनिष्ट राजनीतिमा पूर्णकालीन रुपमा होमिइसकेका थिए । २०४६ सालको जनआन्दोलनमा तत्कालीन नेकपा मालेबाट अछाममा २ जनामात्र जेल परेका थिए । एउटा कडायत थिए भने अर्का विद्यार्थी नेता कमल तिमिल्सेना । जबकि नेपाली कांग्रेसबाट ४५ जना जेलमा थिए ।

कडायत शिक्षक रहेकै अवस्थामा २०३६ सालमा मंगलसेनमा अनेरास्ववियु पहिलो जिल्ला भेलाको आयोजना गरियो । रावल केन्द्रीय सदस्यका रुपमा उपस्थित थिए । भेलाको अध्यक्षता रावलले गर्नु पर्दथ्याे तर उनले गर्न चाहेनन् । भेलाको अध्यक्षता कडायतले नै गर्नु पर्दथ्याे । भेलाको अध्यक्षता गरेपछि सार्वजनिक भइने र प्रहरीले पक्राउ गर्ने डर भएकाले रावल गुपचुप रुपमै भेलामा सहभागी भएको अछामका एक जना समकालीन नेताको भनाइ छ ।

भेला सकिए लगतै काठमाण्डौं फर्किएका रावल एकैपटक २०४८ सालको आम निर्वाचनमा अछाम क्षेत्र नम्बर १ को उम्मेद्वार बनेर अछाममा पुगे । २०४६ मा सिंगो पार्टी पक्ति जनआन्दोलनमा होमिएका बेला रावल सहभागी नभएको र उनी कम्बाेडियामा डलर कमाउँदै थिए भनेर उनका समकालीनहरु बताउँछन । एक जना समकालीन कोमल भट्टराईका अनुसार पनि रावल २०४६/०४७ सालतिर विदेशमा थिए ।

२०४८ बैशाखको आम निर्वाचन पश्चात चैत्रमा सम्पन्न नेकपा एमालेको प्रथम जिल्ला अधिवेशनबाट कडायत अछाम जिल्ला सेक्रेटरी बने । यसअघि रावल आम निर्वाचनका बेला सांसद बन्ने लालसा बोकेर अछाममा देखापरे । त्यतिबेला अछाममा सांसदमा उम्मेद्वारी दिने नेताको अभाव थियो । कडायतले रावललाई क्षेत्र नम्बर १, आफू क्षेत्र नम्बर २ र जगत बोगटीलाई क्षेत्र नम्बर ३ मा उम्मेद्वार बनाउने निर्णय गराए ।

जानकारहरुका अनुसार पाँचौं महाधिवेशनमा रावल केन्द्रीय सदस्य बन्न चाहन्थे तर उनी महाधिवेशन प्रतिनिधिसम्म बन्न सकेनन् । पर्यवेक्षकका रुपमा मात्र महाधिवेशनमा सहभागी भए । महाधिवेशनबाट सेती अञ्चलबाट भीमबहादुर कडायत वैकल्पिक केन्द्रीय सदस्य चुनिए ।

खासमा पूर्ण केन्द्रीय सदस्य बनाइने सूचीमा सेती अञ्चलबाट कडायत र महाकालीबाट प्रेमसिंह धामीको नाम थियो तर पछि घोषणा हुँदा कडायतको नाम वैकल्पिक केन्द्रीय सदस्यमा आयो । वैकल्पिक केन्द्रीय सदस्यसँगै कडायत नेकपा एमालेको सेती अञ्चल इन्चार्ज बनाइए ।

केन्द्रीय सदस्यबाट नाम काटिनुमा रावलको खुराफात प्रमुख कारण रहेको उक्त महाधिवेशनमा सहभागी नेताहरुबिच त्यतिबेला चर्चा चलेको थियो । महाधिवेशनमा प्रतिनिधि बन्न नपाएको रिसमा रावलले कडायत विरुद्द खुराफात गरेको बताइन्छ । महाधिवेशन सकिएपछि २०५० सालमा रावल फेरि जागिर गर्न कम्बोडिया नै फर्के ।

२०४९ सालमा काठमाडौंमा सम्पन्न तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनमा कडायतलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन आफूले प्रस्ताव गरेर रावलले आफ्नै ‘त्याग’ र ‘निगाह’बाट सो पद कडायतलाई प्राप्त भएको दलील पेश गर्दै आएका छन् ।

तत्कालीन एमालेको पाँचौं महाधिवेशनमा कडायत नेकपा एमाले अछामको प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सचिवका रूपमा महाधिवेशनमा सहभागी भएको तथ्य त्यस महाधिवेशनमा अछामबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू बताउँछन् ।

त्यसो त यसको पनि एउटा सन्दर्भ त्यतिबेलाको नेकपा एमालेको सेती–महाकाली अञ्चलका कार्यकर्ताहरूको स्मरणमा रहेको छ । २०४८ सालको आमनिर्वाचनमा तत्कालीन एमालेले सुदूरपश्चिमाञ्चलमा एउटा पनि संसदीय सिटमा विजय हासिल गर्न सकेन ।

सेती अञ्चलका ११ र महाकालीका ७ सिटमध्ये दार्चुला जिल्लाबाट तत्कालीन राप्रपा (थापा)ले एउटा सिट जितेको थियो भने अन्य १७ वटा सिटमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । संसदीय निर्वाचनपश्चात्को सुदूरपश्चिमको पार्टी संगठनलाई परिचालन गर्ने उद्देश्यस्वरूप पार्टी केन्द्रका तर्फबाट विभिन्न स्थानमा आमसभाको आयोजना गरी तत्कालीन राजनीतिक परिस्थितिका सम्बन्धमा जनताबीच स्पष्ट पार्ने योजना अनुरूप तत्कालीन महासचिव मदन भण्डारीको भ्रमण योजना बनेको पार्टी सम्बद्ध जानकारहरूको भनाइ छ ।

‘यसको सुरुवात उनले २०४८ चैत्रमा अछाम जिल्लाबाट नै गरेका थिए,’ तत्कालीन एक जना नेताका भन्छन्, ‘अछाम सदरमुकाम मंगलसैनमा २४ चैत्रमा महासचिव कमरेड मदन भण्डारीले पार्टीको प्रथम जिल्ला अधिवेशनको भव्य समारोहबीच उद्घाटन गरे र सो अधिवेशनले भीमबहादुर कडायतलाई सचिव र कृष्णप्रसाद जैसीलाई उपसचिवको जिम्मेवारी दियो ।’

त्यसपछि महासचिव मदन भण्डारीको नेतृत्व र प्रमुख आतिथ्यका साथ अछामको साँफेबगर, बाजुराको शेरा, आटीचौर, मार्तडी, बझाङको थलारा, चैनपुर र कालुखेती (छान्ना) अनि डोटीको सिलगढी, दिपायल, बुडर, डडेल्धुराको अमरगढी, डडेल्धुरा सदरमुकाम, बैतडीको गोकुलेश्वर, दार्चुलाको सदरमुकाम खलंगामा आमसभा र पार्टी कार्यकर्ता भेटघाट र सम्पर्क गर्दै महासचिव भण्डारी नेतृत्वको सो टोली भारतको धार्चुला हुँदै कञ्चनपुर झरेको थियो ।

सो टोलीमा महाकाली अञ्चलको डडेल्धुरादेखि संलग्न त्यतिबेला महाकाली अञ्चलको इञ्चार्जको हैसियतमा रहेका हाल नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन महासचिव भण्डारीको सुदूरपश्चिमभरिको भ्रमणमा अछामको पार्टी सचिव र अखिल नेपाल किसान संघको केन्द्रीय सदस्यका रूपमा भीमबहादुर कडायत नै सहभागी थिए ।

सोही भ्रमणका क्रममा डडेल्धुराको आमसभामा गोविन्दप्रसाद कलौनी (हाल प्रदेश प्रमुख, कर्णाली प्रदेश) र कञ्चनपुरका प्रेमसिंह धामीले प्राविनिमा कार्यरत बझाङको जागिर छाडेर तत्कालीन नेकपा एमालेको राजनीतिक यात्रामा आबद्ध भएका थिए ।

सोही टोलीले कञ्चनपुर–कैलालीमा आमसभा र कार्यकर्ता भेटघाट सम्पन्न गरी नेपालगन्ज आएर महासचिव मदन भण्डारी हवाई जहाजद्वारा काठमाडौं फर्केको र भीमबहादुर कडायत अछामको साँफेबगर फर्केका थिए ।

महासचिव भण्डारी नेतृत्वको यस भ्रमणबाट यातायातको असुविधा, सञ्चार सुविधाबाट समेत वञ्चित त्यतिबेलाको सुदूरपश्चिममा घोडामा चढेर जिल्ला–जिल्ला भ्रमण गरेर सांगठनिक रूपमा कार्यकर्ता परिचालन गर्न र तत्कालीन कांग्रेस सरकारका जनविरोधी चरित्रको भण्डाफोर गर्न सहयोग पुगेको यस अभियानलाई नजिकबाट नियालेका पुराना कार्यकर्ताको अनुभव छ ।

२०५१ साल मंसिरमा मध्यावधि निर्वाचन हुने भयो । अछाममा २ निर्वाचन क्षेत्र निर्धारण भए । क्षेत्र नम्बर १ बाट चुनाव लडने मान्छे भेटिएन । रावल काठमाण्डौ फर्किसकेका थिए । कडायतले रावललाई चुनाव लड्ने तयार हुनु भनि फोन गर्दा ‘मलाई पार्टीका आन्तरिक लेखपढको जिम्मेवारीमा लगाइएको छ । चुनाव लड्न पठाउँदैन कि क्या हो’ भनेको कडायत सुनाउछन ।

अछाम क्षेत्र नम्बर १ मा चुनाव लडन कोही तयार भएनन् भीम रावललाई टिकट दिनु पर्यो भनेर माधव कुमार नेपाललाई फोन गर्दा रावललाई चुनाव लड्न पठाएको कडायतको भनाई छ । उक्त चुनावमा सुदूरपश्चिमबाट नेकपा एमालेले उल्लेख्य सिटमा जित हासिल गर्यो भने अछामका पनि दुबै सिट जित्यो ।

भीमबहादुर कडायतमा कुशल संगठकको गुण र क्षमता भएकाले मध्यावधि निर्वाचनमा नेकपा एमालेले सेती अञ्चलबाट ११ सिटमध्ये ७ सिटमा विजय हासिल गरेको थियो । सांसद भइसकेपछि रावल काठमाण्डौ आए । ८८ सिट सहित ठूलो पार्टी बनेको नेकपा एमालेले सरकार बनाउने पक्का भयो ।

पहिलो कम्युनिष्ट सरकारमा मन्त्री बन्ने चाहना भएका नेताहरुको बागबजारमा रहेको नेकपा एमालेको कार्यालयमा भीडभाड थियो । करिब २ दशक काठमाण्डौंमा जमेर बसेकाले पार्टीका शीर्ष नेताहरुसंग भीम रावलको राम्रो चिनजान बनाएका थिए । त्यसमा अझ लेखपढका दख्खल भएकाले तत्कालीन महासचिव माधव कुमार नेपाललाई टेवुल वर्कमा रावलले सघाउदै आएका थिए ।

रावलको मन्त्री बन्ने चाहनामा माधव र बामदेवले साथ दिए । तर, सहायक मन्त्री बनाउने निधो भयो । रावलका समकालीन एक जना भन्छन्, ‘महाकालीबाट प्रेमसिंह धामी राज्यमन्त्री बन्ने सेतीलाई सहायक मन्त्री मात्र दिने केन्द्रीय नेतृत्वको तयारी थाहा पाएपछि पार्टीको सेती अञ्चल इन्चार्ज भएको हैसियतले भीमबहादुर कडायतलाई रावलले लविङ गरिदिन आग्रह गरेपछि रावल राज्य मन्त्री बनेका हुन् ।’

मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा राज्यमन्त्री बनेका रावलको साथ र सहकार्य भीमबहादुर कडायतसंग २०५४ साल फाल्गुनसम्म रहेको देखिन्छ । नेकपा एमालेको नेपालगंजमा भएको छैटौं महाधिवेशनबाट मात्र नेपाली राजनीतिमा रावलको भाग्योदय भएको देखिन्छ ।

पाँचौ महाधिवेशनमा प्रतिनिधि बन्न नसकेको घाटा पूर्ति गर्न रावलले छैटौं महाधिवेशनमार्फत नेकपा एमालेको राजनीतिमा भाग्य अजमाउन भूगोल प्रवेश गरेका हुन् । छैटौं महाधिवेशनको तयारी जोरतोडले चलिरहँदा रावल महाधिवेशन प्रतिनिधि बन्न अछाम पुगेका थिए ।

‘महाधिवेशनमा सहभागी हुने विषयमा छलफल गर्न अछाम जिल्ला कमिटीको बैठक चलिरहेको थियो । उक्त बैठकमा रावलको उपस्थितिप्रति जिल्ला सदस्यहरुले आपत्ति जनाउँदा विवाद भएको अछामका एक जना नेता सुनाउछन् । बहुमत जिल्ला सदस्यहरुले बैठकमा रावलको उपस्थिति कुन हैसियतमा भएको हो भन्ने प्रश्न गरेपछि उनी बाहिरिएका थिए ।

जिल्ला कमिटीका सचिव गोकुल खनालले रावललाई पार्टी सदस्यता अछाम सार्न सुझाएपछि रावल काठमाण्डौ फर्केका थिए । केही दिनपछि रावल नेकपा एमालेका संगठन विभाग प्रमुख अमृत कुमार बोहराको हस्ताक्षर भएको पत्र बोकेर अछाम गए । उक्त पत्रमा भीम रावल नेपाल बार एशोसिएसन जिल्ला संगठन कमिटी काठमाण्डौ शाखाको सदस्य भएको ब्यहोरा उल्लेख थियो ।

अछामका एक जना नेताका अनुसार पत्रमा नेपाल बारको उक्त संगठन कमिटीलाई पार्टीले भूगोलको इलाका कमिटी सरह मान्यता रहेको लेखिएको थियो । नेकपा एमाले अछामले रावलको उक्त पत्रलाई दर्ता गरेर उनैको चाहना बमोजिम बयालपाटा इलाका कमिटीको सदस्यमा मनोनीत गरेको थियो । माथि उल्लिखित तथ्यका आधारमा भन्ने हो भने छैटौं महाधिवेशन अघि पार्टीको आन्तरिक जीवनमा भीम रावलको हैसियत इलाका कमिटीको सदस्य मात्र थियो ।

छैटौं महाधिवेशनका लागि अछामबाट रावल प्रतिनिधि चुनिए । संस्थापन पक्षको राजनीतिक दस्तावेजमा नेता वामदेव गौतमले प्रगतिशील सुधार सहितको कार्यनीतिक फरक मत दर्ता गराए । महाकाली सन्धि राष्ट्रघात हो भन्ने वामदेवको दस्तावेजलाई नेकपा एमालेको सेती अञ्चल कमिटीले सर्वसम्मतले पास गरेर महाधिवेशन हलमा लैजाने निर्णय गर्यो । सेती अञ्चलबाट अछामका पार्टी सचिव गोकुल खनाल, बाजुराका हिक्मतजंग शाही, बझाङका भानुभक्त जोशी, डोटीका नन्दलाल जोशी, कैलालीका मोहनसिंह राठौर फरक मतको पक्षमा उभिए ।

महाधिवेशनको हलमा पुग्दा कैलालीका मोहनसिंह राठौर भने संस्थापन पक्षमा लागेको बताइन्छ । नेता प्रदीप नेपालको भनाइमा लागेर राठौरले फरक मतको साथ छाडेको बामदेव पक्षधरले आरोप लगाएका थिए । छैटौं महाधिवेशनबाट नेकपा एमाले विभाजित भएर सहाना प्रधानको अध्यक्ष र वामदेव गौतम महासचिव रहेको नेकपा माले नामको अर्को पार्टीको जन्म भएको देखिन्छ ।

यसरी २०३६ साल देखि २०५४ सालसम्मको कालखण्डमा सुदूरपश्चिमको राजनीतिमा नेता भीम रावलको भूमिका र उनको स्थान के थियो भन्ने कुरा स्पष्ट हुन्छ । यस अवधिमा रावल कहिल्यै पनि कम्युनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ता नबनेको बरु करियर बनाउन ‘च्याँखे थाप्ने र दाउ छोप्ने’ प्रवृत्ति रावलमा रहेको उनका समकालीनहरु बताउछन । उनले आजकाल तीसदेखि पचासको दशकमा प्रख्यात राजनीतिज्ञ भएको दावी गर्दै आएका छन । तर त्यही बेला उनले कहिले नेपाल बारको प्रोजेक्ट अफिसर र कहिले युएन भोलियन्टरको जागिरमा कम्बोडिया गएर समय खर्च गरेको देखिन्छ ।

कुमार विक्रम शाहको अगुवाईमा त्रिभुवन विश्वविद्यालयको सिनासमा पनि रावलले जागिर गरेको उनकै समकालीनहरुले बताउने गरेका छन । उनले आफ्नो महत्व दर्शाउन करीब ४० बर्ष पुराना घटनाक्रमहरुमा झुठा अभिव्यक्ति दिनुले उनका तत्कालीन राजनीतिक सहकर्मीहरुपनि लज्जित बनेका छन ।

इतिहास सधैं जीवन्त रहेको हुन्छ । यो सत्य र तथ्यमा आधारित हुन्छ । इतिहासमा स्वयं व्यक्ति मात्र साक्षी हुँदैन । यो संग त घटनाक्रम देखेका, सुनेका र भोगेका अनेकौं पात्रहरु जोडिएका हुन्छन् । तसर्थ, भीम रावल जत्तिका राष्ट्रिय छवि बनाइसकेका नेताले विगतका सत्य र तथ्यलाई तोडमोड गरेर प्रस्तुत गर्नुले इतिहासको अपमान गरेको ठहर्छ । चेतना भया ।

साभार साँघुन्युज.कम




तपाईको प्रतिक्रिया दिनुहोस