एक बर्ष पोर्चुगल बसेका आप्रवासी बच्चालाई नागरिकता
पुलेसो ९ जेठ, २०७८, आईतबार २३:२७
लिस्वन । एक बर्ष अघिदेखि पोर्चुगल बस्दै आएका आप्रबासीका बाल बच्चाले पनि अबदेखि नागरिकता पाउने भएका छन् । यो नियम पोर्चुगल सरकारले भर्खरै ल्याएको हो । जुन संसदमा छलफल कै क्रममा छ ।

पोर्चुगलमा एक बर्षसम्म बसोबास गरेका आप्रवासीहरुका बच्चालाई नागरिकता उपलब्ध गराउन राष्ट्रियतासम्बन्धी कानुनमा संशोधन गरी संसदमा टेबुल भएको छ । यदि राष्ट्रियता कानुनमा गरिएको संशोधनलाई संसदले स्वीकृति दिएमा नयाँ कानुनमा टेकेर नागरिकता उपलब्ध गराउने छ ।
पोर्चुगल सरकारले नयाँ आउने कानुनमा आप्रबासीका बालबच्चा एक बर्षभन्दा बढि समय पोर्चुगलमा बैधानिक रुपमा बसेको हकमा नागरिकता दिने व्यवस्था गर्न लागेको हो । यस्तै, विदेशी नागरिकको बालबच्चा पोर्चुगलमा जन्मिएको आधारमा पनि नागरिकता दिने गरी कानुनमा संशोधन गर्न लागिएको हो ।
अहिलेसम्म बाबु अथवा आमामध्ये एकजना कम्तिमा २ बर्षसम्म बैधानिक रुपमा पोर्चुगल बसेको हुनुपर्ने व्यवस्था छ । सोही आधारमा अहिलेसम्म तिनका बालबच्चाले पोर्चुगलको नागरिकता पाउँदै आएका छन् । तर अब ल्याउन लागिएको नयाँ कानुनले त्यस्तो व्यवस्थालाई संशोधन गरी उक्त अवधिमा बाबु अथवा आमा कानुनी रुपले पोर्चुगलमा नबसेको अवस्थामा पनि तिनका बालबच्चाले नागरिकता पाउने छन् ।
यस्तै सरकारले पर्यटक भिषामा पोर्चुगल आएर भिषा अवधिमै बच्चा जन्माएको खण्डमा पनि त्यस्ता बच्चाले समेत नागरिकता पाउने छन् । उता, विभिन्न युद्धग्रस्त मुलुकबाट बेबारिसे अवस्थामा रहेका बाल बच्चालाई पोर्चुगल ल्याएर नागरिकता दिने सरकारी तयारी छ ।