Techie IT
×
२० जेठ, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठशिक्षाकोरोना तनावमा देखिएका मानसिक समस्या के हुन्? यस्ता छन् समाधानका ५ उपाय

कोरोना तनावमा देखिएका मानसिक समस्या के हुन्? यस्ता छन् समाधानका ५ उपाय


हामीसँग कोरोना भाइरस देखा पर्नुअघि पनि समस्याको कमी थिएन। भाइरस व्यवस्थापनपछि पनि धेरै समस्या जहाँको तहीँ रहने छन्।

समस्याले तनाव सिर्जना गर्छ। त्यसमाथि जब समस्याको हल थाहा हुन्न र त्यो हाम्रो हातमा पनि हुँदैन, तनाव झनै बढ्छ। आफ्नो नियमित दिनचर्यामा अभ्यस्त मान्छे जब महिनौंदेखि घरमा थुनिएर बस्नुपर्छ, एउटा निश्चित दैनिकीमा बाँधिन्छ, उसमाथि अर्को तनाव थपिन्छ।

हामीले दैनिक जीवनमा महशुस गर्ने तनाव सबै नराम्रो हुँदैन। धेरैजसो अवस्थामा तनावले समस्यासँग जुध्न र भविष्यमा होसियार रहन मद्दत गर्छ। यसको निम्ति तनावयुक्त्त परिस्थिति स्वीकार्नु र व्यवस्थापन गर्नु जरूरी छ।

अमेरिकी साइकियाट्रिक एसोसिएसनको सर्वेक्षणअनुसार कोरोना लकडाउनका कारण एकतिहाइभन्दा बढी अमेरिकीले मानसिक स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गरेका छन्। यो बेला मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूमा आफ्नो समस्या सुनाउने र समाधान खोज्नेहरूको दर ह्वात्तै बढेका समाचार आइरहेका छन्।

धेरैले चिन्ता र शारीरिक छटपटी बढेको, हृदयगति बढेको, पेटभित्र उकुसमुकुस हुने, एकाग्र हुन नसक्ने, स्मरणशक्ति घट्ने, पर्याप्त निन्द्रा नलाग्ने लगायत समस्या सुनाएका छन्। यी सबै तनावका लक्षण हुन्।

तनाव भनेको सामान्यतया डर, त्रास, अन्यौल र असुरक्षाको भावसँग जोडिएर आउँछ। यो शारीरिक, मानसिक वा दुवै किसिमको हुन सक्छ। लामो समय तनाव लुकाएर राख्दा मुटुरोग, उच्च रक्तचाप, मधुमेह, ब्रेन ह्यामरेजजस्ता शारीरिक रोग देखिन सक्छन्। मानसिक रूपमा डिप्रेसन, एङ्जाइटी, अनिद्रा, झर्किने, डराउने, चिड्चिडाहट हुनेजस्ता रोग देखिन सक्छन्।

तनाव धेरै लिँदा मान्छे छिटो बूढो हुने, छाला चाउरी पर्ने र उमेर ढल्किँदै गएपछि अल्जाइमर्स (स्मृति हराउने रोग) हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन्।

यस्तै समस्यालाई ध्यानमा राखेर अहिलेको समय तनाव व्यवस्थापनका पाँच उपाय म सुझाउन चाहन्छु।

१. शरीर र मनको अन्तरसम्बन्ध आत्मसात् गर्ने

धेरै मानिसले शारीरिक तथा मानसिक स्वास्थ्य फरक कुरा हुन् भन्ने भ्रम पालेर बसेका हुन्छन्। शारीरिक स्वास्थ्यको मात्र ख्याल गरे पुग्छ भन्ने आमबुझाइ पाइन्छ। यही बुझाइका कारण धेरैले आफ्ना मानसिक समस्या लुकाएर राख्छन्। त्यसबारे कुरा गर्दैनन्, समाधान खोज्दैनन्।

तनाव पनि मानसिक समस्याकै रूप हो। धेरै मान्छे यसबारे खुलेर कुरा गर्न चाहँदैनन्। म तनावमा छु भन्न हिच्किचाउँछन्। बाहिरबाट जतिसुकै हाँसेर बोले पनि भित्रभित्रै उसलाई तनावले खाइरहेको हुन्छ। यसले अन्तत: जटिल खालका शारीरिक तथा मानसिक समस्या देखिन्छ। ऊ लागुपदार्थको कुलतमा फस्नसक्छ। आत्महत्या गर्ने नौबतसम्म आउन सक्छ।

हामीले बारम्बार आफैंलाई के बुझाउन जरूरी छ भने कुनै पनि रोग शारीरिक वा मानसिक भन्ने हुँदैन। जुनसुकै रोगले हामीलाई शारीरिक तथा मानसिक रूपमा सँगसँगै कमजोर र शिथिल बनाउँदै लैजान्छ। रोगको यो प्रकृति आत्मसात् गरियो भने हामीलाई आफ्नो तनाव लुकाउन र छोप्न हुँदैन भन्ने चेत खुल्छ।

२. हरेक दिन एक-दुई घन्टा समय शारीरिक व्यायाम, योग र ध्यानका लागि छुट्टयाउनुस्

दीर्घकालीन स्वास्थ्य तथा खुसीका लागि दैनिक रूपमा गरिने शारीरिक व्यायाम, योग तथा ध्यानको ठूलो भूमिका हुन्छ।

दैनिक एक-दुई घन्टा शारीरिक व्यायाम, योग र ध्यान गरेर बिताउने मान्छेको तुलनामा केही नगरी बस्ने मान्छे २० वर्षभन्दा बढी छिटो बूढो हुने र अनेकथरी शारीरिक तथा मानसिक रोगको शिकार हुने विभिन्न अध्ययनले देखाएका छन्।

तनाव घटाउन र व्यवस्थापन गर्न पनि शारीरिक व्यायाम, योग र ध्यानलाई जीवनशैलीकै रूपमा विकास गर्नुपर्छ।

३. शारीरिक तथा मानसिक स्वास्थ्य र सोचमा आउने परिवर्तन ख्याल गर्नुहोस्

हामीले आफ्नो शरीर र मनले तनावलाई कसरी प्रतिक्रिया गरिरहेको छ भन्ने ख्याल गर्नुपर्छ।

निद्रा कम हुने, राति झसंग हुँदै ब्युँझने, बिनाकारण थाकेजस्तो हुने, चिड्चिडाहट हुने, झर्को लाग्ने, निराशता बढ्ने, यसै अत्तालिने, डर लाग्नेजस्ता लक्षण देखियो भने त्यो तनावको कारण हुन सक्छ। यस्ता लक्षण समयमै व्यवस्थापन नगरे रोगको रूप लिन सक्छ।

त्यसैले, हामीले तनावका कारण शारीरिक तथा मानसिक स्वास्थ्य र सोचमा आउन सक्ने परिवर्तनको ख्याल गर्नु जरूरी छ।

४. सामाजिक सञ्जाल, मोबाइल तथा टेलिभिजनमा बिताउने समय कम गर्नुस्

दैनिक रूपमा धेरै समय विद्युतीय स्क्रिनमा बिताउँदा त्यसले आफूभित्र चालै नपाउने गरी एक्लोपन विकास गरिदिन सक्छ। एक्लोपन र असुरक्षाको भावना महशुस गरिरहेका मानिसले सकेसम्म सामाजिक सञ्जाल र मोबाइलमा थोरै समय बिताएको राम्रो।

अध्ययनअनुसार विद्युतीय उपकरणमा धेरै समय बिताउँदा मान्छेसँग प्रत्यक्ष गरिने छलफलमा भन्दा मस्तिष्कको तीनदेखि पाँच गुणा बढी शक्त्ति खर्च हुन्छ। यसले हामी गलत समाचारको शिकार बन्न सक्छौं। त्यस्ता समाचारले पनि हाम्रो तनाव र एङ्जाइटी बढाउने काम गर्छ।

त्यसैले, सकेसम्म परिवारका सदस्यहरूसँग कुराकानी गरेर समय बिताउनु तनावबाट मुक्त हुने उपाय हो। त्यस्तो नभए सामाजिक सञ्जाल, मोबाइल, टेलिभिजनमा समाचारभन्दा रमाइला खालका कार्यक्रम वा फिल्म हेरेर समय बिताउनु होस्।

५. खाने, पिउने, सुत्ने कुरामा ख्याल गर्नुहोस्

तनाव भयो भनेर मान्छेहरू आफ्नो दैनिकी नै खल्बल्याउने गर्छन्। जबकि, तनाव बेला आफ्नो खाने, पिउने र सुत्ने कुरामा सबभन्दा पहिला ख्याल गर्नुपर्छ।

दिनमा कम्तिमा सात-आठ घन्टा सुत्नुहोस्। सुत्ने र उठ्ने समयको तालिका बनाउनुहोस्। रक्सी, चुरोट वा अरू लागुऔषध खाएर सुत्ने प्रयास नगर्नुहोस्। पर्याप्त मात्रामा पानी, सागसब्जी, फलफूल खाने बानी गर्नुहोस्। बेलुका ढिला गरेर खाने बानी नगर्नुहोस्।

तनावका कारण तपाईंको डर, एङ्जाइटी, बेचैनी नियन्त्रणभन्दा बाहिर जाँदै छ भन्ने लागेमा तपाईंले स्वास्थ्यकर्मी, मनोचिकित्सक वा परामर्शदाताहरूसँग सम्पर्क गरे हुन्छ।

(लेखक जगरनट माइन्डसेटका संस्थापक तथा मानसिक स्वास्थ्य विज्ञ हुन्।)




तपाईको प्रतिक्रिया दिनुहोस