कमलामाई(सिन्धुली) - कार्यालयको समयमा सधैँजसो सेवाग्राहीको बाक्लै चहलपहल हुने कमलामाई नगरपालिका, सिन्धुलीको कार्यालयमा गत आइतबार बाख्राको भीड लाग्यो । प्रायः सेतो र खैरो रङ्ग मिसिएका बोएर क्रस जातको बाख्रा आकर्षक पनि थिए ।
हेटौँडाको सिमल थली एग्रो फार्मबाट गाडीमा पाँच घण्टा लगाएर ती बाख्रा ल्याइएको थियो । कानमा पहेँलो रङ्गको मुद्रा (बीमा गरिएको सङ्केत नम्बर) लगाइएका ती बाख्रा गाडीभित्र कराउन थाले । नगर प्रमुख उपेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु देवकोटा, नगर पशु विकास शाखा प्रमुख रोशन कोइरालालगायतले गाडीमा रहेका ८३ वटा बाख्रा झारेर कार्यालय पछाडि रहेको खुल्ला जमिनमा चराउन थाले ।
सोही ठाउँमा कनपा–११ का वडाध्यक्ष रामबहादुर थिङ्ग र कनपा–१२ का वडाध्यक्ष भीमबहादुर गुर्मछानेले आ–आफ्नो वडामा रहेका विपन्न तथा एकल महिलालाई लिएर आए। नगर प्रमुख पोखरेल र उपप्रमुख देवकोटाले ४० जना लक्षित वर्गलाई चरिरहेका बाख्रा प्रदान गरे । उन्नत जातका बाख्रा पाएपछि किसानहरुले खुशी व्यक्त गरेका छन् ।
कनपा–१२ भ्याकुरेका देवीबहादुर आले मगरले बीमा गरिएको सङ्केत नम्बर ४८४७ र ४८७० को बाख्रा पाए । नगरबाट निःशुल्क बाख्रा पाउँदाको खुसी उनको अनुहारमा छरपष्ट छरिएको थियो । उनले भने, “व्यावसायिक रुपमा बाख्रा पाल्ने रहर थियो, किन्ने क्षमता थिएन । आज सरकारले दुई वटा बाख्रा दिएको छ, अब यसैलाई बढाउँदै धेरै बनाएर पाल्ने हो ।” अब बाख्रा पालनको लागि खोर बनाउन सहयोग गरिदिए सहज हुने उनले बताए ।
विपन्न तथा एकल महिलाको आर्थिक जीवनस्तर माथि उठाउन व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्ने नगरको प्राथमिक योजनामा छ । सोही योजनाअनुरूप चालु आर्थिक वर्षमा विपन्न लक्षित बाख्रा अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमका लागि चालु आवमा रु.६० लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेटले दुई सय आठ ओटा बाख्रा खरिद गरेर कनपाका पाँच वडामा वितरण गर्ने कार्य सुरु भएको पशु विकास शाखाका प्रमुख कोइरालाले जानकारी दिउ ।
विद्युतीय प्रणाली बिजक (इलेक्ट्रोनिक विलिङ) मार्फत रु ५९ लाख ८० हजारमा दुई सय आठ ओटा बाख्रा खरिद गरिएको थियो । त्यसमध्ये एक सय २८ ओटा बाख्रा वितरणको प्रक्रियामा छ । किसानलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहन गरेर जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने र विपन्न तथा एकल महिलालाई आर्थिक उपार्जनमा सबल बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।
नगर पशु विकास शाखाका अनुसार बोयर जातको बाख्राको पाठा–पाठी छिटो–छिटो बढ्ने र हुर्कने गर्दछन् । यसको तौल दैनिक दुई तीन सय ग्रामसम्म बढ्दै जान्छ । गाउँघरमा अन्य बाख्रा जस्तै गरी स्थानीय घाँस दाना खुवाएर पाल्न सकिन्छ । बाख्रा वितरणको लागि कमलामाई नगरपालिकाले मापदण्ड बनाएको छ ।
वितरण मापदण्डअनुसार वडा समितिले निर्णय गरेर, गरेको सिफारिसअनुसार उन्नत जातका बाख्रा वितरण भएको छ । वितरण गरिएका बाख्राको बसाई व्यवस्थापनको लागि खोर निर्माण र आहारा तथा पालनपोषणमा पनि सहयोग गर्ने लक्ष्य रहेको कनपा उपप्रमुख तथा नगर कृषि संयोजक मञ्जु देवकोटाले बताईन् । उनले भनिन्, “कृषि तथा पशुपालनको लागि वडा–वडामा प्राविधिक खटाएका छौँ । नगरले आगामी दिनमा आवश्यकताको आधारमा सहयोग गर्नेछ ।”
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।
हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।
‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...
झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।
एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...
प्रतिक्रिया