Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसिमेन्टको कृत्रिम मूल्य वृद्धि

सिमेन्टको कृत्रिम मूल्य वृद्धि


सिमेन्टको कच्चा पदार्थका रूपमा रहेको क्लिंकरको आयात प्रभावित भएपछि व्यापारीले कृत्रिम रूपमा मूल्य बढाएका छन् । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिंकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यसको धुलोले प्रदूषण भई मानव स्वास्थमा प्रतिकूल असर पर्ने भनी केही दिनदेखि रक्सौलवासीले अवरोध गर्दा क्लिंकर आयात नभएको मौका छोपी यहाँका बिक्रेताले कृत्रिम अभाव सिर्जना गरी स्टकमा रहेको सिमेन्ट बढी मूल्यमा बेच्दै कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो छ ।

घर बनाउन बजारमा सिमेन्ट किन्न जाँदा व्यापारीले तोकेको मूल्यभन्दा बढी मूल्य भनेकाले सिमेन्ट किन्न नसकिएको गुनासो गर्दै वीरगन्ज महानगरपालिका–२४ बहुअरीका कपिलदेव यादवले भने, ‘क्लिंकरको अभाव देखाएर स्टक गरेको सिमेन्ट बेच्ने व्यापारीलाई सम्बन्धित निकायले कारबाही गर्नुपर्छ ।’

व्यापारीले पहिलेदेखि गोदाममा स्टक गरी राखेको विभिन्न ब्रान्डको सिमेन्ट प्रतिबोरा १ सयदेखि २ सय ५० रुपैयाँसम्म बढी मूल्य राखेर बेच्ने गरेको छ । नेपाली सिमेन्ट उद्योगमा क्लिंकर अभाव देखिएपछि उत्पादन प्रभावित हुने भएकाले बिक्रेताले बढी मूल्यमा सिमेन्ट बेच्दा यसबाट सर्वसाधारण उपभोक्ता प्रभावित हुँदै आएका छन् ।

पर्सा र बारामा रहेका १३ वटा सिमेन्ट उद्योगले पहिलेकै मूल्यमा सिमेन्ट बिक्री गर्न बिक्रेतालाई आग्रह गरे पनि बिक्रेताले सिमेन्ट अभाव देखाएर बढी मूल्यमा सिमेन्ट बिक्री गरी उपभोक्तालाई ठग्दै आएका छन् ।

सिमेन्टको कच्चा पदार्थ क्लिंकरबाट वीरगन्ज भन्सार कार्यालयले वार्षिक ४ अर्ब राजस्व उठाउँदै आए पनि भारतीय पक्षले क्लिंकर आयतमा रोक लगाएपछि अहिले रक्सौलमा स्टक गरी राखिएको पुरानो माल मात्र आउने गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए ।

क्लिंकरले रक्सौलवासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै उनीहरूले क्लिंकर रक्सौलमा अनलोड नगरी सिधा वीरगन्जको सिर्सिया बन्दरगाहमा अनलोड गर्नुपर्ने माग राखी अवरोध गर्दै आएका छन् । रक्सौलको रेल्वे साइड छेउछाउको जग्गा नेपाल रेल्वेको हो र त्यहाँ भारतीय पक्षले अतिक्रमण गर्दै आएकाले नेपाली पक्षले सो जग्गा खाली गराउनुपर्ने वीरगन्जवासीको माग छ ।

भारतीय पक्षले रक्सौलमा क्लिंकर अनलोड गर्न नदिनुको रहस्य भने बेग्लै रहेको बुझिएको छ । पहिले पहिले भारतीय सिमेन्टको बिक्री नेपालमा बढी हुन्थ्यो । तर, नेपालमै सिमेन्ट उत्पादन हुन थालेपछि भारतीय सिमेन्टको माग घट्न थाल्दा नेपाली बजारमा पुनः आफ्नो पकड बनाउन भारतीय पक्षले क्लिंकर अनलोडमा समस्या ल्याएको सिमेन्ट व्यापारी बताउँछन् । क्लिंकर आयातको समस्याले सिमेन्टको मूल्य बढेको स्वीकार्दै वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्योगी प्रदीप केडियाले समस्या समाधान गर्नतर्फ नेपाल सरकारले ध्यान नदिएकाले यो झन बढ्न सक्ने बताए ।

भारतीय रेल्वे सेवा निगमले वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा क्लिंकर पु¥याउने सम्झौता नभएको भनी पन्छिँदै आएको आरोप लगाउँदै वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधवराज पालले भने, ‘भारतीय पक्षले यसमा राजनीति गर्न खोजेको छ, जसको कारण नेपाली उद्योग प्रभावित भएको छ ।’ यता वीरगन्जस्थित सुक्खा बन्दरगाह वरपरका बासिन्दाले पनि क्लिंकर सुक्खा बन्दरगाहमा अनलोड गर्दा पनि प्रदूषण हुने भनेर विरोध गर्दै आएका छन् । सिमेन्ट उद्योगीले नेपालगन्ज, विराटनगर नाका भएर क्लिंकर आयात गर्दा महँगो पर्ने भएकाले रक्सौल नाका भएर क्लिंकर ल्याउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस