Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारचिनीमा भन्सार वृद्धिको तयारी

चिनीमा भन्सार वृद्धिको तयारी


 पछिल्लो समय मुलुकभित्रका चिनी उद्योग धराशयी अवस्थामा पुगेको भन्दै सरकारले आयातीत चिनीमा भन्सार महशुल बढाउने तयारी गरेको छ । अन्तरराष्ट्रिय बजारमा चिनीको मूल्यमा कमी आएसँगै स्वदेशी चिनी उद्योगले अन्तरराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उद्योगीहरूले गरेको मागलाई सम्बोधन गर्न सरकारले चिनीको भन्सार महशुल बढाउने तयारी गरेको हो । अहिले चिनीमा १५ प्रतिशत भन्सार लाग्ने गरेको छ । त्यसलाई बढाएर ३५ प्रतिशत पुर्‍याउने तयारी भइरहेको आपूर्ति मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार यस विषयमा अन्य मन्त्रालयसँग छलफल भइरहेको छ ।

चिनीको भन्सार महशुल बढाउँदा चिनी उद्योगी र उखु किसानलाई फाइदा पुगे पनि उपभोक्ताले भने चिनीको मूल्य बढी तिनुपर्ने छ । यसअघि कृषि विकास मन्त्रालयले विदेशबाट आयात गरिने चिनीमा भन्सार बढाउन विभिन्न निकायसँग छलफल गरेको थियो । स्वदेशमै उत्पादित उखुको बजार सुनिश्चित गर्न र आन्तरिक उत्पादनलाई बढाउन भन्दै मन्त्रालयले वाणिज्य, आपूर्ति, उद्योग र अर्थ मन्त्रालयलाई आयातित चिनीमा भन्सार महशुल बढाउन पत्राचारसमेत गरिसकेको कृषि विकास मन्त्रालय स्रोतले बताएको हो । मन्त्रालयको पत्रमा अन्य सरोकारवाला मन्त्रालय पनि सकारात्मक देखिएपछि चिनीको मूल्य बढ्ने अनुमान गरिएको हो । नेपाल चिनी उद्योग सङ्घले पनि आयातित चिनीमा ५० प्रतिशतसम्म भन्सार महशुल बढाउन मन्त्रालयसँग पटकपटक माग राख्दै आएको थियो ।

ती मागलाई सम्बोधन गर्ने उद्देश्यले अन्य मन्त्रालयसँग समन्वय गर्ने काम अघि बढाइएको कृषि विकास मन्त्रालयको भनाइ छ । गत कात्तिक ८ गते सङ्घले कृषि विकास मन्त्रालयमा आयातीत चिनीमा भन्सार महशुल बढाउन माग गर्दै पत्र पठाएको थियो । सङ्घले अन्य सम्बद्ध मन्त्रालयमा पनि सो विषयमा पत्राचार गरिसकेको बताइएको छ ।

कृषि विकास मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारीका अनुसार नेपालका उखु उत्पादक किसानको संरक्षण गरी स्वदेशी कृषिजन्य उद्योगलाई धराशयी हुनबाट जोगाउन मन्त्रालयले आयात शुल्क वृद्धिका लागि पहल गरेको बताए । तर, चिनी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अर्थात् उखुको आयात रोक्ने वा शुल्क बढाउने विषयमा भने मन्त्रालयले चासो देखाएको पाइँदैन । पछिल्लो समय भारतबाट अवैध रूपमा उखु नेपाल भित्रिँदा आन्तरिक उत्पादन खपतमा समस्या देखिने गरेको छ ।

नेपालमा उत्पादित चिनीले कुल मागको करीब ४० प्रतिशत माग धान्दै आएको छ । ६० प्रतिशत आयातित चिनीमा ३५ प्रतिशतसम्म भन्सार महशुल लगाउँदा प्रतिकिलो चिनीको मूल्य रू. १ सयभन्दा बढी पुग्ने अनुमान छ । चालू आवमा नेपालमा उखुको उत्पादन करीब २५ प्रतिशतले बढ्ने अनुमान गरिए पनि भारतलगायत तेस्रो मुलुकबाट सस्तो चिनी आयात गरिँदा स्वदेशी चिनीको विक्रीमा प्रतिकूल असर पर्ने देखिन्छ ।




तपाईको प्रतिक्रिया दिनुहोस