Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमुख्यमन्त्रीहरुको टुंगो लगाउन वाम कार्यदलको बैठक भोलि

मुख्यमन्त्रीहरुको टुंगो लगाउन वाम कार्यदलको बैठक भोलि


राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकार गठनमा सहमति जुटाउने जिम्मेवारी पाएको वाम गठबन्धनको कार्यदल बैठक आइतबार बिहान बस्ने भएको छ।

प्रदेश सरकार गठनमा मुख्यमन्त्री बाँडफाँट गर्न शीर्ष नेताले दिएको निर्देशन अनुसार एमाले र माओवादी केन्द्रको कार्यदलले आइतबार बिहान छलफल गर्नेछ। बैठक सिंहदरबारस्थित एमाले पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ।

राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँट सहमतिमै टुंगो लगाएको कार्यदललाई वाम गठबन्धनका शीर्ष नेताले प्रादेशिक सरकार गठनको समेत जिम्मेवारी दिएको छ।

कार्यदलको यसअघिको बैठकले प्रदेश सरकार निर्माणको मापदण्ड तय गरेको थियो।

प्रदेशमा दलगत स्थिति, एकताको स्पिरिट, योग्यता र सन्तुलनलाई केन्द्रमा राखेर कार्यदलले प्रदेश मुख्यमन्त्रीको भागबन्डा गर्नेछ। त्यस्तै, प्रदेशको सभामुख, उपसभामुख तथा मन्त्रीहरु लगायत अन्य विषयमा समेत सहमति जुटाउनेछ।

कार्यदलको यसअघिको बैठकले जम्मा सदस्य संख्याको १० प्रतिशतको मात्र प्रादेशिक मन्त्रिमण्डल बनाउने सहमति गरेको थियो। संघीय सरकारको निर्माणसँगै धेरै आर्थिक व्ययभार राज्यलाई पर्ने भन्दै कार्यदलले बढीमा जम्मा सदस्य संख्याको १० प्रतिशत मात्रको मन्त्रिमण्डल गठन गर्ने सहमति गरेका छन्।

एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले आइतबार बिहान कार्यदल बैठक बस्ने जानकारी दिँदै दुवै दलले प्रदेश सरकार निर्माणमा अनौपचारिक संवाद प्रक्रिया अघि बढाएको र सहमतिमै त्यसको समेत टुंगो लगाउने नेपाल लाइभलाई बताए।

वाम गठबन्धनका शीर्ष नेताद्वय एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार निर्माणको गृहकार्य अगाडि बढाउन कार्यदल सदस्यलाई शुक्रबार निर्देशन दिएका थिए।

शीर्ष नेताको निर्देशन अनुसार प्रादेशिक सरकार र विभिन्न पदको भागबन्डा गरिने एक कार्यदल सदस्यले जनाए।




तपाईको प्रतिक्रिया दिनुहोस