अब ६५ वर्षमै वृद्धभत्ता पाइने
पुलेसो १५ माघ, २०७७, बिहीबार ७:०९
मन्त्रिपरिषद्को बुधबारको बैठकले सामाजिक सुरक्षाका रूपमा ज्येष्ठ नागरिकलाई दिँदै आएको वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका लागि गरेको यो निर्णयले राज्यकोषमा करोडौं व्ययभार थपिनेछ।अहिलेसम्म सरकारले ७० वर्ष उमेर पुगेका नागरिकलाई मासिक एक हजार सामाजिक सुरक्षा भत्ता र एक हजार औषधि उपचार खर्च गरी दुई हजार दिँदै आएको थियो ।
अर्थ मन्त्रालयका अनुसार सामाजिक सुरक्षा भत्तामा हाल वार्षिक ३६ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ। यसअघि ७० वर्ष पुगेका वृद्धवृद्धा, एकल महिला, अपांगलगायतले मासिक २ हजार र दसैं खर्चसमेत वार्षिक २६ हजार रुपैयाँ बुझ्दै आएका थिए। सामाजिक सुरक्षा भत्ताको व्यवस्था तत्कालीन मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले ०५१ सालमा गरेको हो।
सरकारका प्रवक्ता सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ता पाउने उमेर घटाएर ६५ वर्षमा झार्ने निर्णय गरिएको जानकारी दिए।यसैगरी, सरकारले बाढीपीडित तथा भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। हाल भूकम्पपीडितले अनुदानबापत ३ लाख रुपैयाँ पाउँदै आएका थिए। सरकारको निर्णयसँगै भूकम्पपीडितले अब अनुदानस्वरूप ४ लाख रुपैयाँ पाउने भएका छन्।