Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन


त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ । शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो । तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन्न गर्न सकेका छैनन् । नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन । व्यवस्थापन संकायको डिन कार्यालय सबैभन्दा पछाडि परेको छ । त्रिविले स्नातकोत्तर तहमा केन्द्रीय विभागबाट सुरु गरेको सेमेस्टर प्रणाली उपत्यकाका आंगिक क्याम्पस कार्यान्वयन गरेको छ । तर, डिन कार्यालयले भने शैक्षिक क्यालेन्डरअनुसार जिम्मेवारी पूरा गर्न सकेका छैनन् ।

व्यवस्थापन, मानविकी र साइन्समा समस्या
शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको, तर सबैले त्यसलाई कार्यान्वयन गर्न नसकेको बताइन् । गत वैशाखदेखि उपत्यकाका आंगिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गर्ने क्यालेन्डर दिए पनि कतिपयले ढिला गरी गरेको उनको भनाइ छ । ‘वैशाखदेखि सुरु गर्नुपर्नेमा कतिपयले असारबाट कक्षा सुरु गरे र अहिलेसम्म पूरा गर्न सकेका छैनन्,’ त्रिपाठीले भनिन् ।

डिन कार्यालयहरूमा अहिले सबैभन्दा पछाडि व्यवस्थापन संकायको डिन कार्यालय परेको छ । आंगिक क्याम्पसमा भर्नाको समयमा देखिएको विवादलगायतका कारण पनि क्यालेन्डर कार्यान्वयन गर्न नसकिएको हो । त्रिपाठीका अनुसार ६ महिनामा परीक्षा लिइसक्नुपर्ने र अर्को सेमेस्टर सुरु भएपछि नतिजा सार्वजनिक हुनुपर्ने थियो ।

व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्ली शर्माले उपत्यकाका आंगिक क्याम्पसमा पहिलोपटक सुरु भएकाले कतै दुईपटक प्रवेश परीक्षा, ओरियन्टेसनलगायतका कारण केही ढिलाइ भएको बताए । ‘व्यवस्थापनमा धेरै विद्यार्थी भएको र प्राविधिक कुरा मिलाउनुपरेकाले केही ढिलाइ भयो, अब परीक्षा छिटै सकिन्छ,’ उनले भने । वैशाखबाट प्रथम सेमेस्टरको पढाइ सुरु गरेको साइन्सको डिन कार्यालयले गत भदौदेखि परीक्षा लिन सुरु गरेको थियो । उसले केही समयअघि मात्र सम्पन्न गरेको छ । साइन्सका १३ विषयमध्ये पाँच विषयको परीक्षा गत भदौ महिनामा सम्पन्न भएकामा अरू बाँकी विषय आठौँ महिनामा सकिएका थिए । मानविकी संकायमा पनि उस्तै समस्या छ । वैशाखबाट सुरु भएको सेमेस्टर गत ३ माघमा मात्र सम्पन्न भएको थियो ।

एउटै क्यालेन्डर बनाउने प्रयास
विद्यार्थीहरू अन्योलमा परेपछि डिन कार्यालयहरूले एउटै क्यालेन्डर बनाउने प्रयास सुरु गरेका छन् । अहिले नयाँ प्रथम सेमेस्टरको भर्ना प्रक्रिया सबैले एकैपटक सुरु गरेका छन् । व्यवस्थापन संकायका डिन शर्माले एकैपटक प्रक्रिया सुरु गरेकाले अब क्यालेन्डर मिल्ने बताए । समयमै परीक्षासमेत लिन नसकेको त्रिविले नतिजा सार्वजनिकमा समेत ढिलाइ गर्दै आएको विद्यार्थीको गुनासो छ । त्रिविले गुणस्तर सुधारका लागि भन्दै त्रिविका केन्द्रीय विभागहरूबाट स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गरेको थियो । आगामी शैक्षिक सत्रबाट देशभरका आंगिक क्याम्पसमा सेमेस्टर सुरु गर्ने त्रिविको योजना छ । नयाँ पत्रिका दैनिकबाट




तपाईको प्रतिक्रिया दिनुहोस