के के बिषयामा छलफल भयो वाम गठबन्धनको बैठकमा?
पुलेसो १२ माघ, २०७७, सोमबार १०:४७
नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री र सभामुख फरक–फरक दलले लिने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओलीको भक्तपुरस्थित निवासमा आज बसेको पार्टी एकता संयोजन समितिको बैठकले एमालेले मुख्यमन्त्री लिए माओवादीले सभामुख र माओवादीले मुख्यमन्त्री लिए एमालेले सभामुख लिने निर्णय गरेको हो ।
कुन प्रदेशमा कसले के लिने भन्ने निर्णय नभएपनि प्रदेशका दुई मुख्य पद फरक–फरक दलले लिने निर्णय भएको नेताहरुले जानकारी दिए । एमाले नेता सुवास नेम्वाङ नेतृत्वको कार्यदलमा एमालेले चार र माओवादीले दुई मुख्यमन्त्री लिने गरी छलफल भइरहेको छ । कमजोर रहेका कारण वाम गठबन्धनले दुई नम्बर प्रदेशबारे भने छलफल गरेका छैनन् ।
राष्ट्रियसभाको ४३ सिटमध्ये २९ एमाले र १४ माओवादीले लिने कार्यदलको सहमति अनुमोदन गरेको बैठकले नयाँ सरकारको सुशासन र विकासका प्राथमिकताबारे सुझाव दिन एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । बैठकमा पार्टी एकताबारे छलफल भएपनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।
यसबारे एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले थप गृहकार्य गर्ने बताइएको छ । दुई अध्यक्षबीच छलफल भएपछि समितिको बैठक बस्ने र संगठन तथा वैचारिक विषयमा गृहकार्य गर्न कार्यदल बनाउने समझदारी भने भएको छ ।