Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसरस्वती पूजा, सुरुवात र महत्व

सरस्वती पूजा, सुरुवात र महत्व

लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् ।


आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । वसन्त पञ्चमी हिन्दूहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वती सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्दै विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उल्लाससित मनाइन्छ ।

यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् ।ब्रह्मा भिभर्त पूराणुमा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन्र । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरुमा त आज विशेष रमझम रहन्छ, तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ ।

विद्यार्थीहरुकालागि आजको अर्को रौनकता भने आजको दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देखिन्छ ।

काठमाडौमा बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका धेरै मन्दिर अनि विधाको केन्द्र विधालयहरुमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मुर्ति जसलार्इ वुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

नेपाल अधिराज्य भरिको धेरैजसो सरकारी विद्यालयहरुमा कहिँ कतै सानो या ठूलो सरस्वतीको मन्दिर रहेकौ छ । सरस्वती देवीलाई हिन्दू धर्म या संस्कारसंग भन्दा पनि मानवहरुको विद्याप्रतिको आशक्तिकारुपमा हेर्न जरुरी छ, हामी जुनसुकै धर्म या विश्वासको भएपनि हाम्रो विधासँगको नाता र ज्ञानको परिपूर्तिकारुपमा विधादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।

आजकै दिनमा हामीमध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा मूल्य सहि पाउन्, जाँङ्गर लागिरहोस अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दुर होस् ।

लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैब साथ दिउन्, ए बि सि डि आदिका अक्षरस प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् । मुख्य कुरा श्रृगांर रसले जिवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।।।




तपाईको प्रतिक्रिया दिनुहोस