Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयस्तो रणनीति लिँदै दुई मधेसवादी दलका साथ तालमेल : कांग्रेस

यस्तो रणनीति लिँदै दुई मधेसवादी दलका साथ तालमेल : कांग्रेस


राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् । माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन् । बालुवाटारमा शनिबार बसेको तीन दल बैठकमा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले ५६ सिटका लागि हुने निर्वाचनमा वाम गठबन्धन ४२, कांग्रेस १० र फोरम-राजपाले ४ सिट जित्ने तथ्यांक प्रस्तुत गरेका थिए ।

 

चुनावी सहकार्यका विषयमा भएको छलफलले सोमबारसम्म अन्तिम रूप पाउने कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले बताए । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनलगायत विषयमा तीन दलबीच प्रारम्भिक कुराकानी भएको उनले जानकारी दिए । ‘प्रदेश २ र अन्य प्रदेशमा के-कसो गर्ने भन्ने अनुमानित तथ्यांकमा गृहकार्य अघि बढेको हो । आइतबार एजेन्डागत रूपमा छलफल हुनेछ’, उनले भने।

 

मिलेर चुनाव लड्दा प्रदेश २ मा धेरै सिट हासिल गर्न सकिने निष्कर्षसहित आइतबार निर्णायक वार्ता गर्न लागिएको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । ‘मुलुकको विद्यमान राजनीतिक र राष्ट्रियसभा चुनावको विषयमा सामान्य छलफल भए पनि टुंगो लागेको छैन । आ-आफ्नो दलमा परामर्श गरी आइतबार पुनः बस्ने निर्णय भएको छ’, श्रेष्ठले भने । राजपा महासचिव केशव झाले बैठक सकारात्मक भएको टिप्पणी गरे । ‘राष्ट्रियसभामा मधेसी र कांग्रेसबीच चुनावी एकता निकट छ’, उनले भने ।

 

प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्री शेरबहादुर देउवा केही उदार देखिएको र प्रदेश २ मा आफ्ना मागप्रति कांग्रेस लचक देखिएकाले राष्ट्रियसभामा कांग्रेससँगै तालमेल हुने फोरमका एक नेता बताउँछन् । कांग्रेसले प्रारम्भमा प्रदेश २ मा मात्र भने पनि पछि प्रदेश ५ को प्रमुख मधेसी दलकै सिफारिसमा दिनु सकारात्मक उपलब्धि रहेको उनले बताए ।

 

वाम गठबन्धनले पनि राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का ६ सिटमा फोरम-राजपासँग तालमेल गर्न चाहेको छ । यस प्रकारको वार्ता राजपाका नेता राजेन्द्र महतोमार्फत भइरहेको स्रोतले जनाएको छ । प्रदेश २ बाहेक १, ५ र ७ मा पनि मधेसी गठबन्धनमा आबद्ध दुई दलका केही मत रहेकाले यस्ता मतले उनीहरू आफैंले कुनै सिट नजिते पनि कांग्रेसलाई केही सिट दिलाउन सक्ने भएकाले फोरम-राजपालाई प्रदेश प्रमुख दिएर खुसी पारेको दाबी कांग्रेसका नेताहरूको छ ।

 

कांग्रेसले दुई मधेसवादी दलका साथै नयाँ शक्ति पार्टी र राप्रपासँग सहकार्य गरेर राष्ट्रियसभामा केही सिट थप्ने रणनीति लिँदै ती दलका नेतासँग पनि अनौपचारिक वार्ता थालेको छ । शनिबार भएको तीन दलीय वार्तामा कांग्रेस नेता विमलेन्द्र निधि, डा. रामशरण महत, मीनेन्द्र रिजाल, उमाकान्त चौधरी र आनन्दप्रसाद ढुंगाना, फोरमबाट राजेन्द्र श्रेष्ठ, रामसहाय यादव र रेणु यादव, राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, वृजेशचन्द्र लाल र केशव झा सहभागी थिए ।

चुनावी आकलन

प्रदेश १ वाम गठबन्धन – ६, कांग्रेस -२,

प्रदेश २ वाम गठबन्धन – २, कांग्रेस – २ र  राजपा – ४

प्रदेश ३ वाम गठबन्धन – ६, कांग्रेस – २ (तालमेल भए)

प्रदेश ४ वाम गठबन्धन – ६, कांग्रेस –  २

प्रदेश ५ वाम गठबन्धन – ६, कांग्रेस –  २,

प्रदेश ६ वाम गठबन्धन –  ८, कांग्रेस –  ०

प्रदेश ७ वाम गठबन्धन – ६, कांग्रेस – २

अननपूर्ण पोष्ट




तपाईको प्रतिक्रिया दिनुहोस