Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारओली र दाहाल बीच पार्टी एकता आज दुवै नेताबीच ‘निर्णायक वार्ता’ हुने

ओली र दाहाल बीच पार्टी एकता आज दुवै नेताबीच ‘निर्णायक वार्ता’ हुने


एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता अन्तिम चरण शनिबार दुवै नेताबीच ‘निर्णायक वार्ता’ हुनेछ ।

 

एमाले सचिव प्रदीप ज्ञवालीले बताए अनुसार राष्ट्रिय सभाको सिट बाँडफाँड, प्रदेश सरकार गठन र एकीकृत पार्टीको सांगठनिक ढाँचामा केन्द्रित दुई प्रमुख नेताबीचको वार्ता निर्णायक चरणमा पुगेको हो ।

 

स्वास्थ्य उपचार गरेर बैंककबाट ओली बिहीबार फर्किएलगत्तै दुई नेताबीच लामो कुराकानी भएको हो । माओवादी नेता वर्षमान पुनले पनि छलफल धेरै सकारात्मक रहेको र निर्णायक मोडमा पुगेको प्रस्ट संकेत गरे । ‘उहाँहरूबीच करिब तीन घन्टा धेरै सकारात्मक छलफल भएको बुझिएको छ, अब छिटै सकारात्मक परिणाम आउने अपेक्षा गर्न सकिन्छ,’ उनले भने ।

 

छलफलका तीन एजेन्डा
वाम कार्यदलले राष्ट्रिय सभा गठनका विषयमा दिएको प्रतिवेदन, प्रदेश सरकार गठन र पार्टी एकताका विषयमा छलफल भएको ओलीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ती एजेन्डासँग सम्बन्धित छलफललाई अन्तिम रूप दिन शनिबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

 

सिट बाँडफाँड टुंगियो :  प्रदेश सरकारबारे छलफल
ओली र प्रचण्डले वाम गठबन्धनद्वारा गठित कार्यदलले तयार पारेको राष्ट्रिय सभाको सिट बाँडफाँडलाई अन्तिम रूप दिएका छन् । गठबन्धनका तर्फबाट ४३ सिटमध्ये एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिने कार्यदलले टुंगो लगाएको थियो । ‘कार्यदलले राष्ट्रिय सभा गठनका विषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रूप दिने निर्णय भएको छ,’ वार्तापछि ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने ।

 

मुख्यमन्त्री र सभामुखबारे यस्तो छलफल
एमाले र माओवादी केन्द्रले पहिलो चरणमा प्रदेश सरकारको मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा मन्त्रीहरूको सिट बाँडफाँड टुंग्याउने गरी छलफल अघि बढाएका छन् । प्रदेश सांसदहरूले आइतबार शपथ लिएलगत्तै प्रदेश सरकार गठन प्रक्रिया अघि बढ्ने भएकाले पहिलो चरणमा ती पदको भागबन्डा टुंग्याउने गरी छलफल अघि बढेको हो ।

 

६ वटा प्रदेशमध्ये एमालेले १, ३, ४ र ५ सहित चार र माओवादी केन्द्रले ६ र ७ सहित दुईवटा प्रदेशको मुख्यमन्त्री लिने गरी छलफल अघि बढेको छ । एमालेमाथि प्रदेश ६ को मुख्यमन्त्री छाड्न नहुने दबाब छ भने माओवादीभित्र उसले मुख्यमन्त्री पाएका प्रदेशमा सभामुख छाड्न नहुने दबाब छ । एमालेले पार्टीका धेरै नेता व्यवस्थापन गर्नुपर्ने भएकाले ४ र ५ बाहेक चारवटा प्रदेशमा सभामुख लिने, तर माओवादीलाई चारवटै स्थानमा उपसभामुख दिन सकिनेसम्मको विकल्प पनि छलफलमा राखेको छ । ओली र प्रचण्डबीच यिनै विकल्पमा केन्द्रित रहेर शुक्रबार छलफल भएको स्रोतले जनाएको छ । ‘शपथलगत्तै प्रदेश सरकार गठन प्रक्रिया सुरु हुने भएकाले उहाँहरूबीच त्यसैमा छलफल केन्द्रित भयो,’ ओलीका प्रेस संयोजक अधिकारीले भने ।

 

तर, माओवादी नेता वर्षमान पुनले भने वाम कार्यदलमा प्रदेश सरकार गठनको एजेन्डा प्रवेश भइनसकेको बताए । ‘अनौपचारिक तहका कुरा हुन सक्छन्, तर कार्यदलमा औपचारिक छलफल भइसकेको छैन, अबको बैठकमा छलफल हुन सक्छ,’ उनले भने । नँया पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस