गृहपृष्ठ ∕
समाचार ∕
बोलिभियाको कोकिन नेपाल ‘ट्रान्जिट’ हुँदै युरोपसम्म बोलिभियाको कोकिन नेपाल ‘ट्रान्जिट’ हुँदै युरोपसम्म
पुलेसो १० माघ, २०७७, शनिबार ७:४४
दक्षिणी अमेरिकी मुलुक बोलिभियामा उत्पादित लागुऔषध कोकिन नेपाल ‘ट्रान्जिट’ बनाएर युरोप लैजाने गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र बोलिभियाबाट ल्याइएका ८.२०३ केजी कोकिन नेपाल ‘ट्रान्जिट’ बनाएर युरोप लैजाने क्रममा बरामद गरेपछि यो तथ्य खुलेको हो । सो परिमाणको कोकिन तेस्रोपटकको अप्रेसनपछि बरामद गरेको ब्युरोले जनाएको छ ।
करिब साढे १६ करोड मूल्यको कोकिन बरामद
प्रहरीले एक वर्षभित्र बरामद गरेको आठ केजी कोकिनको अनुमानित मूल्य १६ करोड ४० लाख ६० हजार रुपैयाँभन्दा धेरै पर्छ । बरामद गरिएका सबै कोकिन नेपाललाई ‘ट्रान्जिट’ बनाउँदै युरोप लैजान लागिएको प्रहरीको भनाइ छ । ब्युरो प्रमुख डिआइजी ठुले राईले बोलिभियाको लागुऔषध कोकिन नेपाल हुँदै तेस्रो मुलुक लैजाने गरेको तथ्य भेटिएको बताए । ‘एक वर्षभित्र तीनवटा कोकिन कारोबारी पक्राउ भए, सबैमा बोलिभियन नागरिक संलग्न भएको पाइयो । ती कोकिन बोलिभियाबाटै आउने र युरोप जाने गरेको भेटिएको छ,’ उनले भने ।
ब्राजिल हुँदै नयाँदिल्लीबाट नेपाल आउँछ कोकिन
प्रहरीका अनुसार कारोबारीले बोलिभियन लागुऔषध युरोप लैजान ब्राजिल, इथोपिया, भारतको दिल्ली, नेपाल र थाइल्यान्डको रुट प्रयोग गर्ने गरेका छन् । बिहीबार ठमेलबाट पक्राउ परेका बोलिभियन नागरिक ममनी अन्डाई बोलिभियाबाट ब्राजिल हुँदै इथोपिया, भारतको नयाँदिल्ली हुँदै नेपाल आएका थिए । थाई नगरिक खुलन्जाई खनरतमार्फत करिब दुई केजी कोकिन थाइल्यान्ड लैजाने तयारीमा थिए । थाइल्यान्डबाट सो कोकिन युरोप लैजान लागिएको प्रहरीको भनाइ छ । ‘ठमेलबाट बरामद कोकिन बोलिभियाबाट ब्राजिल हुँदै इथोपिया, नयाँदिल्ली हुँदै नेपाल ल्याएर थाइल्यान्डको बाटो भएर युरोप लैजाने तयारी रहेको अनुसन्धानबाट खुलेको छ,’ ब्युरो प्रमुख डिआइजी राईले भने ।
बोलिभियाबाट नेपाल ल्याएको कोकिनको ज्याला तीन लाख
बोलिभियाबाट नेपालसम्म कोकिन ल्याउँदा लागुऔषध कारोबारीले तीन हजार अमेरिकी डलर अर्थात् तीन लाख रुपैयाँ ज्याला लिने गरेको खुलेको छ । बिहीबार ठमेलबाट बरामद भएको करिब दुई केजी कोकिन बोलिभियाबाट नेपालसम्म ल्याउँदा आफूले तीन हजार डलर शुल्क लिएको बयान फ्रेडी ममनी अन्डाईले ब्युरोलाई दिएका छन् । बोलिभियाबाट लागुऔषध तस्करले सात दिनमा नेपालसम्म कोकिन ल्याइपुर्याउने गरेका छन् ।
कुन मितिमा कति लागुऔषध बरामद ?
२०१३
गाँजा– २३,८०७.९९ केजी
चरेस– १,९३१.३६ केजी
हेरोइन– १२.४२ केजी
अफिम– ९.३८६ केजी
२०१४
गाँजा– ६,९१०.१९ केजी
चरेस– २,०५३.९३ केजी
अफिम– ३३.९५ केजी
हेरोइन– ३.८११ केजी
२०१५
गाँजा– ६,६४५.९३ केजी
चरेस– १,५१२.९२ केजी
अफिम– ९.८३ केजी
हेरोइन– ६.३४ केजी
२०१६
गाँजा– ४,४१३.१६ केजी
चरेस– १,९९३.८३ केजी
अफिम– ६४.१९ केजी
हेरोइन– ३.७६ केजी
२०१७
गाँजा– ३,६१५.६२ केजी
चरेस– १,३४७.८५ केजी
अफिम– ५२.२३ केजी
हेरोइन– ३.९७ केजी
कोकिनसहित दुई पक्राउ
लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार ठमेलबाट करिब दुई केजी कोकिनसहित बोलिभियन नागरिक फ्रेडी ममनी अन्डाई र थाई नागरिक खुलन्जाई खनरत पक्राउ गरेको छ । तीन हजार अमेरिकी डलर पाउने आसमा फ्रेडी कोकिन नेपाल ल्याउन राजी भएका थिए । उनले सुटकेसको फल्सबटमभित्र लुकाएर कोकिन ल्याएका थिए ।नँया पत्रिका