कांग्रेसकै कार्यकर्ताद्वारा सरकारको विरोध
पुलेसो ९ माघ, २०७७, शुक्रबार १३:०५
दाङको तुलसीपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले सरकारको विरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । बिहीबार अपराह्न भेला भएका कांग्रेस कार्यकर्ताले देउवाको पुत्ला जलाएका हुन् ।
आन्दोलनकारीहरूले प्रधानमन्त्री देउवाको चर्को विरोध गर्नुका साथै सरकारको समेत विरोध गरेका थिए । प्रदेश ५ को राजधानी दाङमा हुनुपर्ने माग गर्दै कांग्रेस कार्यकर्ताले उत्तेजनात्मक नारा गलाउँदै तुलसीपुरको वीरेन्द्र चोकमा प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।
पुत्ला दहनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता एकराज खड्काले नालायक सरकारले गरेको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी रहेन घोषणा गरे । सरकारविरुद्ध जनता सडकमा स्वतःस्फूर्त रूपमा उत्रिएको भन्दै उनले निर्णय पुनर्विचार नगरे देउवा सरकारले ठूलै मूल्य चुकाउनुपर्ने चेतानवी दिए ।
यसैबीच, राजधानीको माग गर्दै गरिएको दाङ बन्दका कारण यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ । आन्दोलनकारीहरूले आह्वान गरेको अनिश्चितकालीन बन्दको घोषणापछि यहाँको जनजीवन झनै कष्टकर बन्न थालेको हो । दाङमा अस्थायी राजधानी तोकिनुपर्ने माग गर्दै २ माघदेखि भएको आन्दोलन बुधबारदेखि झनै चर्किएको छ ।
सरकारले बनाएको प्राविधिक समितिले तयार पारेको प्रतिवेदनलाई लत्याएर अस्थायी राजधानी तोकेको भन्दै दाङका राजनीतिक दल, राजधानी सरोकार समिति, उद्योग वााणिज्य संघ, नागरिक समाजलगायतका सरोकारवाला सडकमा उत्रिएका छन् । आन्दोलनकारीहरू सडकका चोकचोकमा जम्मा भएका कारण दाङका मुख्य सहर तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुबाङ बजार पूर्ण बन्द छन् भने सवारी आवागमन पूर्ण रूपमा ठप्प छ । दाङ भएर बाहिर जाने र भित्रिने हजारौं यात्रु बीचबाटोमै अलपत्र परेका छन् । कतिपय यात्रु बेखर्ची भएको समाचार सार्वजनिक हुन थालेको छ ।
बन्दकर्ताहरूले अस्पतालबाहेक सबै सरकारी कार्यालय, बजार बन्द गराएका छन् भने एम्बुलेन्समा पनि बिरामीको एकिन गरेर मात्र चल्न दिएका छन् । दाङमा अटोरिक्सा र रिक्साहरूसमेत सञ्चालनमा रोक लगाएका छन् । यसैगरी, आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई प्रभावित पार्नेगरी जिल्लाका सबै जनप्रतिनिधिलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने निर्णय आन्दोलकारीले
गरेका छन् । आगामी २४ माघमा दाङमा हुन लागेको प्रदेश ५ को राष्ट्रिय सभा निर्वाचन हुन नदिने र जिल्लामा कुनै पनि प्रकारको कर नतिर्नेलगायतका कडा आन्दोलनको स्वरूप तय भएको दाङ राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले बताएका छन् ।