म्युचुअल फन्डमा लगानी कति सुरक्षित?
पुलेसो ८ माघ, २०७७, बिहीबार १५:५१
सेयर बजारमा कम जोखिम लिन चाहने साना लगानीकर्ताको आकर्षणमा रहेको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) सञ्चालनमा ल्याउने होडबाजी नै चलेको छ। धितोपत्र बजारको फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फन्डमा साना लगानीकर्ताका लागि बजारमा लगानी गर्ने अवसरसमेत सिर्जना गरेको छ।
सेयर बजारमा आफैं जोखिम वहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्नु यस्ता सामूहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन्। यस्ता कम्पनीले विज्ञहरुबाट अध्ययन गराई कम्पनीको आधारभूत अवस्था र जोखिमका पक्षहरुको गहन विश्लेषण गरी लगानी गर्ने हुँदा लगानी सुरक्षित मानिन्छ।
यसको व्यवस्थापन र सञ्चालन पोर्टफोलियो म्यानेजरले गर्ने गर्छ भने नियमन नेपाल धितोपत्र बोर्डले गर्छ।
१२ फन्ड सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारका लागि हाल १२ वटा म्युचुअल फन्ड सूचीकृत छन्। कारोबारमा आएका म्युचुअल फन्डको बुधबारको कारोबारलाई हेर्ने हो भने ३ वटाको सेयर मूल्य १० रुपैयाँभन्दा कम छन्। लक्ष्मी इक्विटी फन्डको सेयर मूल्य सबैभन्दा कम ९ रुपैयाँ ८० पैसा छ। यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम- १ को इकाइ मूल्य सबैभन्दा बढी २० रुपैयाँ ९ पैसा छ।
मंगलबारबाट २ फन्डको बिक्री
मंगलबारबाट एनआइसी एसिया ग्रोथ फन्डले १० रुपैयाँ प्रति इकाइका दरले १० करोड इकाइका लागि आवेदन खुला गरेको छ। एनआइसी एसिया क्यापिटलले सञ्चालन गर्न लागेको यस फन्डका लागि छिटोमा माघ ८ र ढिलोमा माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदकले न्यूनतम १ सयदेखि अधिकतम २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।
सिबिआइएल क्यापिटल
सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलको पनि मंगलबारबाटै १ अर्ब बराबरको म्युचुअल फन्डको बिक्री खुला भएको छ। क्यापिटलले १० रुपैयाँ प्रति इकाइका दरले १० करोड इकाइ बिक्री गर्न लागेको हो। प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाइ अर्थात् एक हजार रुपैयाँ र अधिकतम २० लाख इकाइ अर्थात् दुई करोड रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ।
कोषमा आगामी माघ २ गतेदेखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने जनाइएको छ।
नेप्सेमा सूचीकृत म्युचुअल फन्डको अवस्था:
कम्पनीको नाम | प्रतिसेयर मूल्य (रुपैयाँ) |
ग्लोबल आइएमई समुन्नत स्किम- १ | ९.९० |
लक्ष्मी इक्विटी फन्ड | ९.८० |
लक्ष्मी भ्यालु फन्ड- १ | ११.५८ |
नबिल ब्यालेन्स फन्ड- १ | १६.७० |
नबिल इक्विटी फन्ड | १०.०० |
एनआइबिएल प्रगति फन्ड | १०.०० |
एनआइबिएल समृद्धि फन्ड | ११.८५ |
एनएमबि हाइब्रिड फन्ड- १ | ९.९५ |
एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड- १ | १२.६१ |
सिद्धार्थ इक्विटी फन्ड | १०.१५ |
सिद्धार्थ इक्विटी आरिएन्टेड स्किम | १२.५० |
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम- १ | २०.०९ |