Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआत्तिएर प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति आएका हुन : लालबाबु पण्डित

आत्तिएर प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति आएका हुन : लालबाबु पण्डित


लामो अन्तरालपछि देशमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । तर, निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि त्यसको अन्तिम परिणाम सार्वजनिक हुन सकेको छैन । कानुनका अनेकौँ अपव्याख्या गर्दै निर्वाचन परिणाम नै अड्काउने कार्य भइरहेको छ । उता प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले बहुमत प्रमाणित गर्न सकेन, उसले कसलाई प्रधानमन्त्री बनाउने भनेर निर्णय गर्न सकेन भन्ने जस्ता तर्क गरिरहनुभएको छ । यो सर्वथा भ्रामक प्रपञ्च, जालझेल र सत्ता लम्ब्याउने खेलसिवाय केही होइन । त्यसैले अबका दिनमा सबैभन्दा पहिला निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्नुपर्छ । त्यससँगै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकार छाड्नुपर्छ । त्यसपछि, सरकार गठनका लागि आवश्यक बहुमत जुट्छ कि जुट्दैन भन्ने हामी देखाउँछौँ ।

 

एमाले र माओवादी केन्द्र एउटै पार्टी बन्न गइरहेको अवस्थामा बहुमत कसैसँग पनि छैन भन्नु आश्चर्यको विषय हो । गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको छ । पार्टी एकताका लागि गृहकार्य अगाडि बढिरहेको छ । यस्तो अवस्थामा कसैको पनि बहुमत छैन, नयाँ सरकार बन्ने स्थिति नभएकाले सरकार छाड्न मिलेन, म त आतुर नै छु भनेर पानीमाथिको ओभानु बन्न खोज्नु लज्जास्पद विषय हो । प्रधानमन्त्रीबाटै यस्ता अभिव्यक्ति आउनु दुःखद छ । वाम गठबन्धनबारे भविष्यवाणी गर्ने जिम्मेवारी देउवाजीको होइन । उहाँले भ्रमको खेती गरिराख्नुभएको छ । कसरी धेरै समय प्रधानमन्त्रीको पदमा बसिरहने भन्ने चिन्तन उहाँमा देखिन्छ । अब जीवनमा फेरि प्रधानमन्त्री हुने सम्भावना नदेखेपछि आत्तिएर प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति आएका पनि हुन सक्छन् ।

 

नयाँ सरकार गठनमा किन अवरोध ?
नयाँ र ताजा जनादेशबमोजिम नयाँ सरकार गठन गर्नेबारे सरकारले नै अवरोध सिर्जना गर्दै आएको छ । त्यसैले, यस्तो अवरोध हटाएर मार्गप्रशस्त गर्नु पनि सरकारकै दायित्व हो । यसरी समयमै सरकार गठन हुन नसक्नुमा निम्न कारण देखिन्छन् । पहिलो, सरकारले प्रदेशहरूको अस्थायी मुकाम र प्रदेश प्रमुख नतोकेका कारण सरकार गठनमा ढिलाइ भइरहेको हो । दोस्रो, समयमै राष्ट्रिय सभाको निर्वाचन नगराएर पनि नयाँ सरकार गठनमा ढिलाइ भएको हो । तेस्रो, प्रधानमन्त्रीले पद नछाडेका कारण ढिलाइ भएको हो । भविष्यको आशंकामा आफू पदमा टाँसिरहने प्रधानमन्त्री देउवाको मानसिकताले पनि यो ढिलाइमा काम गरेको छ । देउवाजीले अहिले छाड्नुभयो भने अहिले नै सरकार बन्छ । नयाँ सरकारले प्रदेशको राजधानी पनि तोक्छ र प्रदेश प्रमुख पनि तोक्छ । म भएसम्म मात्र सरकार रहने र म हटेपछि सरकार नै रहँदैन भन्ने उहाँको सोचाइ गलत छ । संविधानमा केही कमजोरी छन् । तर, संविधान मूल स्पिरिटमा अगाडि बढ्छ ।

 

कांग्रेसको गलत संस्कार
सामन्तवादको मुख्य आधारमाथि टेकेर बनेको पार्टी हो कांग्रेस । सामन्तहरूको बढी बोलवाला भएको पार्टी पनि हो कांग्रेस । त्यही प्रवृत्तिबाट आएका नेतामा सामन्तवादी गुण देखिनु नौलो होइन । त्यसकारण नीतिमा पनि र व्यवहारमा पनि त्यो प्रवृत्ति देखाउन खोजेको देखिन्छ । शिक्षादीक्षा नै त्यस्तै लिएर आएपछि सरकार हस्तान्तरणमा ढिलाइ गर्नु त उसको संस्कार हुने नै भयो । अहिले शेरबहादुर देउवाले मात्र होइन, कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पनि सत्ता छाड्न चार महिना लगाएका थिए । प्रजातन्त्रको दुहाइ दिने कांग्रेसले लोकतन्त्र र प्रजातन्त्रमाथि नै क्षति पुग्ने कुनै पनि गलत निर्णय नगर्नुपर्ने हो । तर, विडम्बना त्यो मान्यतालाई कांग्रेसले बोक्न सकेको छैन ।

 

पराजित भएपछि सत्ता छाड्न नचाहनु, अनेक बखेडा झिक्नु र फुटाऊ र राज गर भन्ने नीति लिनु सामन्तवादका उपज हुन् । कांग्रेसले अहिले फेरि पनि त्यही अस्त्र प्रहार गरिरहेको छ । आफ्नो सत्ता लम्ब्याउन र जनमतबाट अनुमोदित भएको गठबन्धनलाई भत्काउन कांग्रेसले भएभरको बल लगाएको छ । त्यो उसैका लागि प्रत्युत्पादक हुन सक्छ । नियतमा खोट भएकाले कांग्रेस नेतृत्व राजनीतिलाई नै विकृत बनाउने ढंगले अगाडि बढिरहेको छ । जनता सचेत भएका वेला अब यस्ता गतिविधिबाट एक्लिने कार्यबाहेक केही पनि हुनेछैन ।

 

गठबन्धनका अबका काम
वाम गठबन्धनको घोषणापत्रलाई जनताले अनुमोदन गरिसकेका छन् । त्यसलाई सरकारको नीति र कार्यक्रम तथा ऐन–नियममा रूपान्तरण गर्नुपर्छ । विपक्षीसँग पनि सरसल्लाह गरी काम अगाडि बढाउनुपर्छ । मूल कुरा भनेको विकास, पारदर्शिता, दण्डहीनताको अवस्था अन्त्य हुनुपर्छ । ऐन, कानुनविपरीत काम गर्नेलाई दण्ड दिनैपर्छ । यस्ता कार्यलाई गुणस्तरीय रूपमा अगाडि बढाउने विषयलाई अबको सरकारले प्राथमिकतामा राख्नुपर्छ । भागबन्डा पुर्‍याउने हिसाबले मात्र सोच्ने हो भने हामीले परिवर्तनको आभास हुने गरी काम गर्न सक्दैनौँ ।

 

प्रशासनलाई चुस्तदुरुस्त, पारदर्शी बनाउनुपर्छ । जनताको कामलाई प्राथमिकतामा राख्दै विगतका विकृति, विसंगति र भ्रष्टाचारलाई निर्मूल पार्नुपर्छ । प्रविधिमैत्री वातावरण बनाउनुपर्छ । मुख्यगरी नेतृत्व नै इमानदारीसाथ अगाडि बढ्नुपर्छ । मूल सफा भयो भने पानी सफा हुने हो । कार्य सम्पादनका आधारमा मन्त्री, सचिव र राष्ट्रसेवक तोकिनुपर्छ । नातावाद, कृपावादका आधारमा तोकियो भने फेरि पनि काम हुँदैन । समयमै सकाउने गरी कामलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ ।

 

छनोट गर्नेको नियतमै खोट देखियो भने त्यसले परिणाम राम्रो ल्याउँदैन । त्यस्तो अवस्थामा काम गर्न सक्ने व्यक्ति थोरै र काम गर्न नसक्नेहरू धेरै हुन सक्छन् । आग्रह–पूर्वाग्रहमा छनोट भएकाहरूले जनताको कामभन्दा पनि नेतालाई खुसी पार्न र निजी स्वार्थ पूरा गर्न लाग्ने गरेको देखिएको छ । नातावाद र कृपावादबाट घेरिएको अवस्थामा कसैले पनि काम गर्न सक्दैन । जसको कार्यक्षमता नै छैन, उसलाई जिम्मेवारी दिइयो भने उपलब्धि खोज्नु नै मूर्खता हुन्छ । जसले नीति बनाउने हैसियत राख्दैनन् र अरूले बनाएको नीति कार्यान्वयन गर्न पनि रचनात्मक ढंगले सोच्दैनन्, उनीहरूबाट अपेक्षा गर्नु पनि बेकार हुन्छ । त्यस्ताले कुनै पनि ठाउँको नेतृत्व गर्दा दुर्भाग्य नै हुन्छ । यही कारण देश र जनताले दुःख पाएका हुन् । यसतर्फ ध्यान दिनैपर्छ ।

 

भावी सरकारमा काम गर्न सक्ने नेतालाई पठाउनुपर्छ । वाम गठबन्धन गरेर पार्टी एकतासम्मको यात्रा अगाडि बढेको अवस्थामा जनताले यो गठबन्धनबाट धेरै ठूलो अपेक्षा गरेका छन् । अपेक्षा पूरा भएन भने जनता निराश हुन्छन् । त्यो निराशा विद्रोहमा पनि परिणत हुन सक्छ । तसर्थ जनताको अपेक्षाअनुरूप काम गर्न सक्ने नेतालाई विभागीय जिम्मेवारी दिएर मन्त्री बनाउनुपर्छ । क्षमतावान्, इमानदार र कर्तव्यनिष्ठ व्यक्तिले मात्रै जिम्मेवारी पूरा गर्न सक्छन् । सोहीअनुसार नेतृत्वले निर्णय गर्न सक्यो भने अब बन्ने वाम गठबन्धनको सरकारले देशमा कायापलट गर्न सक्छ ।

 

अन्त्यमा
आजको दिनमा पनि अन्योल, निराशा र आक्रोश बढी देखिन्छ । राजनीतिक स्थिरता र शान्ति नभएका कारण मुलुकभित्र आफ्नो भविष्य छैन भन्ने सोचेर लाखौँ नेपाली बिदेसिएका छन् । उनीहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्छ । योग्यता र क्षमताअनुसारको काम गर्ने वातावरण राज्यले तयार गरिदिनुपर्छ । देशमा विकास नभएको, अवसरको कमी भएको ठहर गर्ने वा भोग्नेको संख्या निकै ठूलो छ । यही स्थिति रहने हो भने नेपालमा ज्येष्ठ नागरिक मात्र रहने खतरा छ । राष्ट्रका लागि यो दुःखद पक्ष हो । यो समस्या समग्र देश (सातवटै प्रदेश) को हो । त्यसकारण गरिबी र विभेदविरुद्ध सचेत नेपाली एकजुट भएर लाग्नुपर्छ । अझै पनि भ्रम छर्नेहरू र अस्थिरतामा रमाउनेहरू समाजमा छन् । उनीहरूलाई चिनेर सोहीअनुसारको व्यवहार नागरिकस्तरबाटै हुनुपर्छ । किनभने हामी समस्याबाट भागेर समाधान निस्कँदैन । त्यसकारण एकजुट भएर विकृति, विसंगति अन्त्य गर्नतर्फ लाग्नुपर्छ । समाजका गलत विषयलाई ठीक विषयले विस्थापित गर्नुपर्छ । यदि हामीले आज गलत बाटो समात्यौँ भने भोलिका दिनमा पछुताउनुको विकल्प रहँदैन । त्यसैले उज्ज्वल भविष्यको यात्रामा साथमा साथ दिएर हामी सबै लाग्नुपर्छ ।नँया पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस