Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारचुरे क्षेत्रमा ९० वर्गकिलोमिटर पहिरो, ३० देखि ४० डिग्रीको भिर जोखिमपूर्ण

चुरे क्षेत्रमा ९० वर्गकिलोमिटर पहिरो, ३० देखि ४० डिग्रीको भिर जोखिमपूर्ण


देशको पश्चिम भेगको चुरे क्षेत्रमा ९० वर्गकिलोमिटर पहिरो गएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विज्ञान विभागले गरेको अनुसन्धानमा पश्चिमका १२ जिल्लामा ९० वर्गकिलोमिटर पहिरो गएको पत्ता लागेको हो ।

 

चुरे क्षेत्रको पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा काम गर्ने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र विभागले एक वर्ष लगाएर अनुसन्धान गरेका थिए । परियोजना संयोजक डा. सुबोध ढकालका अनुसार यस क्षेत्रमा चार सय वर्गमिटरभन्दा ठूला पहिरोको संख्या ७३ सय ७७ छ । सतही भूक्षयको समेत ठूलो समस्या रहेको छ । कञ्चनपुर, डडेल्धुरा, कैलाली, डोटी, बर्दिया, सुर्खेत, बाँके, दाङ, सल्यान, प्युठान, अर्घाखाँची र कपिलवस्तुमा पहिरोको जोखिम बढी छ ।

 

‘भौगर्भिक बनोट र भौगर्भिक प्रक्रिया चुरे क्षेत्रको पहिरोलाई समग्र रूपमा नियन्त्रण गर्ने प्रमुख कारण रहेको भन्ने कुराको पुष्टि भएको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘भौतिक र रासायनिकजस्ता बाहिरी र भित्री दुईवटै प्रक्रियाले कमजोर चट्टानमा प्रभाव पार्दा र पानीको निकास राम्रो नहुँदा पहिरोको समस्या बढ्न गएको देखिएको छ ।’

 

मानव जातिका कारण पुरानो पहिरोलाई काट्दै बनाइएका सडक संरचना पहिरोलाई पुनः उक्साउने मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कोहलपुर–सुर्खेत रोडमा यस्ता समस्या धेरै देखिएका छन् । त्यसैगरी पानीको कमजोर निकास, खोलाले भिरलाई काट्ने प्रक्रिया र जमिनअनुसारको रूखको अभावले पनि पहिरो जाने गरेको उल्लेख छ ।

 

विभागले भूउपग्रहबाट लिएका तस्बिर र फिल्ड अध्ययनका आधारमा पहिरोको संख्या पत्ता लगाएको हो । संयोजक ढकालले पूर्वको चुरे क्षेत्रभन्दा पश्चिमको चट्टान राम्रो रहेको र वनलगायत विकासका कारण पहिरो जाने अवस्था कम रहेको बताए । संख्यात्मक रूपमा पश्चिमभन्दा पूर्वमा पहिरोको जोखिम बढी रहेको उनको भनाइ छ । अध्ययनले गत जेठसम्मको पहिरोको संख्या समेटेको छ ।

 

३० देखि ४० डिग्रीको भिर जोखिमपूर्ण
१२ मध्ये सबैभन्दा बढी चार जिल्लामा पहिरोको समस्या देखिएको छ । कैलाली, सुर्खेत, दाङ र डडेल्धुरामा पहिरोको संख्या धेरै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यी जिल्लामा चट्टान चिप्लिने, चट्टान खस्नेलगायत समस्या छन् । भौगर्भिक नोटअनुसार ‘मिडल सिवालिक’ र लवर सिवालिकमा सबैभन्दा बढी पहिरो गएका छन् । ३० देखि ४० डिग्रीको भिरमा बढी पहिरो देखिएको छ।

पहिरोका कारण र समाधान:

डा. सुबोध ढकाल, परियोजना संयोजक
– चुरे क्षेत्र भौगर्भिक संरचना कमजोर रहेको छ । कुहिएको चट्टान भएका कारण घामपानीले सजिलै खियाउने र पहिरो जाने समस्या छ ।

– सानो एरियामै फरक–फरक किसिमका चट्टान छन्, जसले पहिरो जान सहज भएको छ ।

– मानवसिर्जित कारण पनि छन् । पुरानो पहिरोमा विभिन्न संरचना बनाउने, कतै रुख फँडानी हुने रहेको छ ।

–  पानीको बहाव अनियन्त्रित हुनु पनि प्रमुख कारण रहेको छ । पानीको बहावले भूक्षय भएर खोल्सा बनाउने र पहिरो जाने गरेको छ ।

– पहिरोको समस्या रोक्न यस क्षेत्रमा ठूला संरचना बनाउनुहुँदैन । बायो इन्जिनियरिङ प्रविधिको प्रयोग गर्नुपर्छ ।नँया पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस