दक्ष चिकित्सकको अभावमा शल्यक्रिया सेवा बन्द
पुलेसो ५ माघ, २०७७, सोमबार १५:०६
जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतमा दक्ष चिकित्सक अभावका कारण शल्याक्रिया सेवा बन्द भएको छ । अस्पतालमा शल्याक्रिया सेवा बन्द भएपछि बिरामीहरु छिमेकी जिल्ला बाग्लुङ जान बाध्य भएका छन् ।
उपचार गर्न आउने बिरामीलाई अस्पतालले नै बाग्लुङ रेफर गर्ने गरेको छ । जिल्ला अस्पताल पर्वतमा शल्याक्रियाका लागि दक्ष चिकित्सक एनेस्थेसियोलोजिस्ट नहुँदा सेवाग्राही मारमा परेका छन् ।
शल्याक्रिया सेवा प्रभावित भएपछि सुत्केरी सहित, एपेन्डिस, हर्निया, हाइड्रोसिल लगायतका बिरामी प्रभावित भएका हुन । दक्ष चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द गर्नु परेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्र्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिनु भयो ।
अस्पतालमा दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ती मध्ये मासिक कम्तिमा ५ देखि ७ जनाको शल्याक्रिया हुने गरेको थियो ।
तर, सेवा सुविधान कम भएको भन्दै एनेस्थेसियोलोजिस्ट चिकित्सकले अस्पताल छोडेपछि हाल शल्याक्रिया सेवा बन्द भएको छ ।