Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनाइल क्रुजकी नर्तकी

नाइल क्रुजकी नर्तकी


कायरो आएको तेस्रो दिन। कायरोका पिरामिडहरू सबै घुमिसकेका थियौं। कायरोको सुन्दरता र प्राचीनताले मनमा एउटा छुट्टै छाप लगाइसकेको थियो। बिहान कायरो म्युजियम घुम्ने काम पनि सकेर होटेलमा आराम गर्दै थियौं। बेलुकी ८ बजेदेखि नाइल क्रुज डिनरको लागि बुकिङ गरिसकेकाले सुरेन्द्र र म दुईजना साँझको तीव्र प्रतीक्षामा थियौं। समय न हो, बित्न कति पो लाग्छ १ केहीबेरमै घाम पश्चिमतर्फ लुक्ने तरखरमा देखियो।

 

सुरेन्द्रले ऐनाअगाडि बसेर निकैबेर पढ्यो आफ्नै अनुहार। उसले हरसम्भव आफूलाई राम्रो देखाउने कोसिस गर्‍यो। मैले पनि शरीरले दिएसम्मको यत्न गरेँ। तर, जति प्रयासका बाबजुद पनि हामी आफूजस्तै देखियौं। आफूभन्दा राम्रो बन्न सक्दै सकेनौं।

 

ठीक ७ बजे हामीलाई लैजाने गाडी आइपुग्यो होटेलको गेटमा। होटेलका अन्य गेस्टसँगै हामी पनि चढ्यौं गाडी। होटेल मेनेजरको इसारापछि हामीलाई बोकेको गाडी नाइलको किनारातर्फ हान्नियो। सहरको केही भाग छिचोल्दै केहीबेरमै पुगियो नाइल किनार।

 

घाम डुबे पनि अध्याँरो भइसकेको थिएन। लगभग लगभग अब बिजुलीले सूर्यको साम्राज्य कब्जा गर्ने तर्खरमा थियो। नाइलको किनारामा दर्जनौं जहाज खडा थिए। सबै जहाज हामीजस्तै नाइल क्रुज डिनरका लागि आउने पाहुनाको स्वागतमा उभिएका थिए। नदी किनारका अग्लाअग्ला विल्डिङमा बलेका बत्तीहरू नाइलको पानीमा देखिन थालिसकेको थियो। नाइलको दुवैतर्फ किनारमा बलेका बत्तीले कायरोको दिउँसोको सुन्दरता बिर्साएको थियो।

 

जहाजको ढोका खुलेपछि सबै मानिस जहाजभित्र पस्न थाले। हामी इजिप्ट आउनुअघि नै हामीलाई नाइल क्रुजको अरेबियन वेली डान्स हेर्नैपर्ने सुझाव प्राप्त भएका थिए। आजको यस कार्यक्रममा तिनै सल्लाहको मान राख्न आइएको थियो। आफ्नो कौतुहल मेट्न पनि यहाँ आइएको थियो। खैर, जे होस् हामी अब केही मिनेटको दूरीमा मात्र थियौं वेली डान्सको। जहाजको तल्लो तल्लामा कुर्चीमा टावलहरू सजाइएका थिए। बीच भागको एकातर्फ कुनामा एउटा सानो स्टेज थियो। सोही स्टेज नजिकैको टेबुलमा गई बस्यौं।

 

जनही ५५ अमेरिकन डलर तिरेको हुँदा डिनर उनीहरूकै तर्फबाट हुन्छ भन्नेमा ढुक्क थियौं। सिट फुल भएपछि बिस्तारै चल्न थाल्यो जहाज। विभिन्न रङका बत्तीले झकिझकाउ जहाजहरू आ–आफ्ना गेस्टलाई चढाउँदै बग्न थाल्यो नाइलको पानीमा। गेस्टहरूले आफ्ना इच्छाअनुसारको पेयपदार्थ अर्डर गरी पिउन थाले। हामी दाजुभाइचाहिँ खानभन्दा पनि वेली डान्स हेर्न आतुर थियौं।

 

जहाज बग्न थालेसँगै माहोल तात्न सुरु भयो। रातको समयमा नाइलको बीचमा बगिरहेका थुप्रै जहाजमा धूमधामसँग नाचगान चलिरहेको प्रस्टै देखिन्थ्यो। सुरुमा एउटी सुन्दरी स्टेजमा आएर एउटा सुमधुर इजिप्सियन गीत सुनाइन्। आवाज र सुन्दरता दुवै ठीक थियो तर गीत बुझिएन। हामी गीत सुन्न गएका थिएनौं, त्यसैले अरेबियन भाषाका गीतमा त्यति रुचि पनि भएन।

 

हामी बसेकै टेबुलको दाहिनेतर्फको कुनामा भारतीय टुरिस्टहरूको एक झुन्ड थियो। अलि धेरै संख्यामा भएकोले हल्ला पनि बढी नै थियो। कुराकानी सुन्दा उनीहरू पनि हामीजस्तै अरेबियन गीत सुन्न आएजस्ता लाग्दैनथे। उनीहरूकै अगलबगलमा थिए गोरो छाला भएका आधा दर्जन कुइरे।

जहाज चल्दै जाँदा बियर, ह्विस्की र रमको चुस्की पनि बढ्दै गयो। सबै रोमान्टिक मुडमा देखिए। तैपनि सुरु भएन वेली डान्स। सुरेन्द्र र मचाहिँ पहिले वेली डान्सको मजा लिने, त्यसपछि मात्र बियर पिउने विचारमा थियौं। तर, हामीले चाहेजस्तो भएन। गीत बज्दाबज्दै डिनरको लागि अनुरोध आयो। डिनरपछि रहेछ कार्यक्रम। हिसाब उठ्ने गरी प्लेटमा खजाना राखी जहाजको बाहिरपट्टि निस्कियौं।

जहाज धेरै पर पुगिसेको थियो। कायरो धपक्क बलेको थियो। नाइलको पानीमा अर्को कायरो देखिन्थ्यो। सँगै हिँडेका जहाज केही परपर भइसकेका थिए। जहाजको बहावले ठोक्किएर शरीरभरि पानीका छिटा पोखिन्थ्यो। शीतल हावाले कपाल फररर पारेर मनको भित्रसम्म छोएर जान्थ्यो। त्यो सुनसान रातको रंगीन माहोलमा हामी दुई नेपाली ठिटा डुबुल्की मारिरहेका थियौं। नाइल चुपचाप बगिरहेथ्यो। जहाज आफ्नै गतिमा चलिरहेथ्यो। हामी इजिप्सियन वेली डान्स हेर्न बेचैन थियौं। नाइलको दुवै किनाराका घरहरू रंगीन बत्तीले झिलिमिली थिए। डिनर सकिएलगत्तै सबैजना फेरि पुरानै ठाउँमा फर्कियौं। खाना बन्द भयो। यथेष्ट खायौं इजिप्सियन परिकार। जे–जे बनाए पनि मासुमै गएर अड्कियो मन। भोजनले तृप्त भएपछि मात्र टेबलमा आयौं।

सबैको डिनर सकिएको सूचना पाएपछि जहाजको भुइँतलाको प्वालबाट स्टेजनजिकै उक्लिइन् एक सुन्दर नर्तकी। नीला समुद्रजस्ता आँखा, हँसिलो, गोरो मुहार, मादक मुस्कान र कामुक आँखा, छातीभन्दा माथि पूरै खुलेको। केवल छोपिनुपर्ने भाग मात्र छोपिएको। हातमा एउटा पातलो चुनरी, खुट्टा र कम्मरको भाग खुल्लै भए पनि कट्टुले लाज छोपेको थियो। उनको प्रवेशमा सबैले तालीको गड्गडाहटले स्वागत गरेपछि एकाएक साँझ रोमाञ्चक बन्न पुग्यो।

सबैलाई अभिवादन गरेपछि विस्तारै कम्मर हल्लाउन सुरु गरेकी उनले विस्तारैविस्तारै कम्मर हुँदै छाती हल्लाउन थालिन्। बाजाको तालसँगै बढ्न थाल्यो नृत्यको चाल। चारैतर्फ फर्किएर आफ्नो अलिअलि छोपिएको छातीलाई जोडजोडले हल्लाउँदै ग्राहकलाई मादक मुस्कान फ्याँकेर लट्ठ पार्न थालिन्। छातीको र कम्मरको अत्यधिक हल्लाई र मर्काइ नै वेली डान्सको विशेषता रहेछ। निख्खर कालोमा टल्कने जरी र पत्थरजडित छोटा पोसाकमा उनको गोरोपनको चमक गति बढे पनि आफ्नो हातबाट बिस्तारै फुस्किँदै गएको जवानी भने लुकाउन सकेकी थिइनन्।

बाजाको तालसँगै डान्स गर्दै–गर्दै टेबलटेबलमा पुगी जोडतोडले छाती हल्लाएर ग्राहकलाई मनोरञ्जन दिन मस्त रहिन्। सायद त्यो उनको पेसागत धर्म हो। कहिलेकाहीँ चुनरी टेबलतर्फ फ्याँकी नाच्दैनाच्दै टेबलको चुनरी नजिक पुगी नाच देखाउने गर्न थालिन्। उनले नाचुन्जेल हाँस्न छाडिनन्। छाती हल्लाउन र कम्मर मर्काउन छोडिनन्। हाम्रो लागि त्यति ठूलो विषय नभए पनि मुस्लिम देशमा यति अंग प्रदशन गर्नु ठूलै बहादुरी या साहसको कुरो रहेछ। जे होस् ती गोरीको वेली डान्स अघाउन्जेली हेरियो। सबै ग्राहकको टेबलमा एकपटक पुगेपछि बिस्तारै नाच्दै नाच्दै फेरि त्यही प्वालबाट तल छिरेर अलप भइन् ती सुन्दरी। हाम्रो के–के न होला कस्तो न होला भन्ने कौतुहल मेटियो। हामीले जोडजोडले ताली पिट्यौं।

ती युवतीभित्र पस्नेबित्तिकै एकजना पातलो युवक फ्रक लगाएर स्टेजमा देखा परे। हाम्रो लाखेले लगाउनेजस्तो फ्रक र ब्लाउज लगाएका उनको हातमा चारवटा डम्फु थिए। जब बाजा बज्न थाल्यो, त्यसको तालमा उनी स्टेजमा एकोहोरो घुम्न थाले। फ्रक घुमेर नाङ्लोजस्तो गोलो बन्न पुग्यो। घुम्दाघुम्दै चारवटा डम्फुलाई दुई हातले निकै रोचक ढंगले खेलाए टाउको, हात र हावामा। हातले जे–जे गरे पनि घुम्ने गतिमा एकै सेकेन्ड पनि सुस्तता आएन। उसको एकोहोरो घुमाइ देखेर म पो फतक्क गलिसकेको थिएँ। तर, ऊ रोकिने सुरसारमै थिएन। घुम्दाघुम्दै चारवटा डम्फु एकएक गरी कलात्मक पाराले दर्शक दीर्घातर्फ फ्याँके।

मैले ठानेँ अब सकियो खेला। गलत रहेछु। खेला त अब पो सुरु भएको रहेछ।

घुम्दाघुम्दा ती अदभुत मानव असिनपसिन भइसकेका थिए। डम्फु फ्याँकिसकेपछि उसले घुमी राखेको फ्रकलाई दुई भागमा बाँड्यो। डम्फु तलको कम्मरमा र माथिको छातीमा पारी घुम्न थाले। केहीबेरको घुमाइपछि तलको पत्रबाट फेरि अर्को पत्र निकाली तीनवटा बनाई छाता घुमाएजस्तै शरीरमा घुमाउन थाले। उसले हेर्दाहेर्दै शरीरको तीन ठाउँमा छाताजस्तै घुमेको फ्रकको पत्र एकएक गरी घुमाउँदा घुमाउँदै टाउकोबाट निकाली कृष्णजीको सुदर्शन चक्रजस्तै हातबाट घुमाउन लागे। हातमा र शरीरमा एकैपटक त्यति ठूलो गोलाइको कपडा घुमाउँदै दुईवटा पत्र दर्शकदीर्घातर्फ फ्याँके। हामी सबै अचम्मित भयौं। मेरो जीवनमा देखेमध्ये यो पनि बिर्सनै नसकिने अदभुत कला प्रदर्शनी थियो। १५र२० मिनेटसम्म एकोहोरो कोल घुमेजस्तै घुमेर विभिन्न कलाको प्रदशनी गर्नु अचम्मैको मान्नुपर्छ। वेली डान्सले खिस्रिक्क परेको सुरेन्द्र र मेरो मन यो प्रदर्शनीले रोमाञ्चित भयो।

अन्त्यमा उसले अन्तिम फ्रक शरीरबाट घुमाउँदै टाउकोबाट निकाली हातको औंलाले च्यापेर छाताजस्तै गोलाकार रूपमा घमाउँदैघुमाउँदै स्याबासी थाप्न टेबलटेबलमा पुग्यो। सबैले तालीले उसको सम्मान गरे। हामी धेरैले उसको बायाँ हातमा टिप्स पनि राखिदियौं। यो डान्स देखेपछि मनदेखि नै ती कलाकारलाई सल्युट गरेँ, जसको डान्स हेरेर म दर्शक थाकेको थिएँ। म निथ्रुक्क भिजेको थिएँ तर ऊ थाकेको देखिँदैनथ्यो। वाह क्या वात इजिप्सियन कलाकार।

सुडान फर्केपछि पनि मैले धेरै दिन साथीसँग त्यस डान्सको चर्चा गरिरहेँ। इजिप्ट जाने जो कोहीलाई पनि नाइल क्रुज डिनरमा जान सल्लाह दिइरहेँ र त्यो छाते डान्सको प्रशंसा गरिरहेँ। आज पनि त्यो डान्स सम्झँदा म फतक्क गल्ने गर्छु। र, ती कलाकारको धमीलो चित्र आँखामा नाचिरहन्छ।

डान्ससँगै औपचारिक कार्यक्रम सकियो। जहाजको छतमा रहेको बारमा रमझम सुरु भइसकेको थियो। हामी पनि छतमा उक्लियौं र एकएक वटा बियर हातमा लिई जहाजको छतको बारबाट खुट्टा बाहिर निकाली मस्तसँग कायरोको छाउपुछार हेर्न मस्त रह्यौं। वास्तवमा नाइलकै कारण कायरोको सुन्दरता हजारौं गुणा बढेको थियो। नाइलको पानी छोएर हावा पूर्ववत् चलिरहेकै थियो। गर्मीको कुनै आभास थिएन। शीतल हावा र चिसो बियर अनि कायरोको सुन्दरतामा धेरै शब्द खर्चियौं हामी दुई भाइले। एकैछिन वागमतीलाई नाइल सम्झेर काठमाडौंको सुन्दरता नापी हेर्‍यौँ। नाइलको पानीमा काठमाडौंका मन्दिरहरू झनै सुन्दर देखियो।

रात छिप्पिसकेको थिएन। ८ बजेदेखि १० बजेसम्मको यात्रा थियो यो। १० बजे फेरि हामी जहाज चढेको ठाउँमा पुग्नु थियो। बेलाबेला जहाज पुलमुनिबाट पास हुन्थ्यो। पुलमाथि मोटर र मान्छेको घुइँचो देखिन्थ्यो। पुल पार गर्नेबेला हाम्रो जहाजको रमाइलोमा पुलमाथिको होहल्ला पनि मिसिन्थ्यो। कतैकतै पुलका मान्छेले ताली बजाएर जहाजको स्वागत गरेको पनि भेटिन्थ्यो।

धेरैबेर नाइलको शीतलता, निर्मलता र कायरोको झिलिमिलीमा हराए पनि त्यो स्वर्णिम साँझमा केही केही नपुगेजस्तो लागिरह्यो। केहीवेरको मौनता पछि मैले सुरेन्द्रलाई सोधेँ – ‘सुरेन्द्र १ यति मस्ती गरिरहँदा पनि मलाई किन केहीकेही नपुगे जस्तो भइरहेको छ, किन पूर्ण आनन्द लिन सकिरहेको छैन रु ’

सुरेन्द्रले प्याच्च जवाफ फर्कायो, ‘के हुनु नि मित्र, उही घरको याद १ अहिले दायाँबायाँ बूढीहरू पनि भएको भए पूर्ण आनन्द प्राप्त हुन्थ्यो बुझिस् रु ’

मेरो प्रश्नको सही उत्तर लाग्यो। चुपचाप हाँसेर टारिदिएँ। साँच्चै सुरेन्द्र र मेरो मनमा एउटै कुराले खाइरहेको रहेछ– परिवार मोह।

दुई घन्टा पूरा भएपछि फेरि जहाजले पहिलेकै ठाउँमा ल्याएर छाडिदियो। हामी ओर्लनभन्दा पनि भित्र पस्ने अर्को समूह आतुरताका साथ लाइनमा बसेको देखियो। त्यस दिनको पहिलो समूह रहेछौं हामी। दुई दुई घन्टाको फरकमा रातैभर चल्दोरहेछ नाइल क्रुज डिनर।

यति धेरै जहाज। यति धेरै मान्छेको भीड। यति धेरै डलर आम्दानी। कति कमाउँदो हो यो देशले यही नाइल नदीको बुइँ चढेर। कति भाग्यमानी होलान् यी कायरोवासी, जो हर दिन नाइलको पानी माथि डुलेर संसारभर पुर्‍याइरहन्छन्, आफ्ना वेलीडान्स र छाते डान्सका प्रभाव। कतिले पाउँलान् रोजगारी रु कति सम्पन्न होला राष्ट्र रु सोच्दासोच्दै फेरि म मेरै देशको बागमतीमा आएर चुर्लुम्म डुबेँ र होटेलको रुममा छिरेँ। सुरेन्द्र के सोच्दै थियो, मलाई थाहा छैन।अननपूर्ण पोष्ट




तपाईको प्रतिक्रिया दिनुहोस