गृहपृष्ठ ∕
समाचार ∕
एमबिबिएस प्रश्नपत्र लिक, गोल्डेन गेट कलेजका निर्देशक पाण्डेसहित ६ जनालाई दोषी ठहर एमबिबिएस प्रश्नपत्र लिक, गोल्डेन गेट कलेजका निर्देशक पाण्डेसहित ६ जनालाई दोषी ठहर
पुलेसो २ माघ, २०७७, शुक्रबार ८:२६
विशेष अदालतले एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गर्ने काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले तीन वर्षपछि फैसला सुनाएको हो ।
०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य व्यक्तिसँग मिलेमतो गरी प्रश्नपत्र लिक गराएको ठहर गर्दै विशेषले कलेजका निर्देशक देवीराम पाण्डेलाई नौ महिना कैद र पाँच लाख पाँच हजार जरिवाना हुने तथा सोही कलेजका शिक्षक हरिहर भन्ने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसला सुनाएको छ ।
अदालतले पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दै उनीहरूबाट बरामद गरेको ३४ लाख २५ रुपैयाँसमेत जफत गर्न भनेको छ । विशेषले सहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने सफाइ दिएको छ ।
एमबिबिएस छात्रवृत्तिका लागि शिक्षा मन्त्रालयले लिने परीक्षाको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको थियो । विशेषले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न अन्य प्रभातकुमार कुशवाहलाई चार वर्ष कैद ३४ लाख जरिवाना, धर्मेन्द्र यादवलाई एक वर्ष कैद नौ लाख जरिवाना, जिवस यादवलाई एक वर्ष कैद पाँच लाख दुई हजार र महेश्वरप्रसाद यादवलाई दुई वर्ष कैद १७ लाख एक हजार जरिवानाको फैसला सुनाएको छ ।नँया पत्रिका