Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकन्चनपुरकाे शुक्लाफाँटा नगरपालिकाका ४०० घर शौचालयविहीन

कन्चनपुरकाे शुक्लाफाँटा नगरपालिकाका ४०० घर शौचालयविहीन


दुई वर्षअघि खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घरमा शौचालय छैनन् ।

प्रायः विपन्न र दलित समुदायका घरमा शौचालय नभएको पाइएको छ । अर्थ र चेतना अभावले अधिकांशले शौचालय नबनाइएको बताइएको छ । नगरपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २७४ घरधुरीमध्ये आठ हजार ८३१ परिवारको घरमा मात्रै शौचालय रहेको पाइएको समन्वय समितिका सुपरभाइजर वसन्ती विष्टले बताउनुभयो ।

शौचालय नभएका परिवारले खेत, सार्वजनिक सडक, खोला र वन क्षेत्रमा खुला रुपमा शौच गर्दै आएको पाइएको छ । उहाँले भन्नुभयो, “यसबाट वातावरणमा नराम्रो प्रभाव परेको छ ।” नगरपालिकाका वडा नं १ मा १८, २ मा ३९, ३ मा २४, ४ मा ३६, ५ मा ६४, ६ मा ११, ७ मा ५३, ११ मा २२ र १२ का ३८ घरमा शौचालय नभएको बताइएको छ । उहाँका अनुसार वडा नं ८, ९ र १० मा शतप्रतिशत परिवारका घरमा शौचालय निर्माण गरिएको छ ।

शौचालय भएकामध्ये १० प्रतिशतभन्दा बढीले शौचालय नै प्रयोगमा नल्याएको पाइएको छ । शौचालय दाउरा, घाँस र गुइँठा राख्ने स्थानका रुपमा परिणत गरेका छन् । शुद्ध पेयजलको पहुँच पुगेका परिवारको संख्या भने नगरपालिकामा १४ मात्रै छ ।

निजी र सामुदायिक गरी ५८ विद्यालयमध्ये २० विद्यालयमा छात्राका लागि छुट्टै शौचालय नभएको पाइएको छ । भएका शौचालयसमेत प्रयोग गर्न नसकिने अवस्थामा छन् । पाँच वटा मात्रै विद्यालयमा शुद्ध पेयजलको व्यवस्था छ ।

आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारले नगरपालिकाले सबै सेवा सुविधा रोक्दा समेत पक्की शौचालय निर्माण गर्न नसकेको र अस्थायी रुपमा बनाएका शौचालय बिग्रिएका कारण खेतमा शौच गर्न बाध्य भएको नगरपालिकाका कर्मचारीको भनाइ छ ।

मन्दिर र सार्वजनिक अधिकांश स्थानमा शौचालय नभएकाले तत्काल यस्ता ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

नगरपालिकाका सबै बासिन्दामा शौचालयको पहुँच पु¥याउनका लागि सबैको सहयोगको खाँचो रहेको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

नगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन शौचालय निर्माणसँगै शौचालयको प्रयोग, साबुनपानीले हात धुने बानी, सुरक्षित पानीको प्रयोग, सुरक्षित खाना, सफा घरआँगन र वातावरण बनाउनका लागि काम अगाडि बढाइने उहाँले बताउनुभयो । नगरपालिकालाई गत साल पुस १२ गते नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको थियो ।

नगरपालिकामा बसोबास गर्ने नौ हजार २७४ परिवारमध्ये दलित समुदायका एक हजार ११३, जनजाति समुदायका दुई हजार १८४ र अन्य समुदायका पाँच हजार ९७७ परिवार बसोबास गर्दै आएका छन् ।

 




तपाईको प्रतिक्रिया दिनुहोस