Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारस्कुल जान किन मान्दैनन् बालबालिका ? यस्तो छ कारण

स्कुल जान किन मान्दैनन् बालबालिका ? यस्तो छ कारण


हामीले देखेका छौ, सुनेका छौ, भोगेका छौ, अक्सर बच्चाहरु स्कुल जान रुचाउँदैनन् । उनीहरु चाहन्छन्, सकेसम्म स्कुल जान नपरोस् । स्कुल जानेबेला झगडा गर्छन् । रोइकराई गर्छन् । भाग्छन्, लुक्छन् । टाउको वा पेट दुखेको बाहाना बनाउँछन् ।

यता आमाबुवा जबरजस्ती बच्चालाई स्कुल पठाइरहेका हुन्छन् । फकाएर होस् वा डरत्रास देखाएर वा त  अनेक लोभ देखाएर अभिभावकले बच्चालाई स्कुल पठाइरहेका हुन्छन् । किन स्कुल जान मान्दैनन् बालबालिक ? किन स्कुलप्रति उनीहरु आकषिर्त हुँदैनन् ?

स्कुलको डर

१. बच्चाले किन स्कुल जाने भन्ने बुझेकै हुँदैनन् । स्कुल किन जाने ? केका लागि जाने ? स्कुलमा गएपछि के हुन्छ ? यसको रेडिमेड जवाफ त उनीहरुसँग होला । तर, उक्त कुराको अनुभूत उनीहरुलाई हुँदैन । केवल अभिभावकको इच्छा पुरा गरिदिन स्कुल गइरहेको उनीहरुले ठान्छन् ।

२. स्कुल भनेको सिक्ने वा जान्ने ठाउँ हो । तर, के सिक्ने, कसरी सिक्ने ? त्यसबारे उनीहरुलाई ज्ञान हुँदैन । स्कुल जानुको अर्थ शिक्षकले घोकाएको पाठ कण्ठ गर्नु, प्रश्नको हल गर्नु, होमवर्क गर्नु हो भन्ने बुझाई हुन्छ । त्यसैले उनीहरु मनबाट प्रेरित भएर पढ्दैनन्, शिक्षकको कुटाइ वा गालीबाट बच्नका लागि मात्र किताब घोक्छन् । होमवर्क गर्छन् । यो एक किसिमको सजाय जस्तै त हो ।

३. बालबालिका जिज्ञासु हुन्छन् । तर, ति जिज्ञासा किताबले वा स्कुलले मेटिरहेका हुँदैनन् । कति कुरा जान्न उत्सुक भए पनि हात बाँधेर चुपचाप बस्नुपर्ने वाध्यता हुन्छ उनीहरुलाई ।

४. स्कुलमा बच्चा उन्मुक्त रमाउन सक्दैनन् । अनुशासनको नममा उनीहरुलाई हरेक कुरामा सावधान र सतर्क रहन लगाइन्छ । हल्ला गर्न नहुने, चल्न नहुने, उप|mन नहुने, कराउन नहुने । प्राकृतिक रुपमै उनीहरु चञ्चल हुन्छन् । तर, त्यो चञ्चलता स्कुलमा लुकाउनुपर्ने हुन्छ ।

५. स्कुलमा सानोतिनो गल्ती गरेमा, होमवर्क नगरेमा, पढाएको पाठ राम्ररी नबुझेमा सजाय भोग्नुपर्ने हुन्छ । जबकी सबै बच्चाको स्वभाव, प्रवृत्ति एकै खालको हुँदैन । उनीहरुले समान रुपले कुनै कुरा बुझ्ने क्षमता पनि राख्दैन । जब आफुले कुनै कुरा जानिदैन, गाली वा कुटाइ खानुपर्ने हुन्छ ।

६. शिक्षकले सबै बच्चालाई समान व्यवहार गर्दैनन् । बढी जान्ने विद्यार्थीलाई माया गर्ने र कमजोर विद्यार्थीलाई हेला गर्ने प्रवृत्ति हुन्छ । यसले कमजोर विद्यार्थी हतोत्साही हुन पुग्छन् । उनीहरुले अपहेलित महसुष गर्छन् । स्कुल सम्झनसाथ उनीहरुको मन खिन्न हुन्छ ।

७. स्कुलमा बच्चाले औसत सात घण्टा विताउँछ । तपाई/हामी कुनै ठाउँमा सात घण्टा अरुको अधिनमा बस्न सक्छौ ? एक दिन होइन, हरेक दिन । एउटै कोठामा, एउटै बेन्चमा, एउटै ठाउँमा महिनौ बस्नु दिक्कलाग्दो हुन्छ ।

८. बच्चाहरु आफ्नै सहपाठीका कारण पनि स्कुल जाँदैनन् । अर्थात सहपाठीले गर्ने व्यवहार उनीहरुलाई मन परिरहेको हुँदैन । यद्यपी त्यसबारे उनीहरुले न खुलेर भन्न सक्छन्, त प्रतिकार गर्न । जब ति साथीको दूब्र्यवहार सम्झन्छन्, उनीहरुलाई स्कुलदेखि डर लाग्छ ।

९. आफ्ना दौतरी एवं सहपाठीसँग सजिलै घुलमिल नहुने प्रवृत्ति पनि हुन्छ, कतिपय बालबालिकामा । खेल्ने साथी हुँदैन । बोल्ने साथी हुँदैन । उनीहरुले स्कुलमा एक्लो अनुभव गर्छन् ।

अरु बच्चा त स्कुल जान्छ नि ?

सबै बच्चामा स्कुलप्रति विकर्षण हुँदैन । कति बच्चा खुसीसाथ स्कुल जान्छन् । त्यही बच्चा स्कुल जान गाह्रो मान्छन्, जसलाई कमजोर औल्याइएको हुन्छ ।

सबै विद्यार्थीको क्षमता एकनास हुँदैन । कुनै कुरा पढ्ने, बुझ्ने र व्यक्त गर्ने कुरामा कोहि अब्बल हुन्छन्, कोहि कमजोर । तर, हामी दुबैथरी विद्यार्थीलाई एउटै हिसाबले पढाउँछौ र एउटै ढंगले प्रश्न राख्छौ । र, उनीहरुबाट एकैनासको जवाफ खोज्छौ । यसले कमजोर विद्यार्थीमा दबाव पर्छ । उनीहरुमा आत्माग्लानी हुन्छ ।

अर्काखाले बच्चा हुन्छन्, संवेदनसिल । उनीहरुलाई सानोतिनो कुराले छिटै विचलित हुन्छन् । यस्ता बच्चा अरुलाई कुटेको देखेर आफु डराउँछन् । शिक्षक वा साथीभाईले गर्ने रुखो व्यवहारबाट उनीहरु धेरै पीडा अनुभव गर्छन् । मनको कुरा खुलस्त गर्न पनि सक्दैनन् ।

स्कुलको माहौलमा चाडै घुलमिल हुने वा अर्को बच्चासँग रमाउने प्रवृत्ति हुँदैन । उनीहरुले स्कुलका सहपाठीबीचमा पनि एक्लो अनुभव गर्छन् ।

कति बच्चा सहपाठीले गर्ने दुव्र्यवहारको प्रतिकार गर्न सक्दैनन् । उनीहरु सहपाठीको व्यवहार सहेर बस्छन् । स्कुल सम्झनसाथ उनीहरुलाई त्यही सहपाठीको डर लाग्छ ।

यस्ता प्रवृत्तिका विद्यार्थीहरु स्कुल जान रुचाउँदैनन् वा स्कुलप्रति आकषिर्त हुँदैनन् ।

सिकाइको वातावरण

जब हामी बच्चालाई चिडियाघरमा लाने कुरा गर्छौ, उनीहरु उत्साहित हुन्छन् । फुरुंग हुन्छन् । चिडियाघरबाट फर्केपछि उनीहरुलाई हामी सोधौं, के-के देख्यौ ? कुन जनवार कस्तो थियो ? के गरिरहेको थियो ?

उनीहरुले फटाफट जवाफ दिन सक्छन् ।

जबकी बच्चालाई ७ घण्टा लगाएर पाठ पढाइन्छ । अनुशासनको कुरा सिकाइन्छ । तर, स्कुलबाट फर्केपछि उनीहरुलाई सोधौं, के के जान्यौ ?

उनीहरु सकेसम्म स्कुलको कुरा गर्न चाहँदैनन् । खेल्नतिर ध्यान दिन थाल्छन् । किन ?

किनभने, चिडियाघर प्रवेश गरिरहँदा उनीहरुको मन र मस्तिष्क खुला हुन्छ । उनीहरुमा अनेकौ जिज्ञासा हुन्छ । स्कुल प्रवेश गरिरहँदा उनीहरुको मस्तिष्कले डरले भरिएको हुन्छ । उनीहरुको दिमागमा केवल होमवर्क देखाउने, शिक्षकको प्रश्न सामना गर्ने, पाठ घोक्ने कुरा खेलिरहन्छ । केहि सिक्ने वा जान्ने वातावरण पाउँदैनन् ।

कसरी आकषिर्त गराउने ?

स्कुल बालबच्चाका लागि अनुकुल हुँदैन भन्ने होइन । तर, हाम्रा स्कुलहरु अनुकुल छैनन् भन्ने हो । स्कुल त्यस्तो हुनुपर्छ, जहाँ बच्चा भयरहित ढंगले पठन-पाठन गर्न सक्छन् । उनीहरुले स्कुललाई खेलस्थलको रुपमा बुझ्नुपर्छ । खेलकै माध्यामबाट बढी भन्दा बढी कुरा सिक्ने वातावरण हुनुपर्छ ।

१. बच्चासँगै आफुपनि स्कुल जाने गरौं, जबसम्म बच्चा स्कुलको वातावरणमा घुलमिल हुँदैनन् । त्यहाँ उनीहरुसँगै बस्ने । खेल्ने ।

 

२. सुरुका दिनहरुमा बच्चालाई त्यती समय मात्र स्कुल राखौं, जतिबेलासम्म उनीहरु रमाउन सक्छन् । उनीहरुलाई स्कुलमा अल्छी लागेको महसुष हुन नपाई घर ल्याउने गरौं । त्यसपछि क्रमस बच्चालाई लामो समय स्कुलमा बस्न अभ्यस्त गराउने ।

३. स्कुलमा नयाँ कुरा जान्न सकिन्छ भन्ने कुरा मनोवैज्ञानिक रुपमा अनुभूत गराउनु पर्छ ।

४. उनीहरुलाई स्कुलमा शिक्षकको डर हुनुहुँदैन । बच्चाहरु आमाबुवासँग जसरी हेलमेल गर्न सक्छन्, शिक्षकसँग पनि त्यसरी नै हेलमेल गर्न सक्ने हुनुपर्छ । शिक्षकहरु बच्चासँग मित्रवत् व्यवहार गर्ने खालको हुनुपर्छ ।

५. होमवर्कको तनाव, सजायको भय, साथीभाईको अपहेलना, पाठ घोक्नुपर्ने वाध्यता रहनु हुँदैन ।

६. पाठ घोक्नैपर्ने, होमवर्क गर्नैपर्ने, प्रश्नको हल गर्नैपर्ने वाध्यत्मक अवस्थामा पारिनु हुँदैन ।

७. अनुशासनको नाममा कैदी हरेक कुरामा सर्तक र सावधान रहन वाध्य पारिनु हुँदैन ।

८. पठन विधी यस्तो हुनुपर्छ, जसले उनीहरु ख्यालख्यालैमा नयाँ कुरा सिक्न सक्छन् । नयाँ ज्ञान वा अनुभव लिन सक्छन् ।

९. सामान्यत बिहान ९ बजेदेखि सुरु भएको स्कुल साढे तीन वा चार बजे बिदा हुन्छ । यस हिसाबले बच्चाले करिब ७ घण्टा एकै ठाउँमा विताउनुपर्छ । लगातार सात घण्टा पढाउने, घोकाउने होइन, बेलाबेलामा खेलाउने समय छुट्याउनुपर्छ ।

१०. कक्षाकोठाको साजसज्जा आकर्षक हुनुपर्छ । त्यहाँको भौतिक सामग्री बालमैत्री हुनुपर्छ । शौचालय आउजाउ गर्न होस् वा खेल्न बच्चाले सहज अनुभव गर्न सक्नुपर्छ ।

अभिभावकको लागि

अभिभावकको लागि बच्चा को लागि तस्बिर परिणाम

बच्चा स्कुल जान आनाकानी गर्छन् भने, त्यसका अभिभावकको दोष पनि हुनसक्छ । अपराधीलाई जेल पठाएजस्तै जबरजस्ती स्कुल पठाउने प्रवृत्ति अभिभावकको हुन्छ । यसले बच्चामा स्कुलप्रति थप विकर्षण पैदा गर्छ ।

हामी अभिभावकहरु स्कुलको बारेमा बुझाउनु, स्कुलको महत्व अनुभूत गराउनु सकिरहेका हुँदैनौ । त्यस्तै आफ्नो बच्चा अनुसार कस्तो स्कुल अनुकुल हुन्छ भन्ने कुरामा पनि ख्याल गरिदैन ।

आफ्नो बच्चा किन स्कुल जान मानिरहेका छैनन् ? यसको जवाफ खोज्दैनौ । बरु, बच्चालाई डर देखाएर वा लोभ देखाएर स्कुल पठाउने चेष्टा गरिरहेका हुन्छौ । आफ्नो बच्चा किन स्कुल जान मान्दैनन् भन्ने कारण मिहिन रुपमा केलाउनुपर्छ । कारण थाहा भएपछि त्यसको समाधान खोज्न सजिलो हुन्छ ।

बच्चाका लागि त्यही स्कुल खोजौं, जहाँ बच्चा भयरहित ढंगले पढ्न सक्छन् । रमाउन सक्छन् । शिक्षकले आमाबुवाले जस्तै व्यवहार गर्छन् । स्कुलको भौतिक संरचना वालमैत्री छ । स्कुल बच्चाप्रति उत्तरदायी छ । त्यही स्कुल बच्चाका लागि उपयुक्त हुन्छ ।




तपाईको प्रतिक्रिया दिनुहोस