Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारचिसो अझै बढ्ने सम्भावना? यसबाट बाच्ने उपाय

चिसो अझै बढ्ने सम्भावना? यसबाट बाच्ने उपाय


तापक्रम लगातार घटेका कारण देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । देशका धेरै स्थानमा बिहानीपख बाक्लो तुसारो पर्न तथा हुस्सु लाग्न शुरु गरेको छ ।

मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् सुवास रिमालले बताए । उनले भने– ‘यो समय नै चिसो बढ्ने हो । जनवरी पहिलो हप्ता चल्दै छ । जनवरीभर चिसो रहन्छ । ’ ३ दिनसम्म मात्र अनुमान गर्न सकिने बताउँदै मौसमविद् रिमालले अझै चिसो बढ्ने बताए । पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागिरहेको छ भने पहाडी क्षेत्रमा समेत चिसो बढेको छ ।

भैरहवा मापन केन्द्रमा यो वर्षकै चिसो शनिबार मापन गरिएको छ । शनिबार भैरहवा मापन केन्द्रमा न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सीयस मापन गरिएको छ ।

भैरहवा मापन केन्द्रमा मापन गरिएको गतवर्षको न्यूनतम तापक्रम जनवरी १३ मा भएको थियो । त्यो समयमा ३ दशमलव ६ डिग्री सेल्सीयस मापन गरिएको थियो । विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम अझै तल झर्ने मौसमविद् रिमालको भनाइ छ । महाशाखाका अनुसार काठमाडौँमा यही २० गते न्यूनतम एक दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो भने शुक्रबार र शनिबार एक दशमलव छ । शनिबार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम (माइनस) आठ दशमलव पाँच र सबैभन्दा बढी विराटनगरमा सात दशमलव सात डिग्री सेल्सियस छ । महाशाखाले देशभरमा १५ वटा स्टेशन बाट तापक्रम माापन गर्दै आइरहेको छ ।

जोगिनुस् चिसोबाट
चिसो मौसम र वातावरणको प्रत्यक्ष सम्बन्ध रहने भएकाले अहिले अस्पतालमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी बढिरहेका छन् ।
जाडोयाममा चिसोको एलर्जी, घाँटीको संक्रमण, चिसोमा हुने झाडापखाला, छाला, ओठ फुट्ने, चिलाउने, सुन्निने, शरीरमा सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने, ब्रोङ्काइटिस, दादुरा, ठेउलालगायत मुटु कमजोर हुने जस्ता समस्या पनि देखिन्छन् ।

यो बेलामा शरीरका बाहिरी भाग हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने जस्ता समस्या पनि हुन्छ । चिसोले विशेष गरी मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ । साथै शितलहर हुँदा मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयाघात हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि देखिने फिजिसियन डाक्टर नन्दु पाठकले बताए । तर केही साधारण कुरामा ध्यान दिन सकियो भने यस्ता धेरै रोगबाट सहजै बच्न सकिन्छ । डाक्टरका अनुसार चिसोको बेला आराम, व्यायाम र खानपानमा भने ध्यान दिनु आवश्यक छ ।

रुघाखोकी प्रमुख समस्या

चिसो बढेसँगै सामान्य रुघाखोकीको समस्या समेत बढ्दै गएको छ । मौसम परिवर्तन हुँदा रुघाखोकीले समाउने र थलिनेहरू बढिरहेका छन् । अस्पताल र स्वास्थ्य केन्द्रमा पनि प्रभावितहरूको संख्या बढेको छ ।

डाक्टरका अनुसार मौसम परिवर्तन हुँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र रुघाखोकीको संक्रमण बढ्ने गर्छ । सामान्य रुघाखोकीमा अर्थात मौसमी रुघाखोकीमा नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिउँ आइरहने, खान मन नलाग्ने, थकाइ अनुभव हुने जस्ता लक्षण देखा पर्दछ ।

जाडो मौसममा श्वासप्रश्वाससँग सम्बन्धित स्वास्थ्य समस्या बढी देखिने भएकाले चिसोबाट बच्न डाक्टरको सल्लाह छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. मरासिनीका अनुसार जाडोमा छातीमा कडा खालको समस्या देखिन्छ भने मुटु र रक्तनलीहरूमा पनि समस्या देखिन्छ ।
चिसोका बेला हावामा प्रदूषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै कणहरू पुग्ने उनले बताए । जाडोमा धुलोका कणहरू प्रशस्त मात्रामा रहने हुँदा हिँड्डुल गर्दा विशेष सतकर्ता अपनाउनुपर्छ ।

जाडोमा के गर्नु हुँदैन ?
जाडोको मौसममा सकेसम्म बिहान सबेरै मर्निङवाक् नगर्न र गर्नै परे नाक र मुख राम्रोसँग छोप्ने, छातीमा चिसो नपस्ने खालका कपडा र मास्क लगाउने साथै मुख छोपेर कडा व्यायाम गर्नु हुँदैन ।

यो बेला तराईमा तुषारो, बाक्लो हुस्सु, शितलहर, पहाड र हिमालमा हिउँसँगै हुने चिसोले जनजीवन कष्टकर नै बनाउँछ । तर चिसो भयो भन्दैमा पुरै झ्याल ढोका बन्द गरी बस्ने, हावा नै नछिर्ने ठाउँमा नुहाउने, बन्द कोठामा भुसको आगो बाल्ने, हिटर, कोइला बालेर ताप्ने गर्नु हुँदैन किनभने अक्सिजनको मात्रा कम हुने ठाउँमा आगोले कार्बन मोनोअक्साइड जस्ता विषालु ग्यास उत्सर्जन गरी शरीरलाई आवश्यक पर्ने अक्सिजन कम भई बिस्तारै अचेत हुने र ज्यानै समेत जान सक्छ ।

यसरी बचौँ

जाडोयाममा न्यानो लुगा, टोपी, मास्क लगाएर हिंड्नुपर्छ ।
बन्द कोठाभित्र बसेर भुस, कोइला, हिटरको आगो नताप्ने । बन्द बाथरुममा ननुहाउने ।
हावा छिर्ने ठाउँमा नुहाऊँ र नुहाएरपछि शरीरमा तोरीको तेल घस्ने र घाममा बस्दा फाइदा पुग्छ ।
झोलिला पदार्थ, पोषिलो खानेकुरा, फलफूल, तातो पानी, मांसहारी भए माछा मासु आवश्यकता अनुसार खाने ।
संक्रमित व्यक्तिबाट टाढै रहने, भिडभाडमा नजाने ।
जाडोमा हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने भएकाहरूले सकभर शरीर छोप्ने गरी कपडा लगाउने ।
विशेष गरी हात, कान र नाकलाई पन्जा, टोपी, गलबन्दी आदिले राम्ररी छोप्ने गर्नुपर्छ ।
अन्त्यमा सावधानी अपनाउँदा अपनाउँदै पनि कुनै समस्या देखिएमा सम्बन्धित विशेषज्ञसँग परामर्श लिने र उपचारतर्फ लाग्ने ।




तपाईको प्रतिक्रिया दिनुहोस