Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएक बिहानी

एक बिहानी


एक चिसो बिहानी
अनि जिउ नै कठ्याङ्ग्रिने जाडोको साथ
छिचोल्दै त्यो पेटि,
त्यो पुल,
त्यो गल्ली अनि त्यो फुटपाथ

देखिने त्यो दृश्य
जो बनिरहेछ हाम्रै अगाडि अदृश्य
जाडोले थरथर काँपिरहेको त्यो शरीर
खै, कसरी पुग्छन् त्यहाँ आखिर
रहरले वा करले
आजसम्म बुझेको छैन
हुनसक्छ
सायद बुझ्न चाहिन ।

 

टुक्राटुक्रा हुन्छ मन तब
ती हात फिँजाएर एक गाँस माग्छन् जब
आफै खान सक्दैनन्, कि हामीले दिदैनौ उनिहरुलाई गरि खान
भोको पेट अनि देशले बिचरा बनायो उनलाई कब
कतिका त आँखा छैनन्
र त लड्छन्
तर उठ्छन् अनि लाग्छन् गन्तब्यतर्फ सायद सोच्छन् होला
फेरि लड्दा
साथ दिने हामी छौ
हात दिने हामी छौ
तर हामी….।

कहिलेकाहीँ त लाग्छ
म मान्छे हुनु मै धिक्कार
जब सुन्छु
तिनै माथि भएछ अत्याचार
अनि बलत्कार
अनि निस्कने त्यो करुणादायी चित्कार
अनि आउँछ भोलिपल्ट
हेडलाईन बनेर
तिनकै मृत्युको समाचार
अनि हाँसो उठ्छ
दानवताले भरिएका यी मानव प्रति
आखिर
मृत्युको डर उनिहरुलाई पनि त हुँदो हो
जीउने रहर उनिहरुलाई पनि त हुँदो हो
मृत्युको डर नमानी
जीन्दगीलाई राखेर सिरानी
बाँचिरहेछन्
अनि हाँसिरहेछन्
हाम्रा जस्तै,
केही अधुरा चाहाना छन् उनिहरुका पनि
केहि अपुरा सपना छन् उनिहरुका पनि
तर,
हाम्रा नै कहाँ हुन्छन् र पूरा
त उनिहरुको के कुरा
हाम्रो जस्तै सादा सपना नै आउछन्
त्यो फुटपाथमा पनि
पूरा हुन्छन् एकदिन भनि रमाउछन्
त्यो फुटपाथमा पनि।

यसरी बाँच्छन
कि हर रात जीन्दगीको अन्तिम रात हो
अनि
हर दिन नयाँ जीन्दगीको सुरूवात हो ।
खै,
कस्तो लीला अनि लेखी भगवान तिम्रो
भ्रष्टाचार गर्नेलाई करोड अनि सम्मान दिलाउँछौ।
त्यही मन्दिरलाई घर
अनि तिमीलाई नै
आमाबुबा सम्झी बसेकाहरूलाई भोकै नाङ्गै राख्छौ।

जब देख्छु
यो दृश्य आफ्नै अगाडि
बाहिरी चिसोभन्दा मनमा चिसो बढ्छ
तब सोच्छु
सडकको त्यो फोहोरभन्दा पहिले
मनको फोहर हटाउनुछ
अनि मात्र
दाजुभाइ दिदीबहिनी मेरा
बस्ने छैनन ती सडक पेटी
ती पुल र
शहरका गल्लीमा
बस्ने छन त केवल

तपार्इँ  र
हामी सबैका मनमा।।

एक चिसो बिहानी
त्यो पेटि,
त्यो गल्ली अनि त्यो फुटपाथ
देखिने त्यो दृश्य
जो बनिरहेछ हाम्रै अगाडि अदृश्य ।

-महेश पाण्डेय

 




तपाईको प्रतिक्रिया दिनुहोस