Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट राखिँदै

नुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट राखिँदै


२५ मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापनाको जिम्मा पाएको राइजन इनर्जी नामक कम्पनीले काम अगाडि बढाएको छ । उक्त प्लान्ट नुवाकोटको विदुर नगरपालिकामा स्थापना गर्न लागिएको हो । अहिले त्यसको डिजाइन तयार पार्ने काम भइरहेको छ ।

ग्रिड सोलार एन्ड इनर्जी इफिसिएन्सीका आयोजना प्रमुख नुतनदेव भट्टराईका अनुसार दुई महिनाभित्र निर्माण शुरु हुनेछ । आगामी वर्षको हिउँदअघि नै निर्माण सक्ने योजना छ । परामर्शदाताबाट डिजाइन प्रमाणित भएलगत्तै निर्माण थाल्ने तयारी भइरहेको छ ।

संसदको सार्वजनिक लेखा समितिले १७ साउनमा ठेक्का सम्झौता खारेज गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो । कम रकम कबोल गर्ने कम्पनी हुँदाहुँदै बढी कबोल गर्नेलाई ठेक्का दिइएको लेखा समितिको आरोप थियो ।

त्यसविरुद्ध राइजनले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो । उच्च अदालतले २० कात्तिकमा राइजनकै पक्षमा फैसला दिएपछि उक्त आयोजना कार्यान्वयनको बाटो फुकेको हो ।

काम रोकिएपछि उक्त कम्पनीले प्राधिकरणसँग दुई करोड ७७ लाख अमेरिकी डलर (दुई अर्ब ७७ करोड रुपैयाँ) क्षतिपूर्ति पनि मागेको थियो । अदालतले राइजनकै पक्षमा फैसला दिएपछि क्षतिपूर्तिको विवाद टुंगिएको भट्टराईले जानकारी दिए ।

उनका अनुसार निर्माण शुरु भएको वर्षदिनभित्रै उत्पादन थाल्ने योजना छ ।

नुवाकोटका विदुर र बट्टारमा प्लान्ट स्थापना गर्ने योजना छ । त्रिशुली र देवीघाट जलविद्युत केन्द्रको खाली जग्गामा सोलार प्यानल राखिनेछ । राख्ने ठाउँ अपुग भएमा कुलेखानीमा समेत प्यानल राख्ने आयोजनाको तयारी छ ।

यसअघि विज्ञको टोलीले अयोग्य ठहर्‍याएको चिनियाँ कम्पनी पिङ्गाओ एन्ड हेरोन जेभीलाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले उक्त आयोजना जिम्मा लगाएका थिए । टेन्डरमा कम रकम आह्वान गर्ने कम्पनीहरुको सूचीमा पनि यो कम्पनी दोस्रो नम्बरमा परेको थियो ।

सोही कारण विश्व बैंकले उक्त कम्पनीलाई पनि निर्माणको जिम्मा दिन चाहेको थिएन । हालका कार्यकारी निर्देशक कुलमान घिसिङले राइजनलाई निर्माणको जिम्मा दिने निर्णय गरे । त्यसमा विश्व बैंक पनि सहमत भयो ।

लेखा समितिको हस्तक्षेपका कारण उक्त आयोजना वर्षदिन पछाडि धकेलिएको हो । यही हिउँदमा उत्पादन थाल्ने प्राधिकरणको योजना थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस