Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारगिद्धले दुई बच्चा कोर्यो

गिद्धले दुई बच्चा कोर्यो


चितवन राष्ट्रिय निकुञ्जमास्थित गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डङ्गर गिद्धले अण्डा कोरल्न थालेका छन् । प्रजनन केन्द्रका गिद्धले यस मौसममा १७ वटा अण्डा पारेकामा दुई वटा अण्डा कोरलेर बच्चा निकालेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले गिद्धको दुई वटा गुँडमा बच्चा देखिएको बताउनुभयो । गिद्ध रहेको ठाउँमा मानिस जान बन्देज गरिएको छ । त्यहाँ जडान गरिएको सिसी क्यामराबाट बच्चा देखिएको उहाँले बताउनुभयो । दुर्लभ मानिएको गिद्धको बच्चा कोरल्नुलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।

गतवर्ष गिद्धले १५ वटा अण्डा पारेकामा नौ वटाबाट मात्रै बच्चा कोरलिएको थियो । तीमध्ये आठ वटा जीवितै छन् । ।

खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्धमध्ये २५ वटा भाले र २४ वटा पोथी गिद्ध रहेको खड्काले जानकारी दिनुभयो । आठ वटा बच्चाको लिङ्ग पहिचान हुन सकेको छैन । गिद्धको डिएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउन सकिने खड्काले बताउनुभयो । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा डिएनए परीक्षण गरी लिङ्ग पहिचान गरिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डङ्गर गिद्ध संरक्षण गर्न थालिएको हो । यहाँ संरक्षण गरी हुर्किएका गिद्धलाई क्रमशः प्रकृतिमा छाडिने योजना छ ।
सन् २०१७ मा पाँच वटा, सन् २०१८ र २०१९ मा चार–चार वटा गरी १९ वटा गिद्ध प्रकृतिमा छाड्ने योजना बनाइए पनि सन् २०१७ मा छ वटा मात्रै प्रकृतिमा छाडिएको छ । प्रकृतिमा छाडिएका गिद्धलाई रेडियो कलरसमेत जडान गरिएको छ ।

अति संकटापन्न अवस्थामा रहेको डङ्गर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ । विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाडिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गिद्ध प्रजनन केन्द्रमा गिद्धको बच्चा कोरल्नुलाई प्रजाति संरक्षणमा महत्वपूर्ण उपलब्धिका रुपमा आफूहरुले लिएको बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस