कांग्रेस सुधार तीन आधारमा कार्य गर्ने
पुलेसो १८ पुस, २०७८, आईतबार ११:३०
आफ्नै नेतृत्वमा संविधान जारी गरेपछि भएको आम चुनावबाट नेपाली कांग्रेस इतिहासमा सबैभन्दा कमजोर भएपछि अहिले पार्टीलाई पुनर्जीवन दिनुपर्ने आवाज सबैभन्दा चर्को ढंगले उठ्न थालेको छ । नेपाली कांग्रेसमा अहिले नै पुनर्जीवन नै दिनुपर्ने अवस्थामा पुगेको छैन ।
तर अहिले नेपाली कांग्रेसका सुधारको जरुरत छ । अहिले सुधार गर्न सकिएन भने कुनै दिन पुनर्जीवन होइन इतिहासमा सीमित हुने कुरा पक्कै हो । योपटक इतिहासमा सबैभन्दा कमजोर कांग्रेस भएकै हो ।
यसरी कमजोर किन भयो भन्ने कारणको खोजी र समीक्षासँगै कांग्रेसले सुधारका लागि के गर्ने भन्ने पनि तय गर्न जरुरी छ । चुनावमा हार जित जे भए पनि समीक्षा हुन्छ । यो पटक पनि होला, तर यो पटक फगत समीक्षामा मात्र कांग्रेस केन्द्रित भयो भने इतिहासमा सीमित हुने निश्चित छ ।
यो पटक कांग्रेसले चुनावको समीक्षासँगै सुधारका आधारहरूको खोजी गर्न जरुरी छ । सुधारका आधारको खोजी गर्दा नेपाली कांग्रेसले धेरै आधारको खोजी गर्नुपर्ने अवस्था पनि देखिँदैन । कांग्रेसले विशेषगरी सुधारका लागि तीनवटा आधारको पहिचान गर्न सक्यो र यी तीन आधारमा कांग्रेसले यो बेलासम्म गल्ती गरेको महसुस गरेर अगाडि जान सक्यो भने कांग्रेस फेरि पनि नेपाली मतदाताको मनबाट टाढा जाने छैन । मतदाताले अहिले पनि कांग्रेसलाई निराश बनाएका छैनन् ।
यो पटक मतदाताले कांग्रेसलाई सुधारिएर आउने मात्र भनेका छन् । सुध्रिनका लागि पनि चुनावका बेलामा आम मतदाताले धेरै सर्त राखेका, धेरै असन्तुष्टि राखेको जस्तो देखिँदैन । कांग्रेसका परम्परागत मतदाताले रुख चिन्हमा मतदान गरे । तर नयाँ मतदाताले कांग्रेसमा सुधारको अपेक्षा राखे । कांग्रेस सुध्रिएमा ती नयाँ मतदाता कांग्रेसको पक्षमा पाँच वर्ष पछि आउने निश्चित जस्तो देखिन्छ । तर कांग्रेस सुधार भएन भने परम्परागत मतदाता पनि भड्किने छन् ।
कांग्रेसले सुधारका लागि तत्काल तीनवटा काम गर्न जरुरी छ । सबैभन्दा पहिलो काम भनेको आम नेता कार्यकर्ताले अवसरको न्यायोचित वितरण कांग्रेस गर्छ भन्ने सन्देश दिन जरुरी छ । अर्को, कांग्रेसले अब संगठन पुनर्निर्माण गर्छ भन्ने सन्देश पनि तत्काल दिनुपर्छ । त्यसैगरी नेपाली कांग्रेसले आफ्ना नीतिमा केही पुनर्विचार गर्छ भन्ने सन्देश आम मतदातालाई तत्काल दिनुपर्छ ।
अवसरको न्यायोचित वितरण
अवसरको न्यायोचित वितरण नगर्ने पार्टी नेपाली कांग्रेस हो भन्ने सन्देश आम कार्यकर्तामा मात्र होइन मतदातामा समेत पुगेको छ । यसलाई सुधार्नका लागि नेपाली कांग्रेसलाई एउटा अवसर पनि छ, त्यो भनेको समानुपातिकतर्फका सांसद चयनमा ध्यान दिन जरुरी थियो ।
तर कांग्रेसमा प्रदेशतर्फका समानुपातिक सांसदहरूको चयन गर्दा त्यो अवसरको सदुपयोग भए जस्तो लाग्दैन । दु:ख पाएका, अवसर नपाएका र अबको कांग्रेस बनाउन सक्ने अनुहार छान्ने भन्दा पनि कांग्रेसले गुटका राम्रा होइन हाम्रा छान्ने पराम्परालाई निरन्तरता दिएका कारण कांग्रेसको कार्यसम्पादन समितिमा विवाद देखियो ।
यतिबेलासम्म कुनै अवसर नपाएकाहरूको खोजी गरेको भए कसैले विरोध गर्ने विषय बन्दैनथ्यो होला । तर यहाँ त आफ्ना नाताका नभए, नेताका, नेता पनि नभए, गाउँका, गाउँका नभए गुटका छान्ने प्रयास हुँदा विवाद देखापर्यो ।
समानुपातिक भनेको आरक्षण हो । आरक्षणको सिद्धान्तलाई नै आधार मान्ने हो भने आरक्षणको कोटामा पर्ने मान्छेको अनुहार हेर्दा अन्य मुलुकमा हुने हो भने छानिने मान्छेलाई नै लज्जाबोध हुन्थ्यो होला । तर नेपालमा त्यो लज्जाबोध न छानिनेलाई हुन्छ न त छान्नेलाई हुन्छ ।
संसारकै सम्पन्न मान्छे पिछडिएको क्षेत्रबाट आरक्षित हुँदा पनि लज्जाबोध नहुने मुलुक नेपाल भएको छ । कोही आरक्षणका नाममा आजीवन आरक्षित भएका छन् । सधैं तिनै अनुहार कांग्रेसबाट आरक्षित हुँदा अरूले किन कांग्रेस हुने ? यो प्रश्न चुनावका बेलामा आम कांग्रेसका कार्यकर्तामात्र होइन मतदाताले उठाएका छन् ।
त्योभन्दा पनि अवसरलाई नेताका परिवार वा नेताका पीएहरूले उपयोग गर्ने अनि अवसर नपाउने सधैं कांग्रेस नै भइरहनुपर्ने यो अर्को प्रश्न कांग्रेसलाई गाउँगाउँमा गरिएको थियो ।
परिवार र पीएलाई समानुपातिक सूचीमा नाम राखेर चुनावी मैदानमा होमिएका नेताहरू फेरि अहिले पराजयको आरोप सधंै गाउँमा दु:ख गरेर कहिल्यै अवसर नपाएका कार्यकर्ता माथि लगाउन थालेका छन् । सबैभन्दा पहिले कांग्रेस अवसरको वितरणमा सुधार नगर्ने हो भने कांग्रेस कांग्रेस रहन्न ।
बीपीले २०१५ सालमा अवसरको न्यायोचित वितरण गरेका थिए, कर्णालीले पाएको थियो, दलितले पाएको थियो, हिमाल, पहाड, तराईले पाएको थियो भन्ने विषयलाई जनतासमक्ष लैजाने आधार पनि नेताहरूमा बाँकी रहन्न ।
संगठन पुनर्निर्माण
संगठनको संरचना कस्तो बनाउने भन्ने विषयमा कांग्रेसले बहस चलाउन जरुरी छ । कांग्रेसलाई मास बेस पार्टी भनिन्छ, तर संगठन कम्युनिस्टको जस्तो क्याडरबेसमा छ । क्रियाशील सदस्य दिने अनि ती क्रियाशीलका आधारमा नेतृत्व चयन गर्ने । यसमा कांग्रेसले सुधार गर्न आवश्यक छ ।
त्यो भनेको कांग्रेसले कि अब साधारण सदस्यता, क्रियाशील सदस्यता भनेर वितरण गर्नुपर्छ । या त सम्पूर्ण रूपमा मास बेस भएर नेतृत्व चयनको आधार बनाउनुपर्छ । क्रियाशील सदस्यता वितरण गरेर नेतृत्व छान्ने अनि मास बेस पार्टी हुँ भन्न अब कांग्रेसले छाड्नुपर्छ ।
अमेरिका, युरोपमा जस्तै आम मान्छेबाट नेतृत्व छानिनुपर्छ । आम चुनावका उम्मेदवार कांग्रेसको आन्तरिक चुनावबाट चयन हुनुपर्छ । मास बेस पार्टीमा को कहिले कांग्रेसमा आउँला, को कहिले कांग्रेस छाडेर जाला कुनै मतलव हुँदैन । अन्यथा अब कांग्रेस कांग्रेस रहन्न ।
मास बेस पार्टी होइन सदस्यता वितरण गरेर जाने हो भने अहिलेको क्रियाशील सदस्यता वितरण प्रणालीलाई परिमार्जन गर्नुपर्छ । यो चुनावपछि धेरै उम्मेदवारको गुनासो सुनिएको छ । पार्टीको कमिटीमा रहेका धेरै पदाधिकारीहरूलाई चुनावमा परिचालन गर्न समस्या पर्यो ।
पार्टीका विभिन्न कमिटीमा रहेका जिम्मेवार मान्छे आम मतदाताको जस्तो उम्मेदवारले फोन गरेन । उम्मेदवार आफ्नोमा आएन भन्ने जस्ता भाउ खोजेर बसेको गुनासो धेरै उम्मेदवारले गरेका छन् । यो एक ठाउँ दुई ठाउँ मात्र होइन हरेक निर्वाचन क्षेत्रमा भएको छ ।
यसलाई सुधार गर्ने एउटामात्रै उपाय भनेको क्रियाशील सदस्यता वितरण प्रणालीमा सुधार हो, या सदस्यता वितरण प्रणालीलाई खारेज गरेर पूर्ण रूपले मास बेस पार्टी बन्नु नै हो । अब पनि कांग्रेसले संगठनलाई यसरी पुनर्निर्माण गर्न सकेन भने कांग्रेस कांग्रेस रहन सक्दैन ।
नीतिमा पुनर्विचार
नेपाली कांग्रेसले यो पटक आम चुनावमा पराजय भएसँगै केही नीतिमा पनि पुनर्विचार गर्ने वा केही गलत नीति लिएको भन्ने पनि चर्चा सुरु भएको छ । केही नीतिमा पनि पुनर्विचार गर्नुपर्ने र पार्टी पछिल्लो समयमा लिएका केही नीति पनि गलत हुन् भन्न सक्नुपर्छ ।
पहिलो कुरा भनेको कांग्रेसले लिएका केही नीति अवश्य पनि गलत थिए । नेपाली कांग्रेस यही साता बीपी कोइरालाले लिएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ । बीपी कोइराला आजैका दिन २०३३ सालमा मेलमिलापको नीति लिएर आठ वर्षको निर्वासन त्यागेर स्वदेश फिर्ता हुनुभएको थियो ।
यसरी स्वदेश फिर्ता हुँदा पनि उहाँले न कम्युनिस्टसँगको सहकार्य भन्नुभएको थियो, न त पञ्चायतसँगको सहयात्रा सुरु गर्नुभएको थियो । त्यो बेलाको परिवेशमा राजा र जनताका बीचमा मेलमिलाप भन्नुभएको थियो । तर कांग्रेसले २०४६ साल यता कम्युनिस्टहरूसँग नै सहकार्य गर्दै आयो ।
यो पछिल्लो समय कांग्रेसले लिएको नीति हो भने अब सुधार गर्नुपर्ने देखियो । किनकि नेपाली कांग्रेसका परम्परागत मतदाताले पनि कम्युनिस्टसँगको एकतालाई स्वीकार गरेनन् । त्यो स्वीकार नगरेको तथ्य स्थानीय तहको चुनावमा चितवनमा देखियो । भरतपुर महानगरपालिकामा कांग्रेससँग स्पष्ट बहुमत हुँदा हुँदै पनि माओवादीलाई प्रमुख छाड्ने पार्टीको निर्णयलाई त्यो बेला नै जनताले एक ढंगले अस्वीकार गरेका हुन् ।
त्योभन्दा पछि प्रदेश र प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसले वाम गठबन्धन बनेपछि लोकतान्त्रिक गठबन्धनको प्रयास गर्यो, तर सफल हुन सकेन । यो सफल नहुनुका पनि केही आधार छन्, ती आधार केलाउने हो भने फेरि एकपटक बीपी कोइरालालाई सम्झन जरुरी छ ।
त्यो भनेको बीपी कोइरालाले कट्टर पञ्चहरूलाई स्वीकार गर्नुपर्छ भनेका थिएनन् । तर कांग्रेसले तिनै पञ्चसँगको सहयात्रा गरेर लोकतान्त्रिक होइन झन्डै झन्डै दक्षिणपन्थी गठबन्धनको प्रयास गर्यो ।
पूर्वपञ्चहरूसँगको गठबन्धन बनाउँदै गर्दा नेपाली कांग्रेसले हिजोसम्मका सहयात्री मधेसी दललाई भने बेवास्ता गर्यो वा मधेसमा गठबन्धन बनाउन सकेन । यो कांग्रेस नेतृत्वको कमजोरी हो ।
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा कमल थापाजस्ता पूर्वपञ्च अटाउने तर हिजोका दिनमा कांग्रेसको राजनीतिमा रहेका महन्थ ठाकुर, शरदसिंह भण्डारीहरू नअटाउने होइन कुनै पनि हालतमा अटाउनु पर्दथ्यो । यहाँनेर कांग्रेसको नेतृत्व चुकेको हो ।
त्यसैगरी अब नेपाली आफ्ना केही नीतिगत विषयमा सुधार गर्नैपर्छ । कांग्रेसले यसरी नीतिमा सुधार नगरेसम्म कांग्रेसको सुधारको कल्पना गर्नै सकिँदैन । बीपीको नेतृत्वपछि नेपाली कांग्रेसले कहिल्यै पनि लोकतन्त्र र प्रजातन्त्रका मूल्य र मान्यताहरूलाई व्यवहारमा उतार्न सकेन ।
यो विषयमा कांग्रेस जति पछि हुँदै गयो त्यति पछि पर्दै गयो । कांग्रेसको विदेश नीति कांग्रेसको शिक्षानीति कांग्रेसको स्वास्थ्यनीति, कांग्रेसको अर्थनीति के हो ? यी विषयमा अब साँच्चै जनताले बुझ्ने भाषामा स्पष्ट रूपमा नीति तयार गर्नुपर्छ । कांग्रेसका पालामा सुरु गरेको खुल्ला बजार अर्थतन्त्रका कारण आजको मुलुक सम्भव भएको हो । यसमा कुनै दुविधा भएन ।
तर कांग्रेसका पालामा हुन नसकेका अरू धेरै विषय छन् । कांग्रेसका पालामा सामाजिक सुरक्षाका विषय के काम भए ? खुल्ला बजारका कारण मुलुकको अर्थतन्त्र त जोगियो तर खोइ कांग्रेसका कारण विपन्नले आय गर्ने मौका पाएको अनि खोइ निमुखले न्याय पाएको ।
अर्को सुधार गर्नै पर्ने र छलफल हुनै पर्ने विषय भनेको अहिले कांग्रेसले चुनावको साँच्चै समीक्षा हो । त्यो समीक्षा भनेको कसैले कसैलाई आरोप, प्रत्यारोप गर्ने भन्दा पनि नेतृत्वले गर्न नसकेको विषय र अब नयाँ नीति के हुन सक्छ भन्नेमा छलफल हुन जरुरी छ । नयाँ नीतिमा बहस हुँदा नयाँ कांग्रेसका बारेमा छलफल नयाँ कांग्रेस बन्दै गर्दा नयाँ नेतृत्व पनि जन्मन्छ । (देशान्तरबाट)