१६ वर्षअघि आजको दिनमा सार्वजनिक हुने गर्दथ्यो
जन्मदिनको अवसरमा १६ वर्षअघि सार्वजनिक विदा
पुलेसो १६ पुस, २०७८, शुक्रबार १०:५४
आज पुस १४, तत्कालिन राजा वीरेन्द्रवीर विक्रम शाहको जन्मदिनको अवसरमा १६ वर्षअघि पुस १४ मा सार्वजनिक विदा नै हुने गर्दथ्यो । पुस १४ अर्थात तत्कालिन राजाको जन्मदिनको उपलक्ष्यमा सार्वजनिक विदा दिने चलन थियो । राजदरबार हत्याकाण्ड भएर तत्कालिन राजा वीरेन्द्रवीर विक्रम शाहको निधन भएको पनि १६ वर्ष वितिसकेको छ ।

१६ वर्षको बीचमा देशमा धेरै परिवर्तन आइसकेको छ । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आइसकेको छ, देशमा राजतन्त्र हटिसकेको छ । विक्रम संवत् २००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रवार राति नारायणहिटी हत्याकाण्डमा निधन भएको थियो ।
उनी नेपालका दशौं शाहवंशीय राजा थिए । उनको विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । वीरेन्द्रकै समयमा २०४६ सालमा नेपालमा प्रजातन्त्रको पुनर्बहाली भएको थियो । नेपाली जनताबीच प्रिय राजाको छवि बनाएका वीरेन्द्रको वंश विनाश हुने गरी जेठ १९ मा नारायणहिटी दरबारभित्रै हत्याकाण्ड मच्चाइएपछि नेपाली धर्तीबाट राजतन्त्रको अन्त्य प्रक्रिया शुरु भएको मानिन्छ ।

वीरेन्द्रकै कार्यकालमा पहिलोपटक २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रह घोषणा गरिएको थियो । जनमतसंग्रहमा सुधारिएको पञ्चायतले जितेपछि तत्कालीन सरकारको नेतृत्व गर्नेहरुले जनमत संग्रहको परिणाम तलमाथि पारेको आरोप समेत लागेको थियो । तर बहुदल पक्षको नेतृत्व गरेका बिपी कोइरालाले परिणाम स्वीकार गरेका थिए ।
२०४६ सालमा राजसत्ता तथा मुलुकको स्थायित्वका लागि आफूमा निहित सार्वभौमसत्ता दलहरुलाई सुम्पने निर्णय गरेका उनले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवि बनाएका थिए ।
वीरेन्द्र दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क) का एकजना संस्थापक पनि हुन् । २०४२ साल मंसिर २२ र २३ गते (सन् १९९५ डिसेम्बर ७ र ८)का दिन दक्षिण एशियाली नेताहरु बंगलादेशका स्वर्गीय राष्ट्रपति जियाउल रहमान, नेपालका स्वर्गीय राजा श्री ५ वीरेन्द्र, श्रीलंकाका स्वर्गीय राष्ट्रपति जुलियस रिचर्ड जयवर्द्धने, भारतका पूर्व राष्ट्रपति स्वर्गीय निलम सञ्जीवा रेड्डी, बंगलादेशका राष्ट्रपति स्वर्गीय मोहम्म्द यासिर तथा पाकिस्तानका स्वर्गीय राष्ट्रपति मोहम्मद जियाउल हक लगायत यस क्षेत्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु बीच बंगलादेशको राजधानी ढाकामा भएको बैठकले यसको बडापत्रलाई स्वीकृत तथा अनुमोदन गरेको थियो ।

राजपरिवारका सदस्यहरु एकै ठाउँमा भेला भएको बेलामा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, निराजन, राजकुमारी श्रुतीसहित १० जनाको मृत्यु भएको थियो । वीरेन्द्र शाहकै जेठा छोरा दीपेन्द्र शाहले घरायसी बेमेलका कारण गोली चलाएको भन्ने प्रतिवेदन सार्वजनिक गरिएपनि धेरैले यसलाई विश्वास गर्न सकेका छैनन् ।


