गृहपृष्ठ ∕
समाचार ∕
लघुजलविद्युत बन्द हुँदा अन्धकारमा बस्न बाध्य स्थानीयवासी लघुजलविद्युत बन्द हुँदा अन्धकारमा बस्न बाध्य स्थानीयवासी
पुलेसो १४ पुस, २०७८, बुधबार १२:०३
आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् । लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।
लेकम गाउँपालिका–१ चौडमा रहेको ११.५ किलोवाट क्षमता भएको दानुगाड लघुविद्युत् आयोजना पाँच महिनादेखि बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका स्थानीय मानबहादुर कार्कीले जानकारी दिनुभयो । लघुजलविद्युत् आयोजना बन्द हुँदा मोबाइल चार्ज गर्न समस्याका साथै विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ ।
तीन वर्ष अगाडिदेखि सञ्चालनमा दानुगाड लघुविद्युत् आयोजना बेलाबेलामा बन्द हुने समस्याले गर्दा समस्या भएको छ ।
विद्युत् सेवा सञ्चालनमा रहेका बेला पनि कुनै बेला कम भोल्टेज कुनै बेला बढी भोल्टेजको विद्युत् प्रवाह हुने गरेको लेकम गाउँपालिका–१ सेजालीका कमला कार्कीे जानकारी दिनुभयो । भोल्टेजमा घटबढ हुँदा मोबाइल सेट, चिम तथा बल्बका साथै विद्युतीय उपकरण बिग्रिने गरेको छ उहाँले भन्नुभयो, “महिलाले घरायसी काम गर्न राति अबेर तथा बिहान सबेरै उठ्नुपर्ने भएकाले बिजुली बन्द हुँदा समस्या हुने गरेको छ ।”
पाँच महिनादेखि लघुजलविद्युत् आयोजना बन्द हुँदा लेकम गाउँपालिका–१ का सेजाली, चौड, वित्थड, भरणकोटका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।