Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआयोगको निर्णय- चार दिनभित्रै समानुपातिकको परिणाम

आयोगको निर्णय- चार दिनभित्रै समानुपातिकको परिणाम


निर्वाचन आयोगले चार दिनभित्र प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फका दलहरूको सिटको टुंगो लगाउने तयारी गरेको छ । केही दिनअघि मात्रै प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका २ सय २० सिटमध्येबाट दलहरूको सिट बाँडफाँटको टुंगो लगाएको आयोगले चार दिनभित्रै प्रतिनिधिसभाको १ सय १० सिट रहेको समानुपातिक सिट बाँडफाँटको टुंगो लगाउने तयारी अघि बढाएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले आयोगले केही दिनअघि मात्रै प्रदेशसभातर्फका दलहरूको सिट संख्या तोकेको भन्दै अब चार दिनभित्र प्रतिनिधिसभातर्फको समानुपातिक सिटको टुंगो लगाउनेगरी आयोग अघि बढेको बताए । ‘चार दिनको मेहनतपछि केही दिनअघि मात्रै प्रदेशसभातर्फको समानुपातिक प्रणालीको सिटको टुंगो लगायौं, अब चार दिनभित्र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या टुंगो लगाउनेगरी आयोगले काम गरिरहेको छ,’ प्रवक्ता ढकालले राजधानीसँग भने ।

उनले आयोगले समानुपातिक प्रणालीतर्फको मतपरिणाममा दलहरूको दबाबका कारण ढिलाइ गरेको भन्ने हल्ला चलेको भन्दै त्यसमा कुनै सत्यता नरहेको समेत दाबी गरे । ‘आयोगलाई कुनै दलको त्यस्तो केही दबाब छैन, आयोगले कसैको दबाब र प्रभावबिना नै काम गरिरहेको छ, राजनीतिक वृत्तमा के हल्ला चल्छ, आयोग जान्दैन,’ ढकालले भने ।

आयोगले प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका २ सय २० सिटको दलहरूले पाउने भागको टुंगो लगाए पनि प्रतिनिधिसभातर्फका १ सय १० सिटको कुन दलले कति सिट पाउने भन्ने टुंगो लगाउन ढिलाइ हुँदा आयोगको आलोचना भइरहेको छ ।

आयोगले निर्वाचन कानुनअनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी प्राप्त मतलाई गणना गरी प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलका तर्पmबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको सिटको टुंगो लगाउनेछ । यसरी सिटको टुंगो लगाउँदा प्रतिनिधिसभातर्फ ३ प्रतिशत र प्रदेशसभातर्फ १ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कायम रहने आयोगले बताएको छ । आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ५ लाख मत खसेको बताउँदै आएको छ । सो मत बदर मतबाहेक भएको र बदर मत घटाउदा बाँकी रहने कुल मत समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मतमा गणना हुने बताइएको छ । (रासस)




तपाईको प्रतिक्रिया दिनुहोस