Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदलाल समाजवादको आतंक !

दलाल समाजवादको आतंक !


दलाल पुँजीवाद सुन्दै आएका हामीलाई यो लेखको शीर्षक अनौठो लाग्न सक्छ । ‘दलाल समाजवाद’ पदावलीलाई पचाउनेगरी हामी अभ्यस्त भइसकेका छैनौं । राज्य सञ्चालनमा ‘दलाल’ नै नचाहिने प्रणाली ‘दलाल पुँजीवाद’ हुने तर ‘दलाल’ अनिवार्य भएको व्यवस्था भने ‘दलाल समाजवाद’ किन नहुने ? भन्ने यो लेखको चासो हो ।

केही साताअघि, यसै दैनिकमा एकजना मिहेनती किसानको उत्पादनले भाउ पाउन नसकेको सन्दर्भलाई लिएर लेखिएको लेख प्रकाशित भएको थियो । ‘हुन त म अर्थशास्त्रको ज्ञाता होइन’ भन्दै सुरु भएको उक्त लेख ‘पुँजीवादीभन्दा समाजवादी अर्थव्यवस्था ठिक हो’ भन्ने निष्कर्षसँगै टुंगिएको थियो । अर्थशास्त्रको ज्ञान नै नभएका विद्वान लेखक कसरी पुँजीवादीभन्दा समाजवादी अर्थव्यवस्था उत्तम हो भन्ने टुंगोमा पुगे भनेर पाठकले आश्चर्य मान्नुपर्ने अवस्था थियो ।

तीजको अवसरमा एउटा लेख पुँजीवादसँग जोडिएर आएको थियो । ‘तीज र पुँजीवादी भड्काव’ शीर्षकको उक्त लेखमा धनवानहरूले पर्वमा गर्ने फजुल खर्च र यसबाट धनहीनहरूलाई पर्नगएको अप्ठेरोको चर्चा गरिएको थियो । यो लेखमा पनि शीर्षकमा पुँजीवाद किन आयो, पाठकले थाहा पाउने अवस्था थिएन ।

केही दिनअघि व्यापार घाटा बढ्दै गएको, आन्तरिक उत्पादन घट्दै गएको अवस्थालाई लिएर मुलुकले मानेको अर्थविद तथा पाका राजनीतिकर्मीले अर्को लेख लेखेका थिए । उनले पनि ‘दलाल पुँजीवाद’लाई समस्याको कारकका रूपमा प्रस्तुत गरेका थिए ।

‘पुँजीवाद’ शब्दको दुरुपयोग बढ्दै गएको यी केही उदाहरण हुन् । नेपालमा कम्युनिष्टहरूले धेरै शब्द तथा शब्दावलीलाई चर्चित बनाएका छन् । उच्चारणले मात्रै मान्छेलाई रोमाञ्चित बनाइदिने त्यस्ता शब्दहरूको जति धेरै प्रयोग गरेर लेख्न सक्यो वा बोल्न सक्यो, त्यति नै ठूलो क्रान्तिकारी बनिने अवस्था अझै छ । त्यसमध्ये ‘पुँजीवाद’ एउटा हो । गैरकम्युनिस्ट र मन नपरेकालाई पुँजीवादसँग विभिन्न विशेषण जोडेर गाली गर्ने अनि आफूलाई खाँट्टी कम्युनिस्ट कहलाउने तिगडमसँग हामी परिचित छौं ।

कम्युनिस्ट पार्टीका पूर्णकालीन नेता तथा कार्यकर्ताले आफूले अँगालेको वाद नै सही हो, पुँजीवाद खराब हो भन्नु अनौठो होइन । तर आफूलाई स्वतन्त्र भन्न रुचाउने बुद्धिजीवीसमेत निरपेक्ष रूपमा पुँजीवादलाई गलत सावित गर्न उद्यत हुनु अस्वाभाविक हो । यसले स्वच्छ बौद्धिक बहस तथा उन्नत चिन्तन परम्पराको विकासमा योगदान गर्दैन । यसैको प्रभाव हुनुपर्छ, हाम्रो अर्थराजनीतिक बहस एकांगी हुँदै गएको छ । पुँजीवादसँग जोडिएर आएका सबै कुरा गलत हुन् भन्ने मान्यता विकसित हुँदै गएको छ ।

जानी–नजानी ठाउँ–कुठाउँमा ‘पुँजीवाद’ शब्द प्रयोग हुनुमा हाम्रा ‘क्रान्तिकारी कम्युनिस्ट’हरूको चर्को भाषणको ठूलो योगदान छ । बहुसंख्यक नेपालीमा पुँजीवाद शब्दले ठूलो नकारात्मकता बोकेको हुन्छ भन्ने भान परेको छ । जसरी समाजवाद वा माक्र्सवादलाई नपढिकनै राम्रो भनिन्छ, त्यसैगरी पुँजीवादलाई नपढिकनै नराम्रो भनिन्छ । गरिबहरूको मुलुकमा पुँजी हुनेहरूको मनोमानी चल्ने व्यवस्था नै पुँजीवाद हो भनेर अथ्र्याइदिएपछि बुझ्न बाँकी नै के रहन्छ र ? अझै पुँजीवाद विश्व बैंक, मुद्राकोष र विश्व व्यापार संगठनको एजेन्डा हो, अमेरिका र युरोपेली साम्राज्यवादीको लुट्ने सूत्र हो भनेर थप बदनाम गरिएको छ । पँुजीवादलाई बदनाम गरेकै भरमा समाजवाद स्थापित हुन खोजेको छ ।

अक्सफोर्ड डिक्सनरीका अनुसार ‘क्यापिटालिजम’ शब्दको पहिलो प्रयोग विलियम मेकपिस थ्याकरेले सन् १८५४ को उपन्यास ‘द न्युकम्स’मा गरेका थिए । एडम स्मिथ लगायतका विचारक जसलाई कथित पुँजीवादको प्रवर्तक मानिन्छ, उनीहरूले यो शब्द प्रयोग नै गरेका छैनन् । माक्र्स र एंगेल्सले पनि ‘क्यापिटालिजम’ शब्दको प्रयोग निकै थोरै गरेका छन् । यसको सट्टामा उनीहरूले ‘क्यापिटालिस्ट मोड अफ प्रोडक्सन’ र ‘क्यापिटालिस्ट सिस्टम’ प्रयोग गरेका छन् ।

अंग्रेजीमा ‘इजम’ र नेपालीमा ‘वाद’ जोडिएका शब्दहरूले बृहत अर्थ राख्छन् । सबै सन्दर्भमा ‘इजम’ वा ‘वाद’ले विचार पद्धति वा चिन्तनधारा, अभ्यास, आदर्श, मूल्य, मान्यतालाई संकेत गर्दैन । व्यक्ति, प्रवृत्ति वा वस्तुको विशिष्ट अवस्थालाई बुझाउनेगरी पनि ‘इजम’ वा ‘वाद’ प्रयोग भएको हुन्छ । जस्तो सामन्तवाद, नातावाद, कृपावादले कुनै चिन्तनधाराको प्रतिनिधित्व गर्दैन । तर अराजकतावाद, पुँजीवाद, राज्यवाद, समाजवाद, साम्यवादजस्ता पदावलीमा विचार पद्धति वा चिन्तनधारा, अभ्यास, आदर्श, मूल्य, मान्यता सँगसँगै प्रवृत्ति र विशिष्ट अवस्था पनि जोडिएको हुन्छ ।

‘पुँजीवाद’लाई जोडेर हामीकहाँ हुने छलफल (लेखाइ वा भाषण) मा केलाई संकेत गर्न खोजिएको हो, छुट्याउन गाह्रो हुन्छ । ती छलफलहरू विषयवस्तु (कन्टेन्ट) मा भन्दा शब्दाडम्बर (रिटोरिक) मा रुमल्लिएका हुन्छन् । कुनै विषय कसरी पुँजीवादसँग जोडिन आइपुग्यो र त्यो के कारणले सही वा गलत हुनपुग्यो भनेर व्याख्या गर्ने कष्ट वक्ता वा लेखकले गर्दैनन् । उठान गरिएको विषयलाई तथ्य वा तर्कबाट पुष्टि गर्ने प्रयास गरिँदैन, एउटा सन्दर्भलाई लिएर सोझै निष्कर्षमा पुगिन्छ ।

पुँजी, श्रम, भूमिजस्ता उत्पादनका साधनको निजी स्वामित्व र परिचालनले अधिकतम उत्पादन र आदर्शतम वितरण सुनिश्चित गर्छ भन्ने पुनर्जागरणकालीन जोन लक, एडम स्मिथ, जेएस मिल लगायतका विचारकहरूको तर्क थियो । बजार शक्तिको स्वतन्त्र अन्तरक्रियाबाट त्यस्तो आदर्शतम अवस्था हासिल हुन्छ भन्ने उनीहरूको मान्यता थियो । कार्लमाक्र्सले भने पुँजीको स्वामी हावी हुँदा बजारले सन्तुलन प्राप्त गर्न सक्दैन, त्यसैले बाह्य हस्तक्षेप आवश्यक हुन्छ भनेका थिए । ‘सर्वहाराको सत्ता’लाई उनले बजार सन्तुलन कायम गर्नसक्ने हस्तक्षेपकारी निकायका रूपमा प्रस्तुत गरेका थिए ।

माक्र्सकै तर्क बमोजिम नभए पनि पुँजी उत्पादनका अन्य साधनभन्दा सौदाबाजीमा माथि हुन्छ र तुलनात्मक रूपमा बढी प्रतिफल प्राप्त गर्छ भन्ने सिद्ध भइसकेको छ । तर माक्र्सले भनेझैं पुँजीको स्वामी स्थिर हुँदैन । अहिलेको आधुनिक अर्थतन्त्रमा त झन् पुँजीको स्वामी को हो, को होइन भन्ने छुट्याउन कठिन बन्दै गएको छ । पुँजीको परिभाषामा पर्ने मूर्त तथा अमूर्त वस्तुको दायरामा पनि व्यापक विस्तार भएको छ । त्यसैले पुँजी, श्रम र भूमिको स्वामीलाई अलग्याउँदै नियोजित तथा निश्चित अर्थराजनीतिक दिशामा बढ्ने विषय असान्दर्भिक बनेको छ ।

हाम्रो समाज यो बहसमा सामेल नै छैन । विभिन्न कारणले हामी हाम्रा नेताहरूलाई मनपराउँदैनौं, तर उनीहरूले तय गरिदिएको गन्तव्यमा जान राजी छौं । उनीहरूले हाम्रो लक्ष्य राज्य बलियो हुने समाजवादी व्यवस्था हो भन्दै संविधानमा लेखिदिएका छन् । त्यसै अनुरूप राष्ट्रिय योजना आयोगले कागजमै सीमित हुने भए पनि योजना बनाइदिएको छ ।

माक्र्स र माक्र्सवादीले भनेकै मान्ने हो भने उत्पादन र वितरणको सर्वोत्तम व्यवस्थाका लागि सर्वहाराहरूको अधिनायकत्व आवश्यक हुन्छ । त्यो अधिनायक किसान, मजदुरहरूको प्रतिनिधि (एजेन्ट) हो ।

‘एजेन्ट’लाई नेपालीसहितको भारतीय भाषामा मध्यस्थकर्ता वा दलाल भनिन्छ ।

माक्र्स र माक्र्सवादले विरोध गरेको अर्थ राजनीतिक बजार प्रणालीलाई ‘पुँजीवाद’ र उनीहरूले प्रबद्र्धन गर्न खोजेको सामूहिकतामा आधारित राज्यकेन्द्रित प्रणालीलाई ‘समाजवाद’ वा ‘साम्यवाद’ भन्ने हो, ‘दलाल’ दोस्रो किसिमको व्यवस्थामा आवश्यक हुन्छ, पहिलोमा होइन । अर्थात ‘दलाल’ समाजवादी वा साम्यवादी प्रणालीलाई आवश्यक हुन्छ, पुँजीवादी व्यवस्थामा जनताले आफ्नो व्यवस्था आफै गर्छन् वा बजारको अदृश्य हातले गर्छ ।

हाम्रा दलहरू कुनै न कुनै किसिमले आफूलाई समाजवादीका रूपमा प्रस्तुत गर्न चाहन्छन् । कांग्रेसले बीपीको समाजवाद जपेर ब्याज खाइरहेको छ । एमाले र माओवादीले आफूलाई कम्युनिस्ट भएको दाबी गर्छन् । तराई र पहाडका पहिचानवादी दलहरूले समेत आफ्नो नाममा समाजवादको फुर्को जोडेका छन् । नयाँ सोचका साथ अगाडि आएको भन्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत हुन खोजिरहेको समूहले पनि ‘कल्याणकारी राज्य’को कुरा गरिरहेका छन् । राज्य वा सरकारलाई प्रधान मान्ने यस्तो सोच र शक्ति समाजवादी वा साम्यवादी जत्तिकै कमसल हुन्छ ।

अहिले मुलुकमा सक्रिय राजनीतिक शक्तिहरूबीच एउटैमात्र समानता छ । यी सबै समाजवादी वा राज्यवादी हुन् । हाल व्याप्त विसंगति तथा हाम्रा दु:खको जिम्मेवार यिनलाई मान्ने हो (मान्नै पर्छ) भने समस्याको मूल जरो दलाल (प्रतिनिधि, नेता, मध्यस्थकर्ता, एजेन्ट) अपरिहार्य रहेको समाजवाद (राज्यवाद) हो भन्नुपर्छ । सत्ता, विपक्ष, संसद, सडकमा जताततै समाजवादी छन् । त्यसकारण समस्या ‘दलाल पुँजीवाद’ होइन, ‘दलाल समाजवाद’ हो । अस्तित्वमै नआएको पुँजीवाद हाम्रो समस्या कसरी हुनसक्छ ?

चित्त बुझाउन दलहरू सच्चा समाजवादी नभएर वा समाजवादी मूल्य–मान्यताप्रति प्रतिबद्ध नभएर समस्या आएको हो भन्न सकिएला । तर दलहरू समाजवादप्रति साँच्चिकै इमानदार हुँदा पनि समस्या ज्युँकात्युँ रहन्छ । एउटा प्रतिबद्ध समाजवादीले ठानेको आदर्श राज्य (गन्तव्य) मा पुग्ने माध्यम (मार्ग) पुँजीवाद हो भन्छ । तर त्यो गन्तव्यमा कहिल्यै पुगिँदैन । मानवीय समाज कुनै गन्तव्यमा पुग्न यात्रा गरिरहेकै छैन । यात्रा स्वयंमा सबथोक हो । भोलिका कुरा देखाउने, अमूक गन्तव्यलाई देखाउने प्रवृत्ति समाजवादी असफलताका बहाना मात्र हुन् ।

वर्तमानप्रति तपाई असन्तुष्ट हुनुहुन्छ र यसको कारण ‘दलाली’ प्रवृत्ति हो भन्नुहुन्छ भने त्यो कारण समाजवादी हो, पुँजीवादी होइन । तपाईले समस्याको पहिचान गर्नुभएको छ, तर समाधानका लागि गलत निसानामा प्रहार गरिरहनुभएको छ । त्यसैले असन्तुष्टि ‘दलाल समाजवाद’प्रति जाहेर गरौं, विरोध राज्यवादको गरौं । सिंहदरबारलाई होइन, गाउँघरलाई बलियो बनाऔं । नेताको होइन, जनताको सेवा हुने चिन्तनधारा पनि छ, खोजेर अध्ययन गरौं, तुलना गरौं ।

पुँजीवाद हाम्रा खराब नेताले भनेजस्तो विचारशून्य अर्थराजनीतिक प्रणाली होइन । नेताको लहैलहैमा लागेर हामी ज्ञान र चेतनाको विशाल संसारबाट टाढिएका छौं । हामीलाई समाजवाद घोलेर पियाइएको छ । पहिले ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भनिन्थ्यो, अहिले पञ्चको ठाउँ समाजवादीले लिएको जस्तो भएको छ । त्यसैले समाजवादभन्दा पर केही छ भन्ने हामीले देख्न, बुझ्न खोज्दैनौं । समाजवादका नाममा बलिया शासकहरूबाट शासित हुने बाटोमा हामी हिँडिरहेका छौं । ‘समाजवादी दलालहरू’बाट लुटिन तयार हुँदै गएका छौं । दलाल समाजवादको आतंक बढ्दो छ । मुराहरि पराजुली/ कान्तिपुर




तपाईको प्रतिक्रिया दिनुहोस