गृहपृष्ठ ∕
समाचार ∕
राजनीतिक परिवर्तनले सहयोग रोकिँदैन : महावाणिज्यदूत राजनीतिक परिवर्तनले सहयोग रोकिँदैन : महावाणिज्यदूत
पुलेसो १० पुस, २०७८, शनिबार १८:५९
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत सिवी प्रधानले नेपालको राजनीतिक परिवर्तनले भारतको सहयोग नरोकिने बताउनुभएको छ ।
आज यहाँ जिल्ला समन्वय समिति, चितवनले आयोजना गरेको चितवनको विकाससम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले नेपालमा भएको राजनीतिक परिवर्तनका कारण भारतबाट विकास निर्माणका लागि हुने सहयोग नरोकिने बताउनुभयो ।
परिवर्तनबाट नै विकास शुरु हुने भन्दै उहाँले भारत नेपालको हरेक विकास निर्माणका क्रममा साथमा रहेको बताउनुभयो ।
नेपाल र भारतबीचको सम्बन्धलाई दिगो बनाउनका लागि आफ्नो कार्यकालमा कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभएको छ । केही समयअघि चिसिएको सम्बन्धलाई सुधार गर्दै अझै बलियो सम्बन्ध बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले लामो समयदेखि व्यवस्थित योजना बनाउन नसक्दा जिल्लाको विकास सोचेअनुसार हुन नसकेको बताउनुभयो । नेपालको एक महत्वपूर्ण जिल्लाका रुपमा रहेको चितवनको विकासका लागि भारत सरकारले चासोका साथ काम गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति, चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजन गौतम, यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीलगायतले बोल्नुभएको थियो । (रासस)