Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसमानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्न सफल

समानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्न सफल


 प्रतिनिधिसभा प्रत्यक्षमा ८० सिट जितेर ठूलो दल बनेको एमाले सात वटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सीमित भएको छ । प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा प्रदेशतर्फ एमालेभन्दा ३ सिटले मात्रै पछि परेको छ । उसले प्रदेशसभामा ७२ सिट पाएको छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्न सफल भएको छ ।

निर्वाचन आयोगले शुक्रबार प्रदेशसभाको समानुपातिकतर्फ दलले पाएको मतका आधारमा सिट संख्या निर्धारण गरेको हो । मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न चुनावको समानुपातिकतर्फ सातै प्रदेशमा दलले प्राप्त गरेका सिट संख्या आयोगले सार्वजनिक गरेको छ।

प्रदेश १ मा ३६, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४ प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५ प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २ सय २० सिट बाँडफाँट गरिएको हो । बाँडफाँट गरिएको सिटअनुसार एमालले ७५, कांग्रेस ७२, माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३ र राष्ट्रिय जनता पार्टीले १२ सिट पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले तीन÷तीन सिट पाएका छन् ।

राष्ट्रिय जनमोर्चाले प्रदेश ४ मा १ र प्रदेश ५ मा १ सिट हात पारेको छ । नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले एक÷एक सिट पाएका छन् ।

प्रत्यक्षतर्फ प्रदेश १ मा एमालेले ३६ सिट पाएको थियो । उसले प्रदेशसभा समानुपातिकतर्फ १५ सिट पाएको छ । त्यस्तै प्रत्यक्षतर्फ ८ सिट पाएको कांग्रेसले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षतर्फ १० सिट जितेको माओवादी केन्द्रले ५ सिट पाएको छ । त्यस्तै प्रदेश २ मा प्रत्यक्षतर्फ १४ सिट जितेको एमालेले समानुपातिकतर्फ आधा अर्थात् ७ सिटमा चित्त बुझाउनुपरेको छ । प्रत्यक्षतर्फ ८ सिट जितेको कांग्रेसले समानुपातिकमा ११ सिट पाएको छ । प्रत्यक्षतर्फ ६ सिट जितेको माओवादीले समानुपातिकमा ५ सिट पाएको छ ।

समानुपातिकतर्फ राजपाले १० र संघीय समाजवादी फोरमले ९ सिट पाएका छन् । उनीहरूले प्रत्यक्षतर्फ क्रमशः १५ र २० सिट जितेका थिए । प्रदेश ३ मा प्रत्यक्षतर्फ ४२ सिट जितेको एमाले समानुपातिकतर्फ भने १६ सिटमा सीमित भएको छ । प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसले समानुपातिकमा त्यसको दोब्बर १४ सिट जितेको छ । प्रत्यक्षमा १५ सिट जितेको माओवादी केन्द्र समानुपातिकमा ८ सिटमा झरेको छ ।

प्रदेश ४ मा प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकतर्फ १० सिट मात्रै पाएको छ । प्रत्यक्षमा ६ सिट जितेको कांग्रेसले समानुपातिकमा ९ सिट पाएर दरिलो उपस्थिति देखाएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ भने तीन सिटमा चित बुझाउनुपर्ने भएको छ । प्रदेश ५ मा प्रत्यक्षमा २८ सिट जितेको एमालेले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १२ सिट पाएको छ । प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्र समानुपातिकमा ६ सिटमा झरेको छ । प्रदेश ६ मा १४ सिट जितेको एमाले समानुपातिकतर्फ ६ सिटमा सीमित भएको छ । प्रत्यक्षमा १ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ५ सिट पाएको छ । प्रत्यक्षतर्फ ९ सिट पाएको माओवादी केन्द्र समानुपातिकतर्फ ४ सिटमा सीमित छ । प्रदेश ७ मा प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकतर्फ ८ सिटमा चित्त बुझाउनुपरेको छ । प्रत्यक्षतर्फ ४ सिट जितेको कांग्रेसले समानुपातिकमा ८ सिट पाएको छ । प्रत्यक्षतर्फ १० सिट जितेको माओवादी समानुपातिकमा भने ४ सिटमा समेटिएको छ ।

बाँडफाँट गरिएको सिट संख्या दललाई उपलब्ध गराएर उम्मेदवार छनोट गरी पठाउन आयोगले पत्राचार गरेको आयोगका सचिव वेगेन्द्रराज शर्माले बताए । ‘बन्दसूचीका उम्मेदवारलाई प्राथमिकताका आधारमा क्लस्टरअनुसार सात दिनभित्र आयोगमा नाम बुझाउन दलहरूलाई शुक्रबार नै पत्राचार गरिएको छ’, सचिव शर्माले भने ।

दलले उम्मेदवारको बन्दसूची तयार गर्दा कुल उम्मेदवारको कम्तीमा पचास प्रतिशत महिला समावेश गर्नुपर्नेछ । बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समेतको प्रतिनिधित्व गराउनुपर्नेछ ।

आयोगले प्रदेशतर्फको समानुपातिकतर्फको सिट बाँडफाँट गरे पनि प्रतिनिधिसभाको भने अझै सिट निर्धारण गरेको छैन ।

प्रतिनिधिसभा समानुपातिकतर्फ ३ सय ३० सिटको अन्तिम नतिजा तयार गर्ने कार्य भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ दलले पाउने सिट संख्या बाँडफाँट गर्न अझै दुई–तीन दिन लाग्ने बताइएको छ ।

संघीय फोरम र राजपा ४ वटा प्रदेशमा शून्य

समानुपातिकतर्फ राजपा र संघीय फोरमले चार प्रदेशमा मात्रै मत पाएका छन् । ती दुई दलले तराई तथा पहाडी जिल्लामा मत प्राप्त गरे पनि प्रदेश ३, प्रदेश ४ र प्रदेश ६ मा निल भएका छन् । प्रदेश १ मा संघीय समाजवादीले ७० हजार ४ सय ७६ मत पायो भने राजपा शून्यमा रह्यो ।संघीय फोरमले प्रदेश १ मा २, प्रदेश २ मा ९, र प्रदेश ५ मा २ गरी १३ सिट पाएको हो । त्यस्तै राजपाले प्रदेश २ मा १०, प्रदेश ५ मा १ र प्रदेश ७ मा १ गरी १२ सिट पाएको हो।

प्रदेश २ मा संघीय फोरमले २ लाख ८४ हजार ७२ मत प्राप्त गरेको छ भने राजपाले ३ लाख १८ हजार ५ सय २४ मत पाएको छ । त्यस्तै प्रदेश ५ मा संघीय फोरमले ७८ हजार ५ सय ६७ मत ल्याएको छ भने राजपाले ५४ हजार १ सय १० मत प्राप्त गरेको छ । प्रदेश ७ मा संघीय फोरमले मत पाएन भने राजपाले ३६ हजार ९ सय २ मत पाएको छ ।

 सिट नपाउने दल

प्रदेशसभा निर्वाचन कानुनअनुसार साढे एक प्रतिशत थे्रस होल्ड कटाए पनि प्रदेश ४ मा विवेकशील साझा र राप्रपाले एक सिट पनि पाएनन् । त्यस्तै प्रदेश ६ मा नेपाल मजदुर किसान पार्टी र प्रदेश ७ मा राप्रपाले थे्रस होल्ड कटाए पनि सिट पाएनन् ।

५ लाख २३ हजार मत खेर

थे्रसहोल्ड पार नगर्दा दललाई प्राप्त हजारैाँ मत खेर गएको छ । आयोग सचिव शर्माले मत सदर भए पनि निर्धारित संख्या पार नगर्दा दलले प्राप्त गरेको मत खेर गएको बताए । साढे एक प्रतिशतभन्दा कम मत पाएका दलको मतगणना नै भएन । थ्रेसहोल्ड नकटाउनेमा प्रदेश १ मा २१, प्रदेश २ मा २३, प्रदेश ३ मा २४ प्रदेश ४ मा १३, प्रदेश ५ मा २१, प्रदेश ६ मा १३ र प्रदेश ७ मा १५ दल छन् । उनीहरूले प्राप्त गरेको मतगणना गरिएन । आजको अन्नपूर्ण पोष्टबाट




तपाईको प्रतिक्रिया दिनुहोस