Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारचिसोका कारण दुईको मृत्यु, दिनप्रति दिन बिरामी बढ्दै

चिसोका कारण दुईको मृत्यु, दिनप्रति दिन बिरामी बढ्दै


पुसको जाडो सम्झँदा जिउ नै सिरिंग हुन्छ । तराई क्षेत्रमा त झन् तुषारोका कारण जनजीवन निकै प्रभावित छ । बिहान–बेलुका त चिसो हुन्छ नै दिनमा समेत घाम नलागेर काप्दै बस्नुपर्ने बाध्यता छ । यस्तोमा मोरङको नगरपालिकाभित्रको एक बस्ती भने न्यानो कपडाविना नै रात काट्न बाध्य छ । सुन्दरहरैचा ५ र ६ का मुसहर बस्तीका ३५ परिवार काम गरेर जसोतसो आफ्नो पेट त पाल्छन्, तर रात कटाउन भने मुस्किल पर्ने गर्छ । उनीहरूसँग न त न्यानो कम्बल, सिरक छ न जिउमा लगाउन बाक्लो कपडा नै । उनीहरू अहिले कसैले न्यानो कपडा दिए सजिलै रात काट्ने आशामा छन्।

उक्त क्षेत्रमा जाडोका कारण दैनिकजसो बालबालिका बिरामी पर्ने गर्छन् । स्थानीय रुदाइ ऋषिदेव भन्छन्, ‘जेनतेन दिन त कट्छ, तर रातको समयमा भने कति वेला उज्यालो हुन्छ भन्दै घडी हेर्दै बिहान हुन्छ ।’ ऋषिदेवका अनुसार बस्तीका अधिकांश मानिसको दिनचर्या दिनभर ज्याला मजदुरी गरेर बित्ने गरे तापनि रात निकै तनावपूर्ण हुन्छ ।

अशिक्षाको समेत भुँमरीमा रहेको बस्तीमा जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धाका लागि रात कटाउन झनै समस्या हुने गरको छ । जंगलको छेउमा रहेको उक्त बस्तीमा जाडो सुरु भएसँगै दुःखको समय सुरु हुने गर्छ । बिरामी परे पनि नजिकै अस्पताल नहुनु र पैसा अभावका कारण अकालमा ज्यान गुमाउन बाध्य हुनुपरेको स्थानीय बताउँछन् ।

ट्रयाक्टर चलाएर जीविकोपार्जन
उक्त क्षेत्रका युवाहरूको आम्दानीको स्रोत भनेको ट्र्याक्टर मात्रै हो । दिनभर ट्र्याक्टर चलाएर उनीहरूले आफ्नो र परिवारको जीविका चलाउने गर्छन् । दिनभरि साहुको काम गरेर आएको पैसाले परिवार पाल्नु उनीहरूको दैनिकी हो । जसोतसो दैनिक छाक टरिरहे पनि कोही बिरामी परे औषधोपचार गर्ने पैसासमेत अभाव हुने स्थानीय लहरी ऋषिदेव बताउँछिन् । भन्छिन्, ‘उपचार गर्न न त नजिकै अस्पताल छ न हामीसँग पैसा छ, कोही बिरामी परे भने पनि अकालमै ज्यान गुमाउनुपर्छ ।’

अशिक्षा अर्को समस्या
बस्तीमा खानेपानीको समेत समस्या हुने गरेको छ । सुन्दरहरैचा नगरपालिकाभित्र पर्ने भए पनि उनीहरू अहिलेसम्म कलको पानी खान बाध्य छन् । कहिलेकाहीँ त त्यही कलमा समेत पानी आउँदैन । अशिक्षाको कमीका कारण उक्त क्षेत्रमा मानिसले कक्षा आठभन्दा धेरै पढेका छैनन् । एक सरकारी विद्यालय रहे पनि अक्षर चिन्ने समयमा मात्रै विद्यार्थी जाने गर्छन् । अक्षर चिनिसकेपछि उनीहरूमा परिवारको जिम्मेवारी थपिन्छ । त्यस क्षेत्रका विद्यार्थी आधारभूत शिक्षाबाहेक पढ्न विद्यालय नआउने श्री लाल आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर मोक्तान बताउँछन्।

सम्बन्धित निकायको ध्यान जाँदैन
०७४ मा मात्र देशमा तीनवटा निर्वाचन भए । निर्वाचनमा विभिन्न आश्वासन बाँड्ने गरिए तापनि उनीहरूको अवस्था भने जस्ताको त्यस्तै छ । दुईजनाको ज्यान गइसक्दासमेत कसैको ध्यान जाँदैन । सुन्दरहरैचा वडाको नगर परिषद् सकिए पनि उक्त बस्तीका लागि कुनै योजना बनेन । सुन्दरहरैचा–६ का वडाध्यक्ष जीवन राई अब आफूहरू उक्त बस्तीमा जाने बताउँछन् । जनचेतनाका कार्यक्रम लिएर जाने योजना रहेको वडा नम्बर–५ का वडासदस्य पर्शुराम घिमिरेले बताए ।

दुईको ज्यान गयो, बिरामी बढ्दै
मंसिरयता चिसोका कारण सो बस्तीका दुईजनाको ज्यान गइसकेको छ । त्यस्तै, सुन्दरहरैचा–६ की बतासे ऋषिदेवको अनुहार सुन्निन थालेको छ । उनी मात्र होइन, बस्तीमा धेरैको अवस्था उस्तै छ । कोही नयाँ मान्छे देख्नासाथ केही खानेकुरा, न्यायो कपडा ल्याइदिए कि भन्ने आस उनमा आउँछ । उनी मात्र होइन, सो बस्तीका सबै बासिन्दा यही आसमा विगतदेखि बाँचिरहेका छन् । ‘जाडो मौसम सुरु भएसँगै चिसोका कारण बालबालिका तथा वृद्धवृद्धाको अनुहार सुन्निन थाल्छ’, स्थानीय लहरी ऋषिदेव भन्छिन्, ‘न्यानो लाउन र खान हामीसँग पैसा छैन, सहयोग गर्ने कोही छैनन् ।’ चुनाव जितेपछि यस्तो गर्छौँ, उस्तो गछौँ भन्दै भाषण गर्ने नेताहरू त्यसपछि सो क्षेत्रलाई बिर्सन्छन् । अहिलेसम्म सरकारी तथा निजी क्षेत्रबाट सो क्षेत्रमा कुनै स्वास्थ्य शिविर चलाइएको छैन । सामान्य बिरामी पर्दा सिटामोल लिन उनीहरू निजी क्लिनिकमा जान बाध्य छन् ।

नया पत्रिका बाट,




तपाईको प्रतिक्रिया दिनुहोस