Techie IT
×
१३ असोज, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिबिध१५ श्लोकमा ‘कलममा निर्मला’ चीँचीँ चरी निर्मला (भिडियाेसहित)

१५ श्लोकमा ‘कलममा निर्मला’ चीँचीँ चरी निर्मला (भिडियाेसहित)


हाँसो माझ छ अश्रुताल गहिरो हाँसूँ म खै के गरी?
कैयौं अक्षर लामबध्द उभिए गाँसूँ म खै के गरी?
आशीर्वाद रहोस् सधैं कलममा उर्ली बगून् शारदा
दोस्रोपल्ट कदापि लेख्नु नपरोस् यो आँसु बोक्ने कथा
।१।
कल्ले उन्छ वसन्तमाझ पगरी ती फूल सारा सुके?
छाती हुन्छ विशाल सिन्धु कसरी थोपा र धारा लुके?
मेरै फूल बगानमा किन पस्यो निर्मुक्त चैते हुरी?
ढोकामै किन बस्छ क्रूर युगको जालो बुनी माकुरी?
।२।
मेरो अर्ज नकुल्चियोस् कलमले ती मानकी अक्षर
मेरो देश बनोस् सधैं झिलिमिली मन्दाकिनीको घर
प्यारा फूल बगानका सुनिरहून् यो भावना जो बुनेँ
लेखूँ कोमल आँसुको म कविता ती आँसुलाई धुने
।३।
मेरै आँगनका खुला पवनमा उड्दै गरेकी चरी
व्याधापाश परी अनन्त निदरी मेरै धरामा झरी
सारङ्गी धुनका सुधासँग घुल्यो चीँचीँ र चीँचीँ जब
आँखा टिल्पिल साथमा ध्वनि बज्यो हा! कृष्ण हा! राघव
।४।
थोपा आँसु मिलेर सिन्धुमय भो मेची र काली जब
धक्काले गिरिराज कम्पित भयो काँपेर भू डग्मग
झिल्को एक बनेर गन्न म सकूँ दुर्भावनाका पला
देवी भैकन ओर्लिऊन् कलममा ‘चीँचीँ चरी निर्मला’
।५।

कलममा निर्मला दोस्रो पृष्ठमा

को हौरु प्रश्न सुनेर मन्द धुनमा ‘छोरी’ भन्यो प्राणले
गर्भै भित्र पस्यो डस्यो लुछिलग्यो विज्ञानका बाणले
जन्मेका कति कोपिला कुसुम भै फुल्नै नपाई खसे
जो फुल्छन् डर त्रासका बिचबिचै हाँसो लुकाई बसे
।६।
व्याधाचाल उही धरातल उही रेट्ने उही धार छ
मेरा वागउँदो सयौं कुसुमको चीत्कार चीत्कार छ
जोडा कान र जोर यी नयन छन् उद्यानका सम्मुख
आफैं मौन भएर बस्छ बिचरो बोल्दैन मेरो मुख
।७।
थोपा आँसु कतै बगान बिचमा जे रूप झर्दा पनि
सारा हात रुमाल भै अघि सरून् यो आँसु मेरो भनी
मेरै हो कविता भनी रसिकले आँखा लगाऊन् भनी
श्रद्धासाथ ‘म’ पात्र मार्फत गरेँ यो काव्यको थालनी
।८।
तिम्रा कोमल तेजिला नयनमा रारा बगे हुन् कति
तिम्रा कोमल वक्षमा रगतका धारा बगे हुन् कति
कालो काल कराल त्यो समयको धर्सा गनूँ के गरी
छाती चर्र चिरा पर्‍यो नजिकमा टल्की रह्यो केशरी
।९।
टाढा छौ कसरी भनूँ हृदयका सामीप्यमा छौ तिमी
फेर्दै रूप नयाँ मसी कलममा जन्मी रहेछौ तिमी
तित्री तित्तिरको तिखो स्वर छरोस् तिम्रो सुकेको गला
आऊ ओर्ल न ओर्ल यो कलममा ‘चीँचीँ चरी निर्मला’
।१०।

कलममा निर्मला तेस्रो पृष्ठमा

झर्ना झर्झर ताल टल्टल कतै सर्वोच्च पाखा कतै
बग्छन् कल्कल छालमा प्रकृतिका उत्कृष्ट भाका कतै
हीरा नित्य बिहान साँझ सुन भै टल्किन्छ मेरो शिर
घेर्छन् आँगन आँसुका गह लिई कैयौं चरी चिर्बिर
।११।
यौटा आँसु हिमालका वनवनै डाँफे लुकी पुछ्दथ्यो
दोस्रो आँसु पहाडका नयनमा जो कोइली मुछ्दथ्यो
तेस्रो आँसु मयूरका वदनमा हेर्थ्यो तराई बसी
ती तीनै गह आँसुका सँग सुकोस् यो पोतिएको मसी
।१२।
पढ्दा पाठक हुन्छ भावुक भने लेख्दा पिरोल्ला कति?
के होला शिव१ दर्दनाक घटना भोग्नेहरूको गति?
लैजा दिव्य चरी विलम्ब नगरी घन्काइदे गाउँमा
सुम्पेको दिलसाथ आँसु कविता नेपालका नाउँमा
।१३।
गौरा आँगनमा बस्यो पद चले घन्की रहे देउडा
हेर्दा सागर थ्यो परन्तु दिल भो रित्तो बनेको घडा
ढोकामै अझ तीजले छमछमी लायो नयाँ पाउजु
नाच्लान् आँगनमा दिदी र बहिनी काकी बज्यै भाउजू
।१४।
दुग्धागो बिरुडा टिकी सहितको गौरा त्यता हुन्छ ररु
बस्दै मर्त्य चियाउने सगरमा क्वै छिद्र पाइन्छ ररु
कैयौं प्रश्नहरू अनुत्तरित छन् खै लेखनीको कलारु
आऊ ओर्ल न ओर्ल यो कलममा चीँचीँ चरी निर्मला
।१५।

छन्दस्शार्दूलविक्रीडित
रचनाकारः हिरा भट्ट
जन्मस्थलस्पञ्चेश्वर-६,बिजुल,बैतडी
वाचनः शिव त्रिपाठी

https://youtu.be/gCm-HmxtOMM

 




तपाईको प्रतिक्रिया दिनुहोस