२४ साउन, २०७९
    {
बागमती प्रदेश / शिक्षा/स्वास्थ्य

आलेख सेवा: एक सरकारी विद्यालयको अब्बल यात्रा

  • पुलेसो
  • २०७९ असार १९ आइतबार
आलेख सेवा: एक सरकारी विद्यालयको अब्बल यात्रा

काठमाडौँ - भनिन्छ सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी विद्यालयको नाम लिएपछि नाक खुम्च्याउने अवस्था आएको हो ।

सरकारी विद्यालयलाई हेरिने यही दृष्टिको मारमा विद्यार्थी र शिक्षक दुवै पर्ने गरेका छन् । देशका सबै सरकारी विद्यालय एउटै वर्गमा पर्दैनन् भन्ने तथ्यको पुष्टि शिक्षकहरु गर्न सक्दैनन् । त्यसैले उनीहरु यो मारमा परेका छन् । फेरि यसको अर्थ देशका निजी तथा आवासीय विद्यालयहरु मात्र गुणस्तरका र राम्रा हुन् भनेर लगाउन पनि मिल्दैन । ती विद्यालयका विद्यार्थी र उनीहरुका अभिभावकलाई चर्को व्यापारीकरणको मारले थिच्ने गरेका उदाहरणहरु पनि समाजमा प्रशस्तै भेटिन्छन् ।

यसरी असमानता हुर्कंदै गएको छ शिक्षामा । यस्तो विषम अवस्थामा पनि केही सरकारी लगानीका विद्यालयले फरक र सकारात्मक प्रगति गरेका छन् भन्ने तथ्यको लोभलाग्दो उदाहरण बन्न सक्छ भक्तपुरको नगदेशस्थित गणेश माध्यमिक विद्यालय । 

अधिकांश सरकारी विद्यालयका शिक्षक पढाउनेबाहेकका सबै काम गर्छन् भन्ने नेपाली समाजको व्यङ्ग्यात्मक गुनासोकै बीचमा गणेश माविसहितका केही विद्यालयले स्थापित गरेका  मानकहरु देशको शिक्षा क्षेत्रकै लागि उदाहरणीय बन्न सक्छन् । हरेक क्षेत्रमा कालो बादलभित्र चाँदीको घेरा रहेजस्तै यिनै विद्यालयका प्रगतिबाट नेपालको शिक्षा क्षेत्रले सिक्न सक्छन् ।
    
नेपाली समाजमा कुनै पनि काम गर्नुभन्दा पहिले शुभ रहोस् भनेर गणेशको पूजाअर्चना गरिन्छ । हो, सोही शुभकार्यको प्रेरकका नाममा स्थापना भएको गणेश मावि यतिबेला देशकै केही अब्बल विद्यालयमध्येमा पर्छ । सो विद्यालयमा पढाउनका लागि अभिभावकले रोइकराइ गर्नुपर्ने बाध्यता रहेको छ । सरकारी लगानीको विद्यालय भए पनि अभिभावक आफ्ना छोराछोरीलाई सोही विद्यालयमा पढाउनका लागि राजनीतिक नेतृत्वलाई सोर्सफोर्स लगाउन बाध्य छन् । तर त्यसले पनि काम गर्दैन । प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले मात्रै सो विद्यालयमा प्रवेश पाउँछन् । कक्षाकोठाको अभाव छ।

अन्य भौतिक संरचना समेत साघुँरो बन्दै गएको छ । तर हरेक वर्ष विद्यार्थी थपिनेक्रम बढ्दै गएको छ । हरेक कक्षाकोठा भरिभराउ छन् । त्यसको तुलनामा शिक्षक कम भए पनि स्थानीय अभिभावक सोही विद्यालयमा नै आफ्ना सन्ततिले भर्ना पाएहुन्थ्यो भन्ने चाहना राख्छन् । 
    
विसं २००८ मा स्थापना भएको सो विद्यालयले यसबीचमा हजारौँ विद्यार्थी उत्पादन ग¥यो । धेरैलाई शिक्षाको उज्यालो ज्योति दियो । भक्तपुरको नाम राख्यो र नगदेश भनेर चिनायो । गणेश माविले दिएको परिचयलाई धेरैले सिँगार्ने मौका पाए । आज सोही विद्यालय भक्तपुरकै अब्बल विद्यालयका रुपमा दर्ज हुँदा ती सबैलाई फेरि एकपटक आल्लादित बनाइदिएको छ । 
    
विद्यालयमा कूल एक हजार १२ जना विद्यार्थी छन् । त्यसमा पनि कक्षा १० सम्म विद्यार्थीको सङ्ख्या मात्रै ८०० छन् । वरिपरिका अभिभावकले निजी विद्यालयमा राखेका आफ्ना सन्तति धमाधम निकाल्दै गणेश माविमा ल्याउन थाले । सीमित साधन र स्रोतमा चलेको विद्यालयले थामीसक्ने अवस्था नै भएन । अत्यधिक चाप परेपछि विद्यालयले प्रवेश परीक्षा लिएर भर्ना लिएको विद्यालयका प्रधानाध्यापक केशवचरण श्रेष्ठको भनाइ छ । 
    
केशवचरणले सो विद्यालयमा अध्यापन गर्न थालेको तीन दशक पूरा भयो । सुरुसुरुमा सरकारी विद्यालय बिग्रेकै होला त भने जस्तो लाग्थ्यो उनलाई पनि । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने शैलीमा धेरैजसो विद्यालय अहिले पनि अधोगतितिर नै लागेको उनले पनि देखेको छ । “तर विद्यालय सुधार्ने जिम्मा हाम्रो हो, हामीले केही प्रयास ग¥यौ भने धेरै सुधार गर्न सकिन्छ र नाम राख्न सकिन्छ भन्ने मान्यताका साथ काम ग¥यौँ भने त्यसै दिनदेखि विद्यालयको गुणस्तर सुधार हुन्छ”, उनले भने, “यो मेरो दायित्व हो । हामी सरकारी कर्मचारी मात्रै होइनौ समाज सुधारक पनि हौँ भन्ने ठान्यौँ भने सुधार त्यहीँबाट सुरु हुन्छ ।”
    
यस विद्यालयले अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गरिरहेको छ । सरकारले दिएको रकमबाट अपुग भए पनि विद्यालयले व्यवस्थापन गरेरै दिवा खाजाको कार्यक्रम निरन्तर चलाइरहेको छ । कूल ४३७ जना विद्यार्थीले दिवा खाजा खान्छन् । आगामी आवका लागि कक्षा ६ का विद्यार्थीलाई समेत खाजा खुवाउने सरकारको नीति आएकाले अब त्यो सङ्ख्या बढेर ५०० जना बराबर पुग्नेछ । 
    
कक्षामा पढाउनु छैन भने शिक्षक आफैँ भान्छामा पुग्छन् । कोही तरकारी काट्न थाल्छन् । कोही ग्यास बाल्न । कोही भाँडा पखाल्न थाल्छन् भने कोही पकाउन । विद्यार्थीले खाजा नखाइकन शिक्षकले खाजा पनि खाँदैनन् ।   विद्यालय परिसर पुग्दा शिक्षक र विद्यालयका कर्मचारी मिलेर विद्यार्थीलाई खाजा खुवाइरहेका थिए । 
     
 विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि नर्स उपलब्ध छ । विद्यालयको नियमित प्राथना हुने समयभन्दा ढिला आउने विद्यार्थीलाई मात्रै होइन, शिक्षकले समेत प्रवेश पाउँदैनन् । दिनभर सबैले देख्ने सार्वजनिक सूचना पाटीमा त्यस्ता शिक्षकको नाम राखिन्छ । यस्तो व्यवस्था गरिएपछि शिक्षकलाई समेत अनुशासनमा राख्न सहयोग पुगेको प्रअ केशवचरणको अनुभव छ ।उनले भने, “मानिसलाई नैतिक अनुशासनमा राख्न सकियो भने धेरै काम गर्न सकिँदोरहेछ, लज्जित हुनुभन्दा तोकिएको समयभन्दाअगावै विद्यालय हातामा प्रवेश गर्नु राम्रो हो भन्ने भावनाको विकास भएको छ”,   । 
    
 विद्यालय हातामा प्रवेश गरेपछि अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकले विद्यार्थी, सहकर्मीसँग पनि अङ्ग्रेजीमा नै संवाद गर्नुपर्छ । विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन विद्यालयले दण्डरहित प्रणालीको विकास गरेको छ । विद्यार्थीलाई दण्ड दिएरभन्दा पनि गलत काम गर्नु हुँदैन भन्ने चेतनाको विकास गराउन अधिकतम प्रयास गरिन्छ । दण्डले विद्यार्थीमा नकारात्मक सोच विकास हुने र त्यसले झनै गलत मनोवृत्तिको विकास गर्ने भएकाले सकारात्मक ढङ्गबाटै सुधारमा जोड दिइएको छ । 
    
दश वर्ष पहिले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दा ठूलै पापड पेल्नुपरेको थियो । “एक निजी इस्टिच्युटबाट प्रशिक्षक ल्याएर भाषा कक्षा सञ्चालन गरियो । केही शिक्षकले सकिन्छ र ? भनिरहेका थिए तर हामीले सकिन्छ, गर्नैपर्छ भनेर सुरु ग¥र्यौ । आज हामी सफल भएका छौँ”, प्रअ श्रेष्ठको भनाइ छ । 
    
कोरोनाका कारण पछिल्ला दुई वर्ष शिक्षा क्षेत्र नराम्ररी प्रभावित भयो । गणेश मावि कहिल्यै पनि प्रभावित भएन । कुनै पनि दिन विद्यार्थीले पढन पाएनन् भन्ने गुनासो अभिभावकले सुन्नु परेन । अनलाइन माध्यमबाट हरेक दिन कक्षा चले । मोबाइल भएकाले सहजै पढ्न पाए । नभएकालाई समेत विद्यालयले वैकिल्पिक व्यवस्था ग¥यो । कोही समूहमा बसेर पढे भने कोही सामाजिक र व्यक्तिगत दुरी कायमै राखेर पढे । वरपरका निजी विद्यालयसमेत जुमबाट कसरी कक्षा सञ्चालन गर्ने भनेर गणेश माविका शिक्षकसँग सिक्न आएका थिए । 
    
एक निजी विद्यालयमा १५ वर्ष अध्यापन गराएका विजयचरण श्रेष्ठ यतिबेला सोही विद्यालयको सहायक प्रधानाध्यापक छन् ।  नातामा केशवचरणको भाइ विजयचरण गरे हरेक कुरा सम्भव हुने रहेछ भन्ने कुरा आफूले गणेश माविमा आएपछि थाहा पाएको बताए । निजी विद्यालयलेभन्दा राम्रो र गुणतस्तरीय शिक्षा सरकारी विद्यालयले दिएको उनको दाबी छ ।  
    
 

 विद्यालयमा हरेक दिन प्रार्थना हुन्छ । प्रारम्भिक बाल शिक्षा र कक्षा १ का विद्यार्थीलाई कक्षामा नै सो कार्य गराइन्छ । विद्यार्थी घरबाट आयो कि आएन, कहाँ गयो, गृहकार्य समयमा ग¥यो कि गरेन वा उसलाई केही समस्या छ कि भनेर शिक्षकले मसिनो गरी हेर्छन् । विद्यालयमा नै ४८ वटा कम्प्युटर उपलब्ध छ । विज्ञान शिक्षाका लागि प्रयोगशाला छ । विद्यार्थीले सहजैरुपमा आफूले सिक्न मन लागेका कुरा सिक्न पाउँछन् । 

 सरकारले विद्यालयलाई २२ जना शिक्षकको दरबन्दी दिएको छ । विद्यालयमा नर्स, सहयोगी कर्मचारीसहित २९ जना कार्यरत छन् । स्थान अभावले गर्दा कक्षा विभाजन गर्न सकिएको छैन । कूल ९० जनासम्म विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु परेका बाध्यता सुनाए विजयचरण । सरकारी विद्यालयलाई सबल र सक्षम बनाउन सकिए, निजी विद्यालय आफैँ व्यवस्थित हुने उनको तर्क छ ।  
    
प्रारम्भिक बाल कक्षा र कक्षा १ का विद्यार्थीले घरबाट सिसाकलम, कापी ल्याउनु पर्दैन । अभिभावकसँग सामान्य शुल्क लिएर विद्यालय आफैँले उपलब्ध गराउँछ । विद्यार्थीलाई बोझ नपर्ने गरी खैल्दै पढ्दैको नीति लागू गरिएको छ । तल्ला र माथिल्ला कक्षा सबैमा उत्तिकै विद्यार्थीको चाप छ । विसं २०७० को प्रवेशिका परीक्षामा विद्यालयले सर्वोत्कृष्ट नतीजा ल्यायो । संगीता प्रजापतिले नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याइन् । संगीता मणिपालबाट एमबिबिएस उत्तीर्ण भइसकेकी छिन् । अन्य वर्षको नतीजा पनि उत्कृष्ट छ, कोही विद्यार्थी अनुत्तीर्ण छैनन् । 
    
 नजिकका सरकारी विद्यालय विद्यार्थी नभएर हैरान छन् । तर गणेश माविमा पाइला हाल्ने ठाँउसमेत नहुँदा पनि भर्ना पाउँ भन्दै रोइकराइ गर्दै आउने अभिभावकको सङ्ख्या उल्लेख्य छ । “हामीलाई त आएका जति सबै विद्यार्थी भर्ना गरौँ भन्ने नै छ तर कक्षा कोठा छैन, कहाँ राखेर पढाउने रु” केशवचरणले भने “विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई पनि त्यस्तै दबाब छ । तर हामीले अब नसक्ने नै भएका छौँ ।” 
    

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा मात्रै १८ वटा सरकारी विद्यालय छन् । गणेश मावि नजिकै सिद्धिकाली, बोडे माविलगायतका छन् । उनीहरु औसत मात्रै छन् । सिद्धिकालीमा त विद्यार्थी सङ्ख्या नै कम छ । नेपालको संविधान जारी भएपछि हाल विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिइएको छ । स्थानीय सरकारले अपेक्षाकृतरुपमा आफूलाई सहयोग नगरेको गुनासो सो विद्यालयको छ ।  

 कूल दुई रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयलाई विस्तार गर्नुपर्ने र विद्यार्थीको चापअनुसार थप शिक्षक र कर्मचारी उपलब्ध गराउनुपर्ने आवश्यकता छ । पटकपटक माग गर्दासमेत अघिल्लो स्थानीय सरकारले सुनुवाइ नगरेको प्रअ केशवचरणको गुनासो छ । यसपटक स्थानीय सरकारले सहयोग गर्छु भनेकाले केही आशा पलाएको उनले सुनाए ।
    
 विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद घनश्याम खतिवडाले गणेश माविमा विद्यार्थीको चापका बारेमा प्रतिनिधिसभाको बैठकमा नै शिक्षामन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराइदिएको थियो । शिक्षामन्त्री पौडेलले पनि सो विद्यालयका बारेमा चासो राखेको छ । प्रतिनिधिसभाको बैठकमा समेत आफ्नो विद्यालयका बारेमा कुरा उठ्नुलाई सकारात्मकरुपमा लिएको सहायक प्रअ विजयचरणको भनाइ छ ।  

यस विद्यालयमा कुनै पनि शिक्षकले राजनीति गर्न पाउँदैन । यहाँ आउने भनेको पढाउन आउने हो, अरु कुनै पनि विषयमा छुट छैन । कोही कसैले पनि ठगठाग गर्न पाउँदैन र बाहना निकालेर हिड्न पाउँदैन । प्रअ केशवचरणले भने, “हामीले शिक्षकसँग सम्झौता नै गरेका छौँ ।” कुन विद्यार्थी कक्षाकोठामा चल्यो, कुन शिक्षकले के पढायो, कसरी पढायो, सबै कुराको अनुगमन सिसीटिभी क्यामेरामार्फत प्रअले गरिरहेका हुन्छन् । “विद्यार्थी किन विद्यालय आएन, समस्या के हो भन्ने पनि निरन्तर अनुगमन गरेका हुन्छौँ । विद्यार्थीको मात्रै नभई शिक्षककोसमेत निरन्तर मूल्याङ्कन हुने भएकाले हामी सफल भएका छौँ”, प्रअ केशवचरण बताए । 
    
सरकारले सहयोग गरेको खण्डमा प्रारम्भिक बाल शिक्षापछि एलकेजी, युकेजीको कक्षा पनि सञ्चालन गर्ने सोच छ विद्यालयको । विसं २००८ मा स्थापना भएको विद्यालय २०३७ सालदेखि निमावि, २०४३ सालदेखि मावि र २०७४ देखि कक्षा १२ चलाएको हो । 

विसं २०७६ को चैतदेखि विद्यालयको नेतृत्व समाल्नुभएका केशवचरणको सोच छ, विद्यालयलाई अझै अब्बल बनाउने । विद्यालय व्यवस्थापन समितिले पनि विद्यालयमा शिक्षाको सुधारकाबाहेक अरु विषयमा चासो राख्दैन । सरकारले शिक्षकका लागि तलब भत्ताको व्यवस्था गरे पनि अन्य भौतिक पूर्वाधारका लागि बजेट उपलब्ध नगराइदिँदा त्यसको व्यवस्थापनमा ध्यान दिनुपरेको उनको भनाइ छ । 
    
एउटै विद्यालयमा दाजुभाइ नै प्रअ र सहायक प्रअका रुपमा रहेका केशवचरण र विजयचरणले भने, “सरकारी विद्यालय पनि यस्तो बन्छ र बनाउन सकिन्छ भन्ने मानक हामी स्थापित गर्छौँ, हामीलाई खुला हृदयका साथ सहयोग होस् ।” सार्वजनिक शिक्षामा केही गरौ भन्ने आभास उनीहरु दुवैको आँखामा देख्न सकिन्थ्यो । भक्तपुरका पुराना राजनीतिज्ञ एवं समाजसेवी कृष्णचरण श्रेष्ठका जेठा छोरा हुन् केशवचरण र माइला छोरा हुन् विजयचरण ।
    
सोही विद्यालयमा बिहानको सत्रमा अर्कै नाममा अर्को विद्यालय पनि सञ्चालन छ । उमेरले ८७ वर्ष लागे पनि कृष्णचरण आफँै पनि बिहान अर्थशास्त्र पढाउन पुग्छन् । छोराहरुले गणेश माविलाई गणेश मावि जस्तो बनाएका पितालाई पनि सन्तोष छ । सार्वजनिक शिक्षा राज्यको दायित्व हो । तर राज्यले राम्ररी हेर्न नसकेकामा उनको गुनासो छ ।

विद्यालय सञ्चालन गर्ने व्यवस्थापन समिति, त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारी मात्रै इमान्दार हुने हो भने धेरै सुधार गर्न गर्न सकिने र हुने उनको दृढ विश्वास छ । कृष्णचरणले भने, “अन्यत्र पढ्ने र पढाउनेभन्दा राजनीति बढी हुँदा शैक्षिकस्तर हरेक वर्ष खस्कँदै गयो ।” अधिकांश विद्यालय अगाडि बढ्न नसक्नुको पछाडि व्यवस्थापन समितिले अनावश्यक हस्तक्षेप गर्नु पनि रहेको उनको भनाइ छ ।
    
जिल्लाकै नमूना विद्यालयका रुपमा स्थापित भएको सो विद्यालय जस्तै अरु विद्यालयलाई पनि बनाउने दायित्व त्यहीँका अभिभावक, शिक्षक र सरकारको हो । सरकारी विद्यालयको शैक्षिकस्तर हरेक वर्ष खस्किरहेका बेला गणेश माविले देखाएको उदाहरण अरु विद्यालयका लागिसमेत प्ररेणाको स्रोत बन्न सक्छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो...

काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य

शिवालयमा भक्तजनको भीड

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा  भक्तजनको भीड लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको...

शिवालयमा भक्तजनको भीड

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव...

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

बैठकले प्रतिनिधिसभा...

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

चितवन -  जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको...

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग