By:puleso Published Date: शनिबार, असार २३, २०७५
काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनुपर्ने समय एक वर्ष पछाडि धकेलिएको छ। विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार नर्थवेस्ट सिभिल एभिएसन कम्पनीको समय सरकारले एक वर्ष थप गरेसँगै विमानस्थल निर्माण सम्पन्न मिति एक वर्ष पछाडि धकेलिएको हो। यससँगै विमानस्थल निर्माण सम्पन्न हुनु पर्ने समय सन् २०१९ जुलाई २८ सम्म पुगेको छ। यसअघि विमानस्थल निर्माण सम्पन्न हुनुपर्ने सयम २०१८ जुलाईसम्म तोकिएको थियो।
विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदारले काममा तीव्रता दिएसँगै एक वर्षको समय थप गरिएको विमानस्थलअन्तर्गत राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदीप अधिकारीले बताए। निर्माण कम्पनीले पछिल्लो समय गरेको काम उत्साहजनक देखिएको छ। यही रफ्तारमा निर्माणको काम भए अबको एक वर्षमा विमानस्थल निर्माण सम्पन्न हुने अधिकारी बताउँछन्। ‘निर्माण कम्पनीले पछिल्लो पाँच महिनामा २२ प्रतिशत काम सम्पन्न गरेको छ। त्यस अघिका तीन वर्षसम्म जम्मा २८ प्रतिशत मात्रै काम भएको थियो’, अधिकारीले भने।
निर्माण कम्पनी र प्राधिकरणबीच भएको यसअघिको सम्झौताअनुसार यही जुलाईमा विमानस्थल निर्माण सम्पन्न हुनुपथ्र्यो। तर, समय थप भएसँगै अब चिनियाँ निर्माण कम्पनीले सन् २०१९ को जुलाईसम्म समय पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिए।
निर्माणले तीव्रता लिएकै बेला ठेक्का रद्ध गर्दा विमानस्थल निर्माणको समय लम्बिने र लागत पनि बढ्ने भएका कारण समय थप गरिएको उनको भनाइ छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको औपचारिक उद्घाटन गरेका थिए।
निर्माणले तीव्रता लिएकै बेला ठेक्का रद्ध गर्दा विमानस्थल निर्माणको समय लम्बिने र लागत पनि बढ्ने हुन्छ।
सन् २०१४ नोभेम्बर १३ मा कुल ८५.५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनीसँग आईसीबी १ नम्बर परियोजनाका लागि ७८.३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो। जसअन्तर्गत तीन हजार मिटर रनवे निर्माण, प्यारलल ट्याक्सीवे, रनवे र प्यारलल ट्याक्सी वे जोड्न ‘एग्जिट वे’ निर्माण, खोला फर्काउने, टर्मिनल भवन, टावर कन्ट्रोल भवन, प्रशासनिक भवन, अग्नि नियन्त्रण कार्यालय र जेनेरेटर घर निर्माणको काम रहेको छ।
पहिलो पटक भएको सम्झौतामा सम्पन्न मिति सन् २०१७ डिसेम्बर तोकिएको थियो। तर, सन् २०१५ अप्रिलको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले काममा अवरोध भएकाले सन् २०१८ को जुलाईसम्म समय थपिएको थियो।
योसँगै निर्माण कम्पनीले दोस्रोपटक फेरि एक वर्षको समय पाएको गौतम बताउँछन्। विमानस्थल निर्माणमा ढिलाइ हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मर्मत ( पिच परिवर्तन) को काम पनि अगाडि बढ्न सकेको छैन। यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाभित्र रहेको आईसीबी २ अन्तर्गतको काम पनि रोकिएको छ।
सञ्चालनका दुई मोडालिटी
सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन मोटालिटीमा छलफल सुरु गरेको छ। विमानस्थल निर्माणले तीव्रता लिएसँगै नागरिक उड्डयन प्राधिकरणले दुईवटा मोडालिटीमा छलफल सुरु गरेको हो।
विमानस्थल सञ्चालनमा पीपीए मोडल अपनाउने कि प्राधिकरण आफैंले सञ्चालन गर्ने भन्ने विषयमा छलफल सुरु भएको प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिए। ‘विमानस्थल सञ्चालन सम्भव भएसम्म पीपीए मोडलमै चलाउने हो’, गौतमले भने, ‘पीपीए मोडलमा सञ्चालनको निर्णय र कम्पनी छनोट नहुँदासम्म प्राधिकरण आफैंले सञ्चालन गर्छ।’
प्राधिकरणले अहिले देशको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जुन उपाय उपनाएको छ त्यही तवरबाट पीपीए मोडल तय नहुँदासम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन हुने उनको भनाइ छ।
प्राधिकरणले सन् २०१९ लाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन वर्षको रूपमा अगाडि बढाउने तयारीका साथ काम गरिरहेको गौतमको भनाइ छ। ‘विमानस्थल निर्माणमा अहिले कुनै अवरोध छैन’, गौतमले भने, ‘निर्माणमा प्रगति नदेखिने र गाह्रो काम सम्पन्न भइसकेको छ।’
चिनियाँ ठेकेदार नर्थवेस्ट सिभिल एभिएसन कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ। कम्पनीले पछिल्लो समय ५० प्रतिशतभन्दा बढी काम भएको जानकारी गराएको प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ बताउँछन्।
विमानस्थल निर्माण सम्पन्न गरिसक्नु पर्ने अन्तिम समय यही जुलाई हो। अन्तिम समयसम्म निर्माण कम्पनीले ६० प्रतिशत काम सक्ने लिखित प्रतिबद्धता गरेको थियो। सोही अनुरूप काम भइरहेको श्रेष्ठ बताउँछन्।
निर्माणमा कसको लगानी कति
प्राधिकरणले कुल ८५.५५७ मिलियन डलरमा यो विमानस्थल निर्माण पूरा गर्ने लक्ष्य लिएको छ। यसमा आईसीबी १ अन्तर्गत ७८.३ मिलियन डलरमा काम थालिएको हो। यो काम समयमै सम्पन्न हुन नसक्दा आईसीबी २ अन्तर्गतको टेन्डर पनि हुन सकेको थिएन। विमानस्थल निर्माणले तीव्रता लिएसँगै प्राधिकरणले आईसीबी २ अन्तर्गतका काम पनि अगाडि बढाउने प्रक्रिया थालिसकेको छ। आईसीबी २ अन्तर्गतको कामका लागि प्राधिकरणले ७.२५७ मिलियन रकम तोकेको छ। यो आयोजनामा सबैभन्दा बढी एसियाली विकास बैंकको ५.४२ मिलियन अनुदान र ४२.०३ मिलियन ऋण सहायता छ। यसैगरी ओएफआईडीको १५ मिलियन डलर ऋण, सरकारको ५.७ मिलियन डलर ऋण र प्राधिकरणको १८.४ मिलियन डलर लगानी रहनेछ। उक्त ऋण सन् २०५१ को मार्चसम्म चुक्ता गरिसक्नुपर्नेछ। प्राधिकरणले सरकारलाई पाँच प्रतिशत ब्याजदरले ४८ किस्तामा आठ वर्षको समय राखेर ऋण चुक्ता गर्नुपर्ने हुन्छ। प्राधिकरणले पहिलो ऋणको किस्ता सन् २०१९ को मार्चमा तिर्नुपर्नेछ।
काठमाडौं- खेती र पशुपालन गर्ने जमिन बाँझो राखेमा ३ लाख रुपैयासम्म जरिवाना गर्ने प्राबधान सहित सरकारले भू उपयोगसम्बन्धी नयाँ कानुनको विस्तृतमा...
काठमाडौं – सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात वर्षअघिको आफ्नै फैसला उल्टाएर दुईजनालाई सफाइ दिएको छ। न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी विस्तृतमा...